दुर्गुण र दुर्बृत्तिको अन्त्य होस्

0
72

नेपालीहरुको महान पर्व वडा दशैं आजदेखि घर–घरमा भित्रिएको छ । आश्विन शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्म मनाइने नवरात्र वडादशैंलाई विशेष महŒव दिइएको छ । वैदिक सनातन हिन्दू धर्म अनुसार भगवती दुर्गालाई शक्तिको स्रोतका रुपमा नौ दिनसम्म विभिन्न रुपमा पूजाआराधना गरिने पौराणिक ग्रन्थहरुको मान्यता छ । त्यही मान्यता अनुसार देवी दुर्गाका विभिन्न नौ वटा स्वरुपको उपासना गरिने यी नौ दिनलाई नवरात्र भनिएको हो । त्यसै अनुसार दशैंको पहिलो दिन आज घर–घरमा जमरा राख्ने अर्थात् घटस्थापन गरिन्छ । बालुवा मिसिएको माटोमा जौ छर्ने र सोही स्थानमा नौ दिनसम्म वैदिक परम्परा अनुसार पूजा, उपासना र देवीसूक्त पाठ गरिन्छ ।

हिन्दू धर्म र परम्पराले मानव जाति प्रकृतिबाट टाढा छैन भन्ने देखाएको यो उदाहरण हो । जौसँगै गहुँ, मकै र धान समेत मिसाएर माटो, हावा र पानीको योगबाट सम्पूर्ण पृथ्वी संरक्षित छ– यो हिन्दू धर्मको मान्यता हो । त्यही भएर देशका सबै शक्तिपीठहरुमा आज जमरा राख्दै नवरात्र विशेष उत्सवका रुपमा मनाउन शुरु भएको छ । नौ दिनसम्म नित्य गरिने पूजा, पाठ र उपासनाको समापन पश्चात दशमीका दिन चामल, दही र अविर मिश्रित अक्षता मान्यजनबाट ग्रहण गर्दै सुख, शान्ति, समृद्धि र आरोग्य जीवनको कामना गरिन्छ । दुर्गा भगवतीको प्रसाद र मान्यजनको आशिर्वादले जीनवमा खुशीयाली प्राप्त गरिन्छ भन्ने हाम्रो विश्वास रहेको छ । तर, यसपटकको दशैं हाम्रो आशा र अपेक्षा अनुसार आएको छैन । दशैंको मुखमै सरकार हिंसातर्फ उन्मुख हुँदा चौबीस घन्टाको अन्तरालमा ठूलो संख्यामा मानव जीवनको क्षय भएको छ । युवापुस्ताले भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै गरेको प्रदर्शनमा प्रहरीले गोली हानेर चौहत्तर जनाको अमूल्य जीवन गुमेको पीडाले देश मर्माहत छ ।

यस्तो बेला शुरु भएको यस वर्षको दशैं आफूभित्र रहेको काम, क्रोध, लोभ, मोह, इष्र्या र द्वेषको पराजयका रुपमा बितोस् । आफूसँग रहेका यस्ता शत्रुको दमन नहुञ्जेल मानिस सधैँ पराजीत नै हुन्छ । अर्थात् हामीभित्र रहेका यस्ता दुर्गुणहरुको अन्त्य मात्रै हाम्रो सुखद् यात्रा हुन्छ । हिंसामाथि अहिंसाको र आसुरी शक्तिमाथिको विजय शत्रुमाथिको विजय हो । खासगरी देशमा शासनमा बस्नेहरुमा ज्ञान र विवेक आओस् जसको बलमा दानवी शक्ति पराजीत होस् । हिंसामुक्त, सुशासन, जनअपेक्षा र आवश्यकता पूरा गर्न भगवनी दुर्गाले सद्बुद्धि र सामथ्र्य प्रदान गरुन् । आपसी प्रेम, भाइचारा, सद्भाव र सदाचार बढेर जाओस् सत्य, प्रेम, करुणा, धर्म र न्याय जस्ता सद्गुण बलियो होस् । दुर्बृत्ति, दुर्भावना र दुर्विचारको बलि चढाऔं र यो उत्सव भव्य रुपमा मनाऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here