
विवेक केशरी प्रसाईं,
मानव जीवनको सबैभन्दा गहिरो क्षण मृत्यु हो । मानिसले जीवनभर हजारौँ शब्द उच्चारण गर्छ, तर अन्तिम क्षणमा निस्किएका केही शब्दहरूले उसलाई सधैंका लागि चिनाइदिन्छ । तिनै शब्दहरू इतिहासमा अमर हुन्छन्, जसरी एउटा गीतले गायकलाई, एउटा चित्रले चित्रकारलाई र एउटा पुस्तकले लेखकलाई अमर बनाउँछ ।
साहित्यकारका अन्तिम स्वरहरू
कार्ल मार्क्स
जब उनको जीवनको घडी अन्तिम घण्टामा थियो, उनलाई कोहीले अन्तिम शब्द के भन्न चाहनुहुन्छ भनेर सोधे । उनले कटाक्षपूर्वक भने -“जाऊ, अन्तिम शब्द त तिनैका लागि हुन्छ जसले जीवनभर पर्याप्त बोलेका छैनन् ।”
मार्क्सको यो वाक्य मात्र उत्तर थिएन, यो दर्शन पनि थियो । उनले देखाएका थिए कि सत्य बोल्नेलाई अन्तिम शब्दको खाँचो पर्दैन -किनकि उसले जीवनमै सबै भनीसकेको हुन्छ ।
अस्कर वाइल्ड
पेरिसको सस्तो होटलको कोठा । बिरामी शरीर, थकित आत्मा, तर अझै उनको हाजिर जवाफपन बाँकी थियो । उनले कोठाको वालपेपर हेरेर भने -“या त यो वालपेपर जान्छ, या म ।”
जीवनको अन्तिम क्षणमा पनि उनले हास्यलाई आफ्नो कवच बनाए, र इतिहासमा अमर भए ।
वैज्ञानिकहरूको अन्तिम दृष्टि
लियोनार्दो दा भिन्ची
युरोपका सबैभन्दा बहुमुखी प्रतिभा, जसले कला, विज्ञान, इन्जिनियरिङ सबै क्षेत्रमा प्रकाश फैलाए । तर मृत्युशैय्यामा उनले भने -“मैले ईश्वर र मानवलाई अपमानित गरेँ, किनकि मेरो काम पर्याप्त महान हुन सकेन ।”
यो शब्दमा उनको विनम्रता मात्र होइन, आफ्नो महानतालाई पनि अपूरो ठान्ने आत्मालोचना झल्किन्छ ।
थोमस एडिसन
जब संसार उनको आविष्कारले उज्यालिएको थियो, उनी अन्धकारको यात्रामा निस्कन थाले । मृत्यु अघिको अन्तिम क्षणमा उनले आफ्नी पत्नीलाई शान्त स्वरमा भने -“त्यहाँ त धेरै सुन्दर छ ।”
मानौं मृत्यु उनको लागि डर होइन, अर्को संसारको सुन्दर ढोका थियो ।
राजनीतिक आत्माहरूको अन्तिम आह्वान
जर्ज वाशिङ्टन
अमेरिकाका पहिलो राष्ट्रपति, जसले राष्ट्रको बीउ रोपे । मृत्युशैय्यामा उनले भने -“सब ठीक छ । म कडा संघर्ष गर्दै मर्दैछु, तर जान म डराउँदिन ।”
यो शब्दमा राष्ट्रनिर्माताको साहस झल्किन्छ -मृत्यु पनि उनीसँग हार्न सकेन ।
महात्मा गान्धी
३० जनवरी १९४८, दिल्ली । गोली लाग्दा गान्धीजीको मुखबाट निस्केको अन्तिम स्वर थियो -“हे राम ।” उनी जसरी जीवनभर सत्य र अहिंसाको आह्वान गर्थे, त्यस्तै श्रद्धासहित उनले मृत्यु स्वीकारे ।
संगीत र कलाका स्वरहरू
बब मार्ली
संगीतका माध्यमबाट क्रान्तिको आवाज बनेका मार्लीको अन्तिम शब्द थियो -“पैसाले जीवन किन्न सकिँदैन ।”
त्यो वाक्य केवल उनका गीतहरूजस्तै गहिरो दर्शन थियो -धन होइन, आत्मा नै जीवनको असली मूल्य हो ।
लुडभिग भान बेथोभेन
संगीतका महागुरु, जो बहिरा भएर पनि संसारलाई संगीत दिए । मृत्युशैय्यामा उनले भने -“नाटक समाप्त भयो । तालियाँ ।”
मानौं जीवनलाई उनले रंगमञ्च ठाने र अन्तिम पर्दा झर्दा पनि श्रोतालाई अभिवादन गरे ।
क्रान्तिकारीहरूको अन्तिम चुनौती
जोन अफ आर्क
युवती, जसलाई “सन्त” भनियो । आगोको चितामा उभिँदै उनले भने -“क्रसलाई माथि उठाऊ, ताकि म यसलाई ज्वालामुखी बीच देख्न सकूँ ।”
आगले शरीर जलायो, तर उनको विश्वास अझै बलियो भयो ।
चे गेवारा
बोलिभियामा पक्राउ परेपछि, जल्लादले बन्दुक ताने । चेले शान्त स्वरमा भने -“गोली हान, कायर ! तिमी केवल एउटा मानिसलाई मार्दैछौ ।”
तर त्यो शब्दले प्रमाणित गर्यो -विचारलाई गोलीले मार्न सकिँदैन ।
जीवन र मृत्युको दार्शनिक विरासत
स्टीव जोब्स
आधुनिक प्रविधिको जादुगर । अन्तिम क्षणमा उनले तीनपटक भने -“ओह, वाह… ओह, वाह… ओह, वाह ।”
मानौं उनले मृत्युमा पनि कुनै अद्भुत सौन्दर्य देखेका थिए ।
चार्ली च्याप्लिन
हास्यका राजकुमार । उनले अन्तिम पलमा भने -“किन डराउनु ? मरेपछि जीवन अझै लामो हुन्छ ।”
उनको हास्य र दर्शन मृत्युको अन्धकारमा पनि उज्यालो दियो ।
निष्कर्ष
यी अन्तिम शब्दहरू केवल वाक्य होइनन्, तिनीहरू व्यक्तित्वका जीवित स्मारक हुन् । कसैले मृत्युमा पनि हाँसो बोके, कसैले श्रद्धा, कसैले विद्रोह र कसैले सौन्दर्य । तर सबैले प्रमाणित गरे -मानिसको अन्तिम शब्द उसले बाँचेको जीवनकै प्रतिबिम्ब हुन्छ ।


























