एक जेन्जी शहीदबाट आमालाई चिठी : आमा ! म अब कहिल्यै आउँदिन

0
57

मलाई प्राण दिने मेरी आमा,

मैले यो देशलाई तिमीले भन्दा अगाडि प्राण दिएँ । तिम्रो बुढेसकालको सहारा बन्ने बेलामा, म देशको सहारा बन्नलाई बलिदानी दिएँ । बलिदानी पनि के भन्नु, मलाई रक्त पिपासुहरुले मेरो ज्यान लिए आमा । मलाई माफ गर आमा, मैले आफ्नो सपनासँगै सिङ्गो परिवारको आशा र भरोषालाई बीच बाटोमै छोडिदिएँ । तर, तिमीले गर्व गर्नुआमा, म तिम्रो मात्र नभएर देशकै छोरा भएँ । दशैं र तिहार आउँदैछ आमा, झुक्किएर मेरो बाटो हेरौली । दशैं मान्न गाउँ फर्किएकाहरुको हूलमा मलाई खोजौली । तर म त आउँदिन नि आमा । म यतिबेला कहाँ के गर्दैछु भन्ने तिमीले सोच्न गाह्रो होला । म त मरेर पनि गाउँको यादमा बाँचिरहेको छु आमा । अध्ययनको लागि मैले सहर रोजेँ, त्यहीँ शहरभित्र सुन्दर भविष्य खोजेँ ।

शहरमा बसे पनि चाडबाडको बेला गाउँ नै प्यारो लाग्ने । यसपालीको दशैंमा चाहिँ म घर आइन आमा । यसपाली मात्र होइन, अब सधैँ आउँदिन आमा । तर आमा, तिमी नरुनु है । आज देश दुखेको छ, देश रोएको छ । सबै मिलेर देशको मुहारमा हाँसो र खुशी ल्याउनुपर्छ । मैले बलिदानी दिएँ देश हसाउन । बाँचेकाहरुले कर्मले देश हसाउनुपर्छ । हाम्रो बलिदानी खेर जान नदिनु होला ।

आमा, यो वर्ष तहाम्रो घरमा टीका लगाउन पनि हँुदैन है ? तिहारमा देउसी–भैलो खेल्न पनि साथीहरु आउँदैनन् । लिङ्गे पिङ्ग बनाउने बाँस काट्न जान, डोरी बाट्न् बाबिया र खर लिन जान भन्दै साथीहरु हाम्रो घर आउँथे, मलाई बोलाउन । यो वर्ष त उनीहरु पनि आउने छैनन् आमा । कोही झुक्किएर मलाई बोलाउन आएमा तिमी नरुनु है आमा, मलाई सम्झेर । उनीहरु पनि तिम्रै छोराछोरी हुन् । त्यही हूलमा म पनि हुन्छु, तर तिमीले देख्ने छैनौ । न त अरुले नै देख्नेछन् । हाम्रो घरमा देउसी–भैलो नखेले पनि छिमेकीको घरमा उनीहरु देउसी खेल्नेछन् । म पनि त्यही हुलमा कतै नाँचीरहेको हुनेछु, तर तिमीले देख्ने छैनौं आमा । तिम्रो बाह्य आँखाले मलाई नदेखे पनि तिम्रो अन्तरआत्माले मलाई देख्नेछौ । मलाई देखेर फेरि तिमी भक्कानिन्छौ कि भन्ने मलाई पीर छ । तिमी नरुनु है आमा ।

म देशको लागि लडेँ । मैले आफैंलाई भूलेँ, परिवारलाई बिर्सेँ। केबल देश सम्झिएँ अनि आन्दोलनको अग्रपंक्तिमा रहेँ । परिणामस्वरुप तातो गोली उपहार पाएँ । त्यहीँ गोलीले मेरो ज्यान लियो आमा । आमा, म गोली खान गएको थिइन । म त भ्रष्टाचार हटाउनुपर्छ भन्ने आवाजमा आवाज थप्न गएको थिएँ ।

मेरो मुखबाट निस्कने आवाज बन्द भए पनि सडकको आवाज कहिल्यै बन्द हुने छैन । यो सारा जेन्जीको आवाज हो, सारा नेपालीको आवाज हो । यो आवाज कहिल्यै बन्द हुने छैन । अझ बुलन्द हुनेछ । आमा, म त आधुनिक सूचना र प्रविधिको सुविधासँगै हुर्केँ, बढेँ । तिमीलाई सामाजिक सञ्जाल, स्मार्ट फोन चलाउन नआए पनि तिम्रो अन्तरआत्माले मेरो आवाज सुन्न सक्छौ आमा ।

आन्दोलनको बारेमा हेर्न मन लागे ठूल्दाइको मोबाइलमा हेर्नु है आमा । तर, तर नहेर्नु आमा, तिमीलाई झन गाह्रो हुन्छ । म ढलेको भिडियो देखेर तिमी आफै ढल्न सक्छौ । त्यसैले, नहेर आमा । मन बलियो बनाऊ । ठूलो दाइ र बहिनीलाई हेरेर मलाई बिर्सनु है आमा । म अब कहिल्यै घर आउँदिन । यो वर्षको दशैंमा मात्र होइन, कुनै पनि दशैंमा घर आउँदिन । म अब कहिल्यै आउँदिन आमा …!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here