विनोद सापकोटा
झापा,
समाजसेवा, शिक्षा, साहित्य, पत्रकारिता र सांस्कृतिक सृजनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ स्थापना गरिएको रुद्र- गौरी, श्री- अम्बिका ओली प्रतिष्ठान केन्द्रीय समितिले नयाँ नेतृत्व चयनसँगै आफ्नो सामाजिक योगदानलाई अझ सुदृढ बनाउने संकल्प गरेको छ।
ढिलो गरी प्राप्त जानकारी अनुसार प्रतिष्ठानको केन्द्रीय अध्यक्षमा झापा भद्रपुरका गंगाप्रसाद ओली आगामी तीन वर्षका लागि पुनः सर्वसम्मत रूपमा चयन भएका छन्। उनी यसअघि पनि संस्थाको सफल नेतृत्व गरिसकेका थिए। झापाको बिर्तामोडमा सम्पन्न प्रतिष्ठानको १४औं वार्षिक साधारण सभा तथा पाँचौं राष्ट्रिय महाधिवेशनले एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
महाधिवेशनले अध्यक्ष ओलीको नेतृत्वमा उपाध्यक्षमा ऋतुराज भण्डारी, महासचिवमा तुलसीराम ओली, कोषाध्यक्षमा यज्ञराज ओली (गोपाल) र सचिवमा नारायण प्रसाद ओलीलाई निर्विरोध रूपमा चयन गरेको छ।
त्यस्तै सदस्यहरूमा उमेशचन्द्र ओली,हिरालाल आचार्य, लक्ष्मी आचार्य ओली, रेखा ओली उप्रेती, नरदमणि न्यौपाने र नरप्रसाद ओली (नवीन) सर्वसम्मत चयन भएका छन्।
रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै शिक्षा, कृषि, साहित्य, पत्रकारिता, बालबालिका र समाजसेवा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। संस्थाले वर्षेनी विभिन्न विधामा राष्ट्रिय पुरस्कारहरू वितरण गर्दै आएको छ । जसको उद्देश्य समाजका प्रेरणादायी व्यक्तित्व र संस्थाको योगदानलाई सम्मान र प्रोत्साहन गर्नु रहेको प्रतिष्ठानले जनाएको छ।
प्रत्येक वर्ष प्रदान गरिने रुद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार, अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता/साहित्य पुरस्कार, र देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारलाई प्रतिष्ठानका प्रमुख सम्मान मानिन्छ। यी सबै पुरस्कारहरूको राशी जनही १ लाख ११ हजार १११ रुपैयाँ रहेको छ। निजी क्षेत्रबाट प्रदान गरिने यो पुरस्कार सम्भवत सर्वाधिक पुरस्कार राशिको हो।
यो पुरस्कार कार्यक्रम अहिलेसम्म ११ औं पटकसम्म सम्पन्न भइसकेको छ । यो पुरस्कारले विभिन्न विधा र क्षेत्रका दर्जनौं व्यक्तित्वहरूलाई देशव्यापी सम्मान दिलाइसकेको प्रतिष्ठानले जनाएको छ।
प्रत्येक दुई वर्षमा प्रतिष्ठानले श्री प्रसाद ओली राष्ट्रिय अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार पनि वितरण गर्दै आएको छ । यसको पुरस्कार राशी ५ लाख रुपैयाँ छ। यो पुरस्कार समाज, स्वास्थ्य, शिक्षा वा अन्य क्षेत्रमार्फत राष्ट्रिय प्रतिष्ठा बढाउने व्यक्तिहरूलाई प्रदान गरिन्छ। यो प्रतिष्ठित पुरस्कार अहिलेसम्म हिमालय शमशेर राणा र डा. सन्दुक रोहितले प्राप्त गरिसकेका छन्।
प्रतिष्ठानले साहित्य र सृजनात्मक लेखनलाई पनि विशेष प्राथमिकता दिएको छ। भद्रपुरस्थित लेखनाथ पुस्तकालयमार्फत सञ्चालन हुने श्री प्रसाद ओली साहित्य पुरस्कारको पुरस्कार राशी ५१ हजार १११ रुपैयाँ रहेको छ। यो पुरस्कार नवौं पटक भारतको दार्जिलिङ निवासी साहित्यकार जस योन्जन प्यासीले प्राप्त गरेका थिए।
त्यस्तै, काठमाडौँस्थित ओली वंश अक्षय कोषमार्फत प्रदान गरिने श्री प्रसाद अम्बिका ओली स्मृति समाजसेवा पुरस्कारको नगद राशी ३५ हजार रुपैयाँ रहेको छ। यो पुरस्कार अहिलेसम्म ५ पटक प्रदान भइसकेको छ।
यो वर्षदेखि प्रतिष्ठानले नयाँ शीर्षकहरू थप गर्दै झापा जिल्ला स्तरीय नन्दी शेखर खरेल समाजसेवा पुरस्कार/सम्मान र तिलरुपा प्रसाई संगीत पुरस्कार पनि वितरण गर्न सुरु गरेको छ।
समाजसेवामा उल्लेखनीय योगदान पुर्याएका चिरञ्जीवी उप्रेतीलाई १५ हजार रुपैयाँ राशिको सम्मान गरिएको छ भने, संगीत क्षेत्रमा योगदान पुर्याएकी दमककी कमला खनाललाई तिलरुपा प्रसाई संगीत पुरस्कार प्रदान गरिएको छ।
रुद्र -गौरी, श्री अम्बिका ओली प्रतिष्ठानले विगतका वर्षहरूमा पुरस्कार र सम्मानमार्फत देशका प्रतिभाहरूलाई पहिचान दिलाउने मात्र होइन, सामाजिक एकता र प्रेरणाको भाव पनि जगाउँदै आएको छ। प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीका अनुसार संस्थाको मुख्य उद्देश्य समाजमा सकारात्मक सोच, सृजनशीलता र परोपकारको भावना फैलाउने हो।
उनका अनुसार, आगामी तीन वर्षमा प्रतिष्ठानले आफ्नो कार्यक्रमहरूलाई अझ संस्थागत र प्रभावकारी बनाउने योजनासहित शिक्षा, स्वास्थ्य र सामाजिक चेतना अभियान विस्तार गर्ने तयारी गरेको छ।
समाजसेवा र सृजनशीलतालाई एउटै धागोमा बाँध्दै, यो प्रतिष्ठान देशभरका व्यक्तित्वहरूका लागि “प्रेरणाको केन्द्र” बन्दै गएको छ।































