बिर्तामोडमा प्रहरी कार्यालय पुनःनिर्माणमा उत्साहजनक सहयोग

0
81

झापा

जेन–जी आन्दोलनको क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनःनिर्माण तथा मर्मत सम्भारका लागि एकका लागि एक अभियानसहित विभिन्न संघ–संस्थाले आर्थिक सहयोग गरेका छन् ।

एकका लागि एक अभियानले एक लाख रुपैयाँ बराबरको जिन्सी सामग्री र पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी परिसरमा आयोजित कार्यक्रमकाबीच एक सय थान ब्ल्याङ्केटसहित पाँच लाख रुपैयाँको चेक भवन पुनः निर्माण व्यवस्थापनमा रहेको टोलीलाई हस्तान्तरण गरिएको हो । अभियानका तर्फबाट नवीन गट्टानीले भवन पुनः निर्माण व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरिरहेका रमेश चौधरी, विपीन बजगाँई, पदम श्रेष्ठ, सजेश शिवाकोटी र रोहित प्रसाईंलाई चेक हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलको समेत उपस्थिति रहेको थियो ।

दर्जनभन्दा बढी सामाजिक संघ–संस्थाले क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माण र प्रहरीका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेका थिए । यसै क्रममा रोटरी क्लब अफ बिर्तामोडले २ थान कम्प्युटर सेट, समर्पित फाउण्डेशनले २ थान कम्प्युटर र १ थान प्रिन्टर, अर्जुनधारा जलेश्वरधामले ५१ हजार रुपैयाँको चेक, नेपाल चार्टर एकाउन्टेन्ट संघ झापाले ५१ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए ।

त्यस्तै साम्भवी फुड एण्ड बेभरेज अर्जुनधाराले ५१ हजार रुपैयाँको चेक, न्यू क्वालिटी कम्प्युटर बिर्तामोडले १ थान प्रिन्टर, मनोज प्रसाईं बिर्तामोडले २१ हजार रुपैयाँको चेक, मारवाडी सेवा समितिसहितका संस्थाबाट एक लाख रुपैयाँको चेक र न्युट्न्स एजुकेशन एकेडेमीको बाल क्लबले ११ हजार एक सय ११ रुपैयाँ नगद प्रदान गरेका थिए ।

कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका थिए । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी संरचना पुनःनिर्माण तथा मर्मत सम्भारका लागि देश तथा विदेशबाट समेत सहयोग जुट्ने क्रम जारी रहेको निर्माण कार्यमा सहभागी पदम श्रेष्ठले बताए ।

आजगनीका कारण इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका ११ वटा भवनमा क्षति पुगेको छ । दशैं अगावै क्षतिग्रस्त १० भौतिक संरचनाको मर्मत कार्य सम्पन्न गर्ने र तिहार अगावै बाँकी एउटा संरचना तयार पार्ने श्रेष्ठको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here