विद्यमान राज्य संरचनाले उत्पन्न गरेको निराशा आक्रोशमा परिणत भई बिद्रोह जन्माएपछि पुराना दलहरुको औचित्य र अस्तित्व धरापमा परेको छ । अझ पुराना र ठूला दाबी गर्ने मुख्य दुई दलका बीचको गठबन्धनबाट बनेको सरकार अप्रजातान्त्रिक र निरंकुश भएपछि जेन–जी भनिने युवा पुस्ताको बिद्रोहले एकै दिनमा परम्परागत सत्तालाई अपदस्थ मात्र गरेर भाग्न बाध्य बनायो । यस्तो परिस्थितिमा दश वर्षअघि निर्माण भई कार्यान्वयनमा रहेको संविधान र त्यसले निर्देश गरेको प्रजातान्त्रिक मूल्य, मान्यता र अभ्यासलाई कमजोर पा¥यो ।

संविधानमा रहेका दुर्बल पक्षलाई संशोधन गर्ने सहमति गरेर बनेको कांग्रेस–एमालेको गठबन्धन सरकार त्यही संविधान र कानूनको आफू अनुकूल ब्याख्या र कार्यान्वयन गर्न थाल्यो । उनीहरु सत्ता, दल र आफ्ना कार्यकर्ताको खुशीमा मात्र रमाउन थाले जसका कारण आमजनतामा सरकार र पुराना दलप्रतिको आशा मात्र रहेन कि भरोसा नै टुट्यो । यसले निराश भएका जनता पनि युवापुस्ताको बिद्रोहमा सामेल हुन पुगे । यस्तो विद्रोह अनपेक्षित थियो र आन्दोलन इतिहासमै नभएको व्यक्ति हत्याको श्रृंखलामा परिणत भयो । यस्तो अवस्थाका लागि सरकारसँगै मुख्य प्रतिपक्षी दल पनि कमवेस जिम्मेवार छ ।
संविधानसभाबाट संविधान जारी भएको दिन असोज ३ गते संविधान दिवस मनाउने गरिएको थियो । तर, युवाहरुको बिद्रोहले संविधानलाई पन्छाएको अन्तरिम सरकार गठन ग¥यो । यद्यपि राष्ट्रपति रामचन्द्र पौडेलले बडो जुक्ति लगाएर संविधानको रक्षा गरेको दाबी गरेका छन् । तर, त्यही संविधानले निर्माण गरेको जनप्रतिनिधिहरुको संस्था प्रतिनिधिसभा उनैले बिघटन गरेका छन् । यस्तो बेला आज संविधान दिवस विगतको जस्तो ताममाझरहीत हुने भएको छ ।
सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने निर्णय गरेको छ । जेन–जी आन्दोलनका क्रममा धेरै युवाहरुले बलिदानी दिएको हजारभन्दा बढी घाइते भएको अवस्थामा उत्सव मनाउन नसकिने सरकारको भनाइ छ । देश अहिले शोकमा डुबेको छ । इतिहास मै नभएको हिंसा सरकारले यसपटक कलिला र देशका भविष्यमाथि गरेको छ । दोस्रो संविधानसभाले निर्माण गरेको संविधान दश वर्षकै अन्तरालमा कमजोर हुनुमा यिनै पुराना दलको दम्भ, अहंकार र मपाइँ चरित्र जिम्मेवार छ । अनि पनि समयले ल्याएको यो दिवसले सबै दलहरुलाई जिम्मेवार र दायित्वबोध गर्ने बनाओस् । शुभकामना ।



























