गरिबीले अस्पताल पुग्न नसकेकी क्यान्सर पीडित डम्बरकुमारीले भनिन् मलाई बचाईदिनुहोस्

0
251

झापा,
विनोद सापकोटा।

शिवसताक्षी नगरपालिका–६, शिवगञ्ज बजारकी ६२ वर्षीया डम्बर कुमारी भट्टराई आजभोलि सम्झदै कहाली लाग्दौ पीडामाथि अर्को पीडा बोकेर बाँच्न विवश छिन् । चिकित्सकले उनको मुखको क्यान्सर समयमै शल्यक्रिया गरेर उपचार गर्न सकिने बताए । तर, शल्यक्रियाको खर्च जुटाउन नसक्दा उनी उपचार पर्खिनुको साटो रोगसँगै कृषी मजदुरीमै व्यस्त छिन् ।

भट्टराईलाई भेट्न पूर्वाञ्चल दैनिकको टोली गएको सोमबार विहान त्यस तर्फ गएको थियो । उनका घरमा पुग्दा उनि टाट्नामा बाँधेका दुईवटा बोकालाई घाँस हाल्दै थिइन् । त्यो घाँस उनले छिमेकीको खेतको आलिबाट आफै काटेर ल्याएकी रहेछिन् ।

उनी त्यसपछि आँगनमा रहेको ट्युवेलका छरिएका जुठा भाडा बर्तन सम्हाल्न थालिन् । जुठेल्नुको भाँडा मस्काएर पखाल्न थालिन् । पूर्वाञ्चलको टोलीले डम्बरकुमारीको दैनिकी हेरीरहयो । लाग्थ्यो उनी क्यान्सर पीडित होइनन् ।

अन्य समान रोगका विरामी ओछ्यान परेको, अस्पतालको वेडमा छटपटाई रहेको समाचार लेख्ने पत्रकारको टोलीले प्राणघातक रोग लागेकी महिलाको दैनिकी हेर्दा आश्चर्य ठान्यो । ‘कतै झुक्याइएको त होइन ?’ तर भट्टराईको वास्तविकता उल्टो रहेछ । गरिबीले उनलाई रोगभन्दा ठूलो पीडामा धकेलिदिएको रहेछ ।

असार महिनामा गिजा असामान्य रूपमा सुन्निएपछि उनी छिमेकी रोजी लुइटेलको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज पुगिन् । त्यहाँका चिकित्सकले समस्या जटिल देखेपछि बिर्तामोडस्थित बिएण्सी अस्पताल पठाए । परीक्षणपछि उनलाई क्यान्सर हुन सक्ने भन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल रिफर गरियो ।

अन्ततः विस्तृत परीक्षणपछि चिकित्सक बजरंग प्रसाद शाहले मुखको क्यान्सर भएको पुष्टि गरे । उनले भने, ‘समयमै शल्यक्रिया र उपचार भए निको हुन्छ ।’ उपचार त परको कुरा हो । विहान बेलुका तरकारीमा हाल्ने नुन लगायतका मरमसला किन्ने पैसा समेत नहुँदा उनि विचल्लीमा परेकी छन् । ‘हे भगवान कस्तो आपत आई लाग्यो,’ उनले भनिन् ।

पीडित भट्टराईको नाममा घर बनेको एक कठ्ठा जग्गा र दुईवटा बोका बाहेक अन्य सम्पत्ति केही छैन । छोराछोरीको आम्दानी पनि उपचार धान्ने अवस्थामा छैन । विदेश कमाउन गएको छोरा रणबहादुर आमा बिरामी भएको सुनेपछि खालि हात स्वदेश फर्किए । स्वदेश त फर्किए । अब मजदुरी गरेर आमाको उपचार धान्न नसकिने भन्दै उनी यतिबेला आफ्नै कर्मलाई धिक्कारर्दै विलौना गर्न थालेका छन् ।

‘घर बेचेर उपचार गरौँ भने मक्कि सकेको थोत्रो घर कसले किन्देला ? टाट्नामा भएका बोका बेचौ भने एक छेउ पनि पुग्दैन । आँसुले भरिएका आँखा पुछ्दै उनले उही बालकृष्ण समको भनाई टपक्कै टिपेर भने,‘ दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।’

भट्टराईका श्रीमानले दोस्रो विवाह गरेर परिवार छाडेका छन् । उनले श्रीमान्बाट अंशसमेत पाएकी छैनन् । अहिले उनी छोरा, बुहारी र नातिनीका सहारामा छिन् । स्थानीय देवका पौडेल भन्छन्, ‘डाक्टरले शल्यक्रियाको समय दिएका थिए । पैसा नहुँदा त्यो समय गुज्रियो । अब चाँडै सहयोग जुटेन भने ज्यानै गुम्ने खतरा छ ।’

छिमेकी पौडेलले थप्दै भनिन् ‘अहिले यहाँको समाज, देश विदेशमा रहने आम नेपालीले हातेमालो ग¥यो भने भट्टराई मात्र होइन, उनका छोरा–बुहारी र नातिनीको भविष्य पनि उज्यालो बन्न सक्छ ।’ उनलाई बचाउन सकियो भने उनी भोलि फेरि काम गरेर आत्मनिर्भर बन्न सक्छिन् ।’

गरिबीले अस्पताल पुग्न नसकेकी क्यान्सर पीडित डम्बरकुमारीले पनि आफुलाई बचाईदिन सबै संग अपिल गरेकी छन् । ‘मलाई अझै यो सुन्दर सन्सार हेर्न मन छ । तपाईँको सानो सहयोगले मेरो जीवन रंगिन बन्ने छ,’ उनले भनन् ि।

डम्बर कुमारी भट्टराईको कथा केवल एउटा परिवारको पीडा मात्र होइन । गरिबी र रोगबीचको उच्च सङ्घर्षको कथा पनि हो । सहयोगी मनहरूले हात अघि बढाए, उपचार सम्भव छ । समयमै उपचार भए उनले बाँकी जीवन फेरि गाउँ–समाजसँगै हाँस्दै–बाँच्दै बिताउन सक्छिन् । छोरा रणवहादुरले स्थानीय शिवगञ्ज बजारमा शाखा रहेको राष्ट्रिय वाणीज्य बैंकको खाता नम्बर २१७०१००००६०५५०१० पनि सार्वजनिक गरेका छन् ।

उनले सबै नेपाली संग सहयोगको याचना गर्दे भने, ‘म गरिवीको चपेटा मा परेर आमाको उपचार गर्न सकिन । यो खाता नम्बरमा तपाईले सकेको रकम जम्मा गरिदिनु भयो भने मेरी प्राण प्यारी आमाको जीवन बचाउन सकिन्थ्यो । तपाईँले गरेको यो गुन कहिल्लै विर्सने छैन । प्लिज सकेको सहयोग गरिदिनुहोस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here