झापा । इलाममा पहिरोले पुरिएर १५ जनाको मृत्यु भएको छ । निरन्तरको झरीसँगै गएको पहिरोले पुरिँदा १५ जनाको मृत्यु भएको हो भने १२ जना भन्दा बढी बेपत्ता भएका छन् । पहिरोले पुरिएर इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको परिवारका ६ जनाको मृत्यु भएको छ । अझैं २ जना बेपत्ता भएको छिमेकी रेवज तामाङले जानकारी दिए ।
त्यस्तै माङसेबुङ गाउँपालिका–१ पार्टी गाउँ वस्ने मदन लिम्बूको काठ र टिनको छानो भएको एक तले घरलाई माथिबाट खसेको बाँस र माटोसहितको पहिरोले पुरेको छ । उक्त घरमा ८ जना परिवार बस्दै आएकोमा ५ जनालाई सकुशल उद्धार गरिएको छ भने ३ जना मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै देउमाई नगरपालिका –५ ढुसेनी वस्ने दिपक लिम्बूको घरलाई घरमाथिबाट पहिरो झरी पुरेको छ । लिम्बूको घरमा ६ जनाको परिवार बस्दै आएकोमा एक जना बालक र अर्की बालिका मृत अवस्था फेला परेका छन् । एकजना बालिकालाई जीवितै फेला पारी उद्धार गरिएको र अन्य ३ जना बेपत्ता भएकाले खोजतलास भइरहेको छ ।
त्यस्तै देउमाई नगरपालिका –५ झारे बस्ने मनकुमार लिम्बूको काठ र बाँसको टाँटीबेराले बनेको दुई तले घरमा घर माथिबाट पहिरो खसेर पुरिँदा मनकुमार लिम्बूको घटनास्थलमा नै मृत्यु भएको छ । त्यस घरमा २ जना बसेकोमा एक जना महिला वेपत्ता भएकी छन् ।
त्यस्तै सूर्योदय।नगरपालिका –१ मानेभञ्याङ वस्ने राजु क्षेत्रीको घर पहिरोले पुरिँदा उक्त घरमा रहेका ३ जना पाहुनासहित ५ जना सदस्यमध्ये एकजना पुरुषलाई जिवितै उद्धार गरिएको छ । उनलाई उपचारको लागि भारतको सुकिया अस्पताल पठाइएको छ । आमा र नातिनी मृत अवस्थामा फेला परेका छन् भने अन्य २ जना बेपत्ता भएका छन् । उनीहरुको खोजतलास भइरहेको छ ।
यसैगरी सन्दकपुर गाउँपालिका–१, छाँगेमा एकजनाको मृत्यु हुनुका साथै एकजनाको अवस्था गम्भीर छ । माइजोगमाई गाउँपालिका–६, प्याङमा एकैघरका ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
यस्तै, सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एकजना, माङ्सेबुङ गाउँपालिका–१ मा १ गर्भवती महिला र १ पुरुष गरी २ जना गम्भीर घाइते छन् ।उता इलामकै फाकफोकथुम–३, आमचोक रातमाटेमा पहिरोले घर पुर्दा एकजनाको मृत्यु भएको छ ।





























