अर्जुनधारा ।

मिस नेपाल कसमो २०२५कि उपाधि विजेता अर्जुनधारा नगरपालिका–१ निवासी दिपशिखा नेपाललाई आइतबार एक कार्यक्रमकोबीच अभिनन्दन गरिएको छ ।
उपाधि विजेता भएपछि पहिलोपटक आफ्नो गृह जिल्ला झापामा आइपुगेकी उनलाई अर्जुनधारा १ नं. वडा कार्यालयकोतर्फबाट स्थानीय खैरेनीमा जारी तेस्रो डासाब खुला नकआउट फुटबल प्रतियोगिताको फाइनल कार्यक्रममा अभिनन्दन पत्रसहित दोसल्ला ओढाई अभिनन्दन गरिएको हो ।
वडा कार्यालयकोतर्फबाट उनलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वडाध्यक्ष उपेन्द्र बस्नेत, वडा सदस्यद्वय इन्द्रकुमारी विश्वकर्मा र दिनेशकुमार घिमिरेले संयुक्तरुपमा अभिनन्दन गरेका थिए ।

दिपशिखाको उपलब्धी केवल वडाको लागि मात्र गर्वको विषय नभई देशकै पहिचानलाई विश्व समुदायमा चिनाउने महत्वपूर्ण आधार बन्न पुगेको हुँदा आफूहरुले वडाकोतर्फबाट अभिनन्दन गर्ने निर्णय गरेको वडाध्यक्ष बस्नेतले बताए ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले झापालाई प्रतिनिधित्व गर्दै उपाधि जिताउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेकी छिन् । उनले आगामी मंसीर दोस्रो साता देशको प्रतिनिधित्व गर्दै भियतनाममा हुने मिस वल्र्ड कसमो २०२५को प्रतिस्पर्धाका लागि आफूलाई सबैको आर्शिवाद र सहयोग आवश्यक रहेको बताइन् ।






























