पथरी शनिश्चरे।

मोरङको पथरी शनिश्चरे ०१मा अवस्थित अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९ औं साधारणसभा सम्पन्न गरेको छ।
उक्त साकोसको आफ्नै कार्यालयमा उक्त साधरणसभा सम्पन्न भएको हो। जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी सदस्य विना राईको प्रमुख आतिथ्यतामा आयोजित साधारण सभामा संस्थाकी अध्यक्ष दुर्गा सुवेदी दंगालले आ.व. २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन सहित अध्यक्षको मन्तव्य राख्नुभएको थियो।
दुई दशक अघि पथरी क्षेत्रका महिलाहरु मिलेर स्थापना गर्नु भएको सो साकोसको उक्त साधारण सभामा संस्थाकी सचिव सृजना राईले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा २०८२/०८३ को कार्य योजना प्रस्तुत गर्नुभएको थियो।
उहाँले गत असार मसान्तसम्ममा २०८१ जना शेयर सदस्य रहेको उक्त संस्थाको हाल सम्म शेयर पूँजी वापत १ करोड ५२ लाख २० हजार ९ सय रुपैयाँ, कुल सम्पत्ति वापत १५ करोड ०६ लाख ९५ हजार २ सय ३९ रूपैयाँ तथा कुल बचत ११ करोड ५४ लाख ६३ हजार ७ सय ५१ रूपैयाँ रहेको उल्लेख गर्नुभयो।
यसैगरी, सोही संस्थाकी कोषाध्यक्ष जानुका श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाकी लेखा संयोजक शोभा चौहानले वार्षिक आन्तरिक लेखा प्रतिवेदन पेश गर्नु भएको थियो।
एकल महिलाहरू क्रमश: सुनिता सुनुवार, बिखा थापा, मधु लक्ष्मी राई, नरकुमारी गुरुङ, पार्वती देवी बोहरा ,बोलकुमारी खनाल, सृजना पुडासैनी समेत सम्मानित गरिएको उक्त सभामा ऐच्छिक बचत तर्फबाट सुनिता बिष्ट, अनिवार्य बचत आशादेवि राई, धितोमा ऋण – शोभा राई र सामान्य ऋण तर्फ पार्वती जोगीलाई तामाको जग सहित प्रमाण पत्रले पुरस्कार प्रदान गरिएको थियो।
सोहि क्रममा उत्कृष्ट बाल बचतकर्ता तर्फ क्रमश: प्रथम , दृतिय र तृतीय समृद्धि भट्टराई, शिवानी न्यौपाने र पविनका विष्ट सम्मान पत्रले सम्मानित गरिएको थियो।































