विनोद सापकोटा,
झापा।

नेकपा एमाले जिल्ला कार्यसमिति झापाका सदस्य तथा अधिवक्ता अग्नि कार्कीले पार्टी सदस्यता निलम्बनको सिफारिसप्रति कडा आपत्ति जनाएका छन्।
शिवसताक्षी नगर कमिटीको बैठकले कार्कीलाई पार्टी हित र आचरण विपरीत सामाजिक सञ्जालमा टिप्पणी गरेको भन्दै जिल्ला कमिटीमार्फत निलम्बनको सिफारिस गरेको थियो। तर कार्कीले स्थानीय सञ्चारकर्मीमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै सो निर्णयको औचित्यमाथि गम्भीर प्रश्न उठाएका छन्।
कार्कीले आफूले व्यक्त गरेको विचार पार्टी हितविपरीत नभई भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, कानुनी शासनको मजबुत स्थापना र लोकतान्त्रिक अभ्यासलाई प्रोत्साहित गर्ने प्रकृतिको भएको बताए। उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गरौं, पार्टीमा विचारको छलफल गरौं, जनताको समस्या संग घुलमिल हौं, सुशासन कायम राखौं भन्ने कुरा गर्दा पार्टी विपरीत हुन्छ भने यो ठूलो विडम्बना हो।’
उनले हालै घटेको घटनाको उदाहरण दिँदै मन्त्रीको गाडीले बच्चीलाई ठक्कर दिएर मानवीय संवेदना नदेखाई सडकमा छोडिएको प्रसङ्ग उठाए। उनले प्रश्न गर्दै भने, ‘यो गलत हो भन्नु पार्टी विपरीत हुन्छ ?’
कार्कीले पार्टीभित्र उठेका प्रश्नलाई अवरोध गर्ने प्रवृत्तिले नै संगठन कमजोर हुने चेतावनी दिएका छन्। उनले हालैको आन्दोलन, दुई-तिहाइ बहुमतसहितको सरकार हुँदा समेत पार्टी एक्लिनु, नेतृत्वले बीचमै सरकार छाड्नु, पार्टीमा विचलन देखिनु जस्ता प्रश्नहरूको जवाफ खोज्नु स्वाभाविक रहेको बताए।
‘फरक विचार राख्नेहरूलाई किन एक्ल्याइन्छ ? हिजो बोलेको कुरा किन आज बदलिन्छ ?” भन्दै उनले नेतृत्वलाई प्रश्न गरे। संविधान विपरीत नजानु, पुस्तान्तरणको आवश्यकता, भ्रष्टाचारमा मुछिएका जुनसुकै व्यक्तिलाई कारबाही गर्नुपर्ने कुरा सबै लोकतान्त्रिक मूल्य र जनचाहनासँग मेल खाने उनले बताए। ‘यी सबै कुरा गर्दा पार्टी विपरीत हुन्छ भने त्यसको स्पष्ट कारणसहित प्रमाण देखाउनुपर्छ ,’ यी बाहेकका अन्य कारण निलम्बनको सिफारिस गरेको हो भने उनले निलम्बनको आधार सार्वजनिक गर्न नगर कमिटीलाई चुनौती दिए।
लोकतन्त्रमा आलोचना र बहसलाई सहज रूपमा लिनुपर्ने कार्कीको तर्क छ। उनले भने, ‘आलोचना गर्ने ठाउँ नै बन्द गर्ने, फरक विचार राख्नेहरूलाई कारबाही गर्ने परिपाटी दुनियामा कतै छैन। यस्तो जात्रा भने एमालेमा शिवसताक्षी नगर कमिटीले देखाएको छ।’
उनले संगठनलाई जोगाउने हो वा कमजोर पार्ने भन्ने प्रश्न पनि उठाए। ‘पार्टी जोगाउने हो भने नगरभरिका सदस्यलाई एकजुट गराएर अभियानमा सहभागी गराउनु पहिलो दायित्व हो। तर पार्टी नै सक्ने हो भने मनमानी गरेर फरक विचारलाई थिचे पुग्छ,’ कार्कीको भनाइ थियो।
पार्टीभित्र छलफल, बहस र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन आफू निरन्तर प्रतिबद्ध रहेको कार्कीले दाबी गर्दै भने, ‘संगठन र सिद्धान्त बचाउन आवश्यक परेमा झन् खुलेर बोलिरहनेछु।’

























