
विवेक केशरी प्रसाईं,
हामी नागरिक, विगत लामो समयदेखि एउटै कुरा दोहोर्याइरहेका छौँ -नेपालको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो । तर विडम्बना, हामीले उठाउने आवाज सुनिएको नाटक गरिन्छ, तर परिणाम कहिल्यै देखिँदैन । हरेक पटक नयाँ सरकार आउँछ, नयाँ प्रतिबद्धता आउँछ, तर हाम्रो आशा फेरि त्यही पुरानो निराशामा परिणत हुन्छ ।
हामीले सुनेका थुप्रै घोषणाहरू मध्ये अहिले फेरि अर्को समाचार आएको छ -पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सांसद आरजु राणा देउवा र निवर्तमान मन्त्री दिपक खड्काको सम्पत्तिमाथि छानबिन सुरु भएको छ । यो समाचारले एकछिन हामीलाई चकित बनायो, आशा जगायो पनि । तर हाम्रो मनमा तुरुन्तै अर्को प्रश्न आयो -के यो छानबिनले साँच्चै सत्य उजागर गर्छ ? कि फेरि पनि यो केवल राजनीतिक रंगमञ्चको एउटा नाटक मात्र हो ?
हामी नागरिकले धेरै पटक देखिसकेका छौँ -छानबिन सुरु हुन्छ, सञ्चारमाध्यममा हल्ला हुन्छ, तर केही समयपछि फाइलहरू धुलोमा पुरिन्छन्, केसहरू हराउँछन्, र दोषीहरू अझै शक्तिशाली बनेर अघि बढ्छन् ।
हामी प्रश्न गर्छौँ –
– किन ठूला नेतामाथि सुरु भएको छानबिन सधैं अधुरो रहन्छ ?
– किन साना कर्मचारी सजिलै जेलिन्छन्, तर ठूला माछा सजिलै उम्कन्छन् ?
– के नेपालमा कानुन अझै पनि शक्तिहीनका लागि मात्र बनेको हो ?
हामीलाई प्रष्ट थाहा छ -भ्रष्टाचार नै हाम्रो भविष्यको सबैभन्दा ठूलो बाधक हो । यो भ्रष्टाचारले हाम्रो शिक्षा प्रणालीलाई खोक्रो बनाएको छ, स्वास्थ्य सेवालाई महँगो बनाएको छ, रोजगारीका अवसरलाई विदेशतिर धकेलेको छ, र विकासलाई दशकौँ पछि धकेलेको छ । तर जसले यो सबै बिगार्छन्, उनीहरू नै संसद् र सरकारमा प्रमुख स्थानमा बस्छन् ।
हामीले अझै पनि संविधानमा पढेका शब्दहरू सम्झिरहेका छौँ -“कानुनको अगाडि सबै समान छन् ।” तर व्यवहारमा हामी देख्छौँ -समानता केवल किताबमा छ, व्यवहारमा छैन ।
आज हामीले प्रचण्डलाई, देउवालाई, कांग्रेसलाई, एमालेलाई, माओवादीलाई, र सबै नेताहरूलाई एउटै कुरा भन्नैपर्छ -हामीलाई अब नाटक होइन, परिणाम चाहिन्छ । यदि छानबिन सुरु भएको छ भने, त्यसलाई अन्तिमसम्म पुर्याउनुहोस् । दोषीलाई प्रमाणसहित अदालतमा लैजानुहोस् । निर्दोष भए पारदर्शी ढंगले जनतालाई जानकारी दिनुहोस् ।
हामी नागरिकको अपेक्षा धेरै ठूलो होइन -हामी केवल न्याय खोजिरहेका छौँ । न्याय नपाएसम्म हाम्रो लोकतन्त्र केवल एउटा खोक्रो शब्द हुनेछ । न्याय नपाएसम्म जनताको आस्था कमजोर हुँदै जानेछ । र आस्था गुमेको लोकतन्त्र कहिल्यै टिक्दैन ।
हामी अब मौन बस्दैनौँ । हामी प्रश्न गर्छौँ, र अझ जोडले प्रश्न गर्नेछौँ, किन ठूला नेतामाथि भएको छानबिन सधैं अधुरो रहन्छ ? किन हाम्रो कानुन शक्तिशालीहरूको सुरक्षा कवच मात्र हुन्छ ? किन भ्रष्टाचारविरुद्धको लडाइँ जनतालाई छल्ने उपकरण मात्र बनाइन्छ ?
यो प्रश्नको जवाफ दिन नेतृत्व बाध्य छ । किनकि हाम्रो भविष्य, हाम्रो लोकतन्त्र, र हाम्रो संविधान अब केवल नेताहरूको राजनीतिक खेल होइन, जनताको आस्थामा अडेको छ । हामीलाई नदुखाइदिनुहोस् । हामीलाई बेवकुफ नबनाइदिनुहोस् । हामीलाई न्याय दिनुहोस् ।


























