झापा, जेनजी आन्दोलनका क्रममा सहिद भएका झापाको अर्जुनधारा निवासी दिनेश राजवंशीको परिवारलाई एमआरआर(मेन्स रुम रिलोडेड) टिमले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहिद भएका राजवंशीको परिवारलाई ५० हजार रुपैयाँ सहयोग र आन्दोलनका क्रममा घाइते भएका अन्य नौं जनालाई पनि आर्थिक सहयोग गरिएको हो ।
आन्दोलनका क्रममा घाइते भएका मध्ये आठ जनाको परिवारलाई उपचार खर्च स्वरुप ३० हजार रुपैयाँका दरले सहयोग गरिएको र एक जना घाइतेलाई २० हजार रुपैयाँ सहयोग गरिएको एमआरआर झापाका कार्यक्रम संयोजक शरद जोशीले जानकारी दिनुभयो ।
एमआरआर टिम कोरियाका सुजन उप्रेतीको संयोजनमा कोरियामा रहने नेपालीहरुद्वारा संकलित रकम सहिद तथा घाइतेको परिवारलाई प्रदान गरिएको जोशीको भनाई छ ।
एमआरआर टिम कोरियाले झापामा तीन लाख बीस हजार रुपैयाँ सहिद तथा घाइते परिवारलाई बितरण गरेको छ ।
शनिवार बिर्तामोड ५ का सुनिल तामाङलाई आर्थिक सहयोग गर्दै एमआरआर टिम कोरियाले परिलो चरणको कार्यक्रम सम्पन्न गरेको र दशैं लगत्तै दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा एमआरआर टिम झापाका सदस्य विपिन आचार्य र दिवाकर गुरुङ समेत सहभागी हुनु भएको थियो ।
कोरियाको समन्वयमा एमआरआर टिम झापाले गरेको सहयोग कार्यक्रमका विषयमा जानकारी दिँदै कार्यक्रम संयोजक जोशीले आन्दोलनका क्रममा घाइते भएकाहरुलाई आफूहरुको टिमले अस्पतालमा पुगेर सहयोग रकम प्रदान गरेको बताउनुभयो ।
अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई समेत घर घरमै पुगेर आर्थिक सहयोग गरेको उहाँको भनाई छ ।
एमआरआर टिम झापाले सहिद दिनेश राजबंशी अर्जुनधारालाई ५० हजार, गोली लागेर घाइते भएका सुमित शाहलाई २० हजार रुपैयाँ सहयोग गरेको छ भने अन्य सबै घाइतेहरुको उपचारका लागि जनही ३० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको जानकारी दिइयो ।
एमआरआर टिम झापाले सुसान रनापहेँली, रिजन दाहाल, राजेश पोर्टेल , सुरेश खड्का , मस्ताकिन मियाँ , अनित तामाङ , सुनिल तामाङ र विवेक दुनुवारलाई आर्थिक सहयोग गरिएको बताइएको छ । कोरियाबाट प्राप्त रकमको कुनै पनि अंश व्यवस्थापन वा अन्य शीर्षकमा खर्च नगरिएको कार्यक्रम संयोजक जोशीले बताउनुभयो ।
कार्यक्रम संयोजक जोशीले आन्दोलनका क्रममा सहिद वा घाइते हुनु भएका अन्य कोही व्यक्तिको परिवारलाई आर्थिक सहयोग आवश्यक परे सम्पर्क गर्न समेत अनुरोध गर्नु भएको छ ।
एमआरआर टिम कोरियाले झापा सहित देशका अन्य जिल्लामा समेत सहयोग रकम बितरण गरेको जनाइएको छ ।





























