संयमित होऔं र धैर्य गरौं

0
51

गत भदौ २३ गते युवा पुस्ताले गरेको आन्दोलनका क्रममा प्रहरी अमानवीय बन्दा ठूलो मानवीय क्षति हुन गयो । ‘मुस्कानसहितको प्रहरी’ भन्ने भनाइ सरकारको अहंकार आन्दोलनको आगोमा घिऊ बनेर प्रस्तुत हुँदा भएको मानवीय क्षतिको परिणाममा भोलिपल्ट आन्दोलन अनियन्त्रित बन्यो । त्यसक्रममा आन्दोलनको तापले प्रधानमन्त्री केपी ओली राजीनामा दिएर भाग्नुपर्ने अवस्था आयो । जनताको इच्छा, चाहना र मागलाई सम्बोधन गर्नु नै प्रजातन्त्र वा लोकतन्त्रको मान्यता हो । तर, हामीकहाँ जसरी पनि जनप्रतिनिधि बन्ने, सरकारमा जाने र नेतृत्व नै गर्ने लिप्साले देशले जहिले हार्नु परेको छ । प्रधानमन्त्रीको आफू मात्र सर्वज्ञ ठान्ने अहम्ले आन्दोलन अराजक बन्दा निजी क्षेत्र पनि पिसिए ।

जेन–जी पुस्ताको केही घन्टाको आन्दोलनले सरकारको दम्भ, अहंकार त ‘पीठो’ भयो तर त्यसले छोडेको त्रास र क्षतिले देशलाई समृद्धिको बाटो समाउन धेरै पछि धकेलेको छ । देशको शान, गौरव र सम्पदाका रुपमा रहेको सिंहदरवारलाई आगोले निल्दा भएको क्षतिको मूल्यांकन गर्न असम्भव छ । इतिहासको एक कालखण्डको जिवित अभिलेख स्वयम् परिचयविहीन बन्न पुग्यो । जसले नेपालीको गौरवपूर्ण सम्मानमा समेत आघात परेको छ । यसको भरपाई कहिले र कसरी होला त्यसको अनुमान पनि गर्न सकिँन्न । देशको प्रमुख प्रशासकीय भवनका रुपमा रहेको सिंहदरवारसँगै सर्वोच्च अदालत लगायतका महत्वपूर्ण केन्द्रहरुमा आगजनी गरियो । त्यो सँगै निजी क्षेत्रका उद्योग एवम् व्यावसायिक प्रतिष्ठानमा भएको आगजनीका कारण अस्सी अर्ब बराबरको भौतिक क्षति भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्षति अहिलेसम्म प्राप्त तथ्यांक मात्रै भएको बताएका छन् । कोरोना संक्रमणका समय थलिएको अर्थतन्त्र फेरि थोरै चलायमान हुन थालेको थियो । तर, सरकारको अक्षमताले उत्पन्न अस्थिर राजनीतिक अवस्थाको उपजका रुपमा भएका आन्दोलनहरुले निजी क्षेत्र पनि प्रभावित भइरहेका छन् । यसले एकातिर देशले सधैँ अस्थिरताको भार खेप्नु पर्दछ भने जनताले सधैँ सास्ती व्यहोर्नु परेको छ । देश र जनताको रक्षक ठान्ने राजनीतिक दल, नेतृत्व र सरकारको अदूरदर्शिता र अक्षमताले निजी क्षेत्र, सर्वसाधारण र देशले बारम्बार दुरगति भोग्नु परेको छ । शान्ति सुरक्षाको अवस्था कमजोर पार्ने, अर्थतन्त्र धराशायी बनाउने र देश तथा जातिको स्वाधीनता, स्वाभिमान र अखण्डतालाई कमजोर बनाउने परिस्थिति फेरि निर्माण गर्ने वातावरण बन्नुपर्छ । त्यसका लागि आक्रोश होइन संयम, उत्तेजना होइन धैर्य र दृढता होइन हार्दिकता जाग्नुपर्छ । दशैंले नेपालीलाई यस्तो सामथ्र्य प्रदान गरोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here