झापा ।

१५ वटा स्थानीय तह रहेको झापामा जेन–जी प्रदर्शनका क्रममा १२ वटा कार्यपालिका भवन र ५५ वटा वडा कार्यालयमा क्षति पुग्यो ।
प्रदर्शनकारीले गरेको आगजनीका कारण कतिपय स्थानीय तहका कार्यपालिका भवन बस्न नै नहुने गरी क्षतिग्रस्त भएका छन् भने कतिपयले सेवा प्रवाहका लागि सरसफाईसहित रंगरोगन गर्न शुरु गरेका छन् । आगजनी भएका केही वडा कार्यालयले नियमित सेवा सुचारु गरे पनि अधिकांश वडा कार्यालयले दैनिक सेवा सुचारु गर्न सकेका छैनन् ।
आन्दोलनपछि क्षतिग्रस्त भएका भौतिक संरचनासहितको प्रारम्भिक बिवरण संकलनका लागि आगजनी भएको भवनको बरण्डामा कार्यपालिकाको बैठक राखेको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताए । उनले भने– नगरपालिका पूर्ण रुपमा आगजनी भएको छ, सवारीसाधन जलेका छन् । वडा कार्यालयको अवस्था त्यस्तै छ । हाम्रो नगरमा के कति क्षति भयो तत्कालै भन्न सक्ने अवस्था छैन । त्यसका लागि प्राविधिक टोलीले काम शुरु गरेको छ । हामी अहिले प्रारम्भिक बिवरण संकलनका क्रममा छौं ।
नगरप्रमुख मेरो र उपप्रमुख राधा कार्की समेतको घरमा आजगनी गरियो– उनले भने– हाम्रो अहिले घरमा बस्ने अवस्था छैन । तथापि नगरको काम पहिलो प्राथमिकता भएकाले हामी धमाधम क्षतिको बिवरण संकलनका क्रममा छौं । यता आजगनीका कारण बिर्तामोड नगरपालिकामा करिब १० करोड रुपैयाँ बरावरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रका अनुसार प्रशासनिक भवनसहित वडा कार्यालयमा भएको आगजनीका कारण करिब १० करोड रुपैयाँ बरावरको क्षति भएको हो ।
प्राविधिक टोलीले क्षतिको मूल्याङ्कन गरिरहेको छ– प्रमुख प्रशासकीय अधिकृत मिश्रले भने– छिटो सेवा प्रवाहका लागि अहिले हामी क्षतिग्रस्त प्रशासनिक भवनसहित वडा कार्यालय सरसफाईको काम गरिरहेका छौं ।
उता जेन–जी प्रदर्शनका कारण दमक नगरपालिकामा आगजनी हुँदा नगरपालिकाले समेत ठूलो क्षति व्यहोरेको नगरप्रमुख रामकुमार थापाले बताए । उनले भने– मूल्याङ्कनको प्रारम्भिक रिपोर्ट अनुसार २३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । प्रदर्शनकारीले नगरपालिकासँगै रहेको एम्बुलेन्ससहित दुई वटा दमकलमध्ये एकमा आगजनी गरे । क्षतिग्रस्त दमकललाई चाँडै मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ– नगरप्रमुख थापाले भने– तत्काल नगरपालिकाको सम्पूर्ण सेवा सुचारु गर्न सक्ने अवस्था छैन । भग्नावशेष पन्छाउन अझै केही दिन लाग्ने अवस्था छ ।
मेची नगरपालिकामा विहीवार बसेको कार्यपालिकाको बैठकपछि क्षतिको प्रारम्भिक मूल्याङ्कन शुरु गरिएको छ । मेची नगरपालिकामा आन्दोलनका क्रममा कार्यपालिका भवनसहित वडा कार्यालयमासमेत आगजनी र तोडफोड भएको थियो ।
त्यस्तै कनकाई नगरपालिकामा भवन बाहेक करिव दुई करोड रुपैयाँको क्षति भएको प्रारम्भिक विवरण छ । प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेका अनुसार कार्यपालिका भवनसहित वडा कार्यालयमा आगजनी गरिँदा दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको विवरण संकलनका लागि प्राविधिक टोलीले काम शुरु गरेको उनले बताए ।
उता झापा गाउँपालिकामा अन्दाजी १० करोड रुपैयाँ बरावरको क्षति भएको प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले बताए । गाउँपालिकाको कार्यपालिका भवनसहित एउटा बाहेक सबै वडा कार्यालय जले, चार पाङ्ग्रे दुई वटा सवारी र दुई पाङ्ग्रे ४ वटा सवारी, अफिसका फर्निचरसहित सबै उपकरण, जेनेरेटर र स्वास्थ्यका उपकरण जल्दा करिब १० करोड रुपैयाँको क्षति भएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए । भवन बस्न योग्य छन् या छैनन् परीक्षण नगरी थाह हुँदैन– उनले भने– भवनको पनि क्षति जोड्ने हो भने त्योभन्दा बढीको हुन्छ ।
बाह्रदशी गाउँपालिकाले समेत क्षतिको प्रारम्भिक बिवरण तयार गर्न शुरु गरेको छ । जसका लागि गाउँपालिकाले अधिकृत राजु गिरीको संयोजकत्वमा क्षति मूल्याङ्कन समिति तयार गरेको गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाँईले बताए । क्षतिको विवरण आउन अझैं केही समय लाग्ने उनको भनाइ छ । सेवा सुचारुका लागि भग्नावशेष पन्छाउने काम भइरहेको अध्यक्ष चम्लागाँईले बताए ।
यसैबीच अर्जुनधारा नगरपालिकामा १५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेका अनुसार आगजनीका कारण चारपाङ्ग्रे ठूला सवारी ७ वटा, दुई पाङ्ग्रे सवारी ७ वटामा क्षति पुगेको छ । योसँगै कार्यपालिका भवन, ११ वटा वडा कार्यालयमा क्षति पुगेको उनले बताए ।
उपप्रमुख खड्गमाया पराजुलीका अनुसार क्षतिको विवरण संकलनका लागि अझै काम भइरहेको छ र प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकरीसहितको टोलीले नगरको अनुगमन गरेको छ । उनले केही दिनपछि मात्रै नगरमा भएको क्षतिको पूर्ण विवरण दिन सकिने बताइन् ।





























