झापा ।

नेकपा एमाले शिवशताक्षी नगर कमिटीले उपाध्यक्ष विष्णुप्रसाद प्रसाईलाई पार्टीबाट निलम्बन गरेको छ।
मङ्गलबार बिहान बसेको नगर कमिटीको बैठकले उनलाई साधारण सदस्यतासहित निलम्बन गर्ने निर्णय गरेको हो। साधारण सदस्यता खारेज भएपछि प्रसाईको उपाध्यक्ष पद पनि स्वतः रिक्त बनेको छ।
नगर कमिटीका एक पदाधिकारीका अनुसार जेन्जी आन्दोलन भदौ २३ र २४ गते प्रसाईको सामाजिक सञ्जालमा पद तथा सदस्यता त्यागेको स्टाटस सार्वजनिक भएको थियो। सो स्टाटसमा उनले शिवशताक्षी नगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदबाट समेत राजीनामा दिएको उल्लेख थियो।
तर प्रसाईले उक्त स्टाटस आफूले लेखेको नभई छोरीले लेखिदिएको दाबी गरेका छन्। उनका अनुसार आन्दोलनका बेला परिवारसँगै ज्यानमाथि खतरा महसुस भएपछि छोरीले मोबाइल प्रयोग गरेर स्टाटस पोस्ट गरेकी थिइन्। यद्यपि, स्टाटस आउनुअघि प्रसाईले पार्टीका केही नेतासँग राजीनामासम्बन्धी छलफल गरेको स्रोत बताउँछ।
पार्टी अध्यक्ष मेदनी दङ्गालले पार्टीको हित विपरीत क्रियाकलाप गर्ने जो–कोहीमाथि विधानअनुसार कारबाही हुने स्पष्ट पारे। यसैबीच, जिल्ला कमिटीमा रहेका सचिवालय सदस्य सिकिन पासवान र सदस्य अग्नि कार्कीविरुद्ध पनि कारबाहीका लागि सिफारिस गरिएको नगर सचिवालयले जनाएको छ।
पासवानले तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर माई खोलामा बगाएको आरोप छ। कार्कीले भने सामाजिक सञ्जालमार्फत पार्टीको आचरण विपरीत टिप्पणी गरेको बताइएको छ।
पार्टीभित्रको यो ताजा निर्णयलाई स्थानीयस्तरमा चासोपूर्वक हेरिएको छ।

























