झापामा लुटिएका सामग्री फिर्ता गर्न आग्रह

0
58

झापा । जेन–जी समूहद्वारा बिरोध प्रदर्शनका क्रममा लुटिएका सामग्री फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय झापाले आग्रह गरेको छ ।
जेन–जी समूहले भदौ २३ र २४ गते देशभर गरेको प्रदर्शनका क्रममा झापाका विभिन्न स्थानमा भएका आगजनी, लुटपाट तथा तोडफोडका क्रममा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी माथि नै आक्रमण गर्दै हतियार समेत लुटपाट भएको थियो ।
लुटिएका हतियारसहितका सामग्री तत्काल फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सोमवार सूचना जारी गर्दै क्षतिको विवरण संकलन शुरु गरेसंगै लुटिएका सामान फिर्ता गर्न आग्रह गरेका हुन् ।
आन्दोलनका नाममा केही अवाञ्छित तत्वले झापा जिल्लाका विभिन्न क्षेत्रमा रहेका सार्वजनिक र निजी संरचनामा तोडफोड र आगजनीपछि त्यहाँ रहेका महत्वपूर्ण सामग्री लुटेर लगेको जनाउँदै त्यस्ता सामग्री फिर्ता गर्न आग्रह गरिएको छ । लुटपाटमा संलग्न व्यक्तिहरु र सामग्री लुकाइएका स्थानको पहिचान गर्ने कार्य भइरहेको र लुटिएका सामग्री तत्काल फिर्ता नगरे प्रचलित कानून अनुसार कारवाही अघि बढाइने प्रजिअ अधिकारीले बताए ।
अवाञ्छित तत्वले जिल्लामा रहेको सरकारी, अर्धसरकारी, निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, राजनीतिक दलका कार्यालय समेतमा तोडफोड र आगजनी गर्दै धनमाल, फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, भाँडाकुडा, तथा विविध सामग्री लगेको र सुरक्षा निकायका हातहतियार, सञ्चारसेट समेत लुटिएकाले त्यस्ता सामग्री फिर्ता गर्न अनुरोध गरिएको छ ।
लुटिएका सामग्री सम्वन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here