झापा,

इलामसँग सिमाना जोडिएको झापाको कृष्णथुम्कीमा पर्यटकीय आकर्षण बढेको छ । महाभारतकालीन पौराणिक कथनअनुसार द्वापरयुगमा पाँच पाण्डव गुप्तबास बसेका बेला भगवान् श्रीकृष्ण गाई चराउँदै कृष्णथुम्कीमा पुग्नुभएको थियो ।
मेचीनगर नगरपालिका-१ मा रहेको पाँच वटा थुम्कीमध्ये मुख्य डाँडो ‘कृष्णथुम्की’ हो । जहाँ श्रीकृष्णका गाईहरूको खुरको शिला अहिले पनि मन्दिरमा राखिएको जनविश्वास छ । खुरको दर्शन गर्न बर्सेनि हजारौँ भक्तजन यहाँ आउने गरेका कृष्णथुम्की विकास समितिका अध्यक्ष हिम्मत क्षेत्रीले बताउनुभयो ।
पौराणिक कथाअनुसार अरु पाँच वटा थुम्की पाँच पाण्डवको प्रतीकका रूपमा रहेका छन् । मेची र सिद्धी नदीको सङ्गम नजिक रमणीय प्राकृतिक वातावरणमा कृष्णथुम्की अवस्थित छ । हिन्दू, किरात र बौद्ध धर्मावलम्बीको आ-आफ्नो आस्थाअनुसारको मठमन्दिर निर्माण गरिएकाले पछिल्लो समय कृष्णथुम्की सबै धर्मावलम्बीको साझा तीर्थस्थल बन्न पुगेको छ ।
पूर्वीनाका काँकडभिट्टाबाट १७ किलोमिटर उत्तर पहाडको फेदीमा रहेको उक्त रमणीय धार्मिकस्थलमा पूजाआजाका लागि भक्तजन र अवलोकनका लागि पर्यटक आउन थालेपछि यो स्थान पर्यटकीयस्थलका रूपमा परिचित बन्दै गएको समितिका अध्यक्ष क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार सरकारले पर्यटकीय प्रवर्द्धनका लागि स्थानीयलाई समेटेर विकास समिति गठन गरेको छ ।
दसैँ, श्रीकृष्ण जन्माष्टमी, बुद्धपूर्णिमा र उधौली उभौली पर्वमा यहाँ धार्मिक पर्यटकको आगमन अत्यधिक हुने जनाउँदै उहाँले अरुबेला पनि देशविदेशबाट पर्यटक आइरहने बताउनुभयो । पर्यटकीय चहलपहल बढेपछि तीनै तहका सरकारले कृष्णथुम्कीको विकासमा लगानी बढाएका छन् । हाल कृष्णथुम्की पुग्ने सडक कालोपत्र गरिएको छ भने यहाँका मठ मन्दिर, गुम्बा र साकेला थान पुनःनिर्माण गरेर चिटिक्क सजाइएका छन् ।
“सडक स्तरोन्नति भएसँगै सिटी रिक्सा, टेम्पोलगायत साना सार्वजनिक सवारीसाधन आवतजावत गर्न सहज भएको छ”, क्षेत्रीले भन्नुभयो, “कृष्णथुम्की पौराणिक महत्त्वको धार्मिक स्थल हो, पूर्वाधारको विकासले यसको पर्यटकीय आकर्षण झन बढाएको छ ।”
छुट्टी मनाउन आउने हरेक तीन चार वटा बस भाडामा लिएर कृष्णथुम्कीको अवलोकन गर्न आन्तरिक पर्यटक आउने गरेका अध्यक्ष क्षेत्रीले बताउनुभयो । कृष्णथुम्कीमा सङ्घीय सरकारको सहयोगमा रु ३० लाख ३९ हजार १८० लगानी गरेर मन्दिर र गुम्बाको मर्मतसम्भार गरिएको उहाँको भनाइ छ ।
मन्दिर र गुम्बाको मर्मतसम्भारमा सहरी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा रु २८ लाख पाँच हजार १९७ सहयोग गरेको थियो भने विकास समितिले आन्तरिक स्रोतबाट रु दुई लाख ३४ हजार ६२६ जुटाएको थियो ।
डाँडाको शिखरमा रहेको मूल मन्दिर पुग्नका लागि पक्की सिँढीसहित रेलिङ निर्माण गरिएको छ । गुम्बा, साकेला र राधाकृष्णको मन्दिरलाई रङरोगन गरिएको थियो । मुख्य आकर्षणका रुपमा रहेको मन्दिरमा पित्तलको छानो लगाइएको छ भने साकेला र गुम्बाको प्राङ्गण सिमेन्टले ढलान गरिएको छ ।
कृष्णथुम्कीबाट चार किलोटिरको दूरीमा ४९ वटा जलधारा प्रवाहित हुने ‘नागदेवी तथा हिले सिमसार’ नामक अर्को पर्यटकीयस्थल पनि छ । त्यसैगरी ‘मिनी माउन्टेन र वृन्दावन’ नामक पर्यटकीयस्थल नजिकै छ । यहाँका सबै पर्यटकीयस्थलमा आउनेहरू कृष्णथुम्की पुग्न बिर्सँदैनन् ।






























