अबको लोकतान्त्रिक बाटो : सक्किनुको विकल्प सच्चिनु मात्रै

0
31

नेपाल आज एउटा असामान्य र निर्णायक मोडमा उभिएको छ । भर्खरै एउटा अकल्पनीय आँधिबेहरी आएर मुलुकलाई तहस–नहस पारेर थामिएको अवस्था छ । सन्त्रासका साइरनहरु अझै चिच्याइरहेछन् आँखामा । मुलुक घाइते भएको छ । जेन–जीको नाममा भएको विरोध प्रदर्शनमा गोली चल्दा कति निहत्था र निर्दोश युवाहरुले शाहदत प्राप्त गरे, कति अङ्गभङ्ग भए र कति घाइते भए, यो अत्यन्तै दुःखदायी र अप्रत्यासित घटना घट्यो मुलुकमा । हेर्दाहेर्दै दुई दिनमा देश दिशाविहीन बन्यो झन्डै ।

जेन–जीको नाममा गलत तत्वले मुलुकका ऐतिहासिक धरोहर र सम्पदा– सिंहदरबार, सर्वोच्च अदालत, सांसद भवन, देशै भरिका विभिन्न सरकारी तथा निजी भवन, व्यापारिक प्रतिष्ठान लगायत ठूलो संख्याका नीजि तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट समेत गरी विध्वंस मच्चायो । यही तत्वले नेता तथा सुरक्षाकर्मीहरु समेतलाई छोडेन । यो अत्यन्तै दुःखद् पक्ष हुँदाहुँदै पनि एउटा ज्वलन्त दृष्टान्त बन्न पुग्यो, राज्य सञ्चालनमा त्रुटी र अदुरदर्शी नेतृत्वका निमित्त ।

संघर्ष, आन्दोलन र बलिदानको लामो यात्राबाट हामीले प्राप्त गरेको लोकतन्त्र अहिले आफ्नै बोझले थिचिएको अवस्थामा छ । लोकतन्त्रको नाममा सत्ताका धेरै खेल भए, जसले जनतामा निराशा थोप¥यो । यो लोकतन्त्रको कमजोरी थिएन, यसलाई नेतृत्व गर्नेहरूको गलत रवैया, भ्रष्टचरित्र, स्वेच्छाचारिता र विवेकहीनताको परिणाम थियो ।

देशको विगत दुई दशकको इतिहास नियाल्दा, हामीले थुप्रै उपलब्धिहरू हासिल गरेका छौं– राजनीतिक स्वतन्त्रता, नागरिक अधिकार, समानतामूलक संविधान लगाायत । तर यो संविधान कागजमा मात्र प्रगतिशील देखियो, व्यवहारमा भने कमजोर नेतृत्वको कारण अधुरो र अपूर्ण रह्यो । संसद नेतृत्वको लागि पदको खेल मैदान बन्यो, सरकार दाउपेचले चल्न थाल्यो अनि नीति र योजना व्यक्तिगत लाभको आधारमा तयार हुन थाले । नेतृत्वमा न त समदृष्टि रह्यो न त निष्ठा ।

असक्षम, विवेकहीन, भ्रष्ट र पदलोलुप चरित्रले देशलाई यति हदसम्म थकित बनायो कि सामान्य नागरिक पनि नेतृत्वलाई ‘समस्या’को रूपमा हेर्न थाले । यस्तो अवस्थामा प्रश्न उठ्नु स्वभाविक थियो– के लोकतन्त्र सक्किएकै हो ? कि अब नयाँ विकल्प आवश्यक भएको हो ? तर, उत्तर पनि स्पष्ट थियो– लोकतन्त्र सक्किएको होइन, नेतृत्व नसच्चिएको हो ।

आज मुलुकमा देखिएको नैराश्यताको कारण व्यवस्था नभएर नेतृत्व हो भन्ने आम बुझाइ सत्य हो । जब नेतृत्व असक्षम हुन्छ र उनीहरुमा स्वेच्छाचारिता बढ्छ, त्यो बेला नागरिकमा निराशा व्याप्त हुनु र लोकतान्त्रिक संस्थाहरू कमजोर बन्नु स्वभाविक हो । जब शान्तिपूर्ण आवाजलाई थुन्न खोजिन्छ, युवाशक्तिलाई कम आँकलन गरिन्छ, त्यस्तो बेला गलत तत्व हावी हुन सक्छ भन्ने हेक्का नहुनु नेतृत्वको पूर्ण असक्षमता हो । यही अवस्था दृश्य भयोे नेपालमा भर्खरै ।

युवाहरूका प्रश्नलाई राज्यले उत्तर दिन खोजेन, बरु दमन ग¥यो । उनीहरूको सपनाको सुनुवाइ भएन, बरु उपहास भयो । शान्ति र सृजनाको मूलबाटो बन्द गर्न खोज्ने नेतृत्वको अलोकताान्त्रिक आचरणले मुलुकमा निराशा मात्र होइन, खतरनाक विकल्पहरूको दृश्य पनि देखायो । जुन कुरा इतिहासले प्रमाणित गरिसकेको थियो– जब जनता लोकतन्त्रबाट नै निराश हुन्छन्, त्यो बेला निरंकुशता वा तानाशाही जस्ता विनाशकारी बिकल्पहरुले शीर उठाउन खोज्छन् र उठाएका पनि हुन् ।

तर हामीले स्मरण गर्नैपर्छ– लोकतन्त्रभन्दा राम्रो व्यवस्था संसारले अहिलेसम्म प्रतिपादन गरेकै छैन । राजतन्त्र, अधिनायकवाद, साम्यवाद वा सैन्य शासन– सबैले अन्ततः स्वतन्त्रतालाई दबाएका छन् । लोकतन्त्र मात्र त्यस्तो व्यवस्था हो, जसले असहमति र विविधतालाई पनि सम्मान गर्छ । त्यसैले समस्या लोकतन्त्रको होइन, नेतृत्वको हो ।

नेपालको लोकतन्त्रमा पछिल्लो पटक नेतृत्वकारी पुस्ता आफ्नो ऐतिहासिक जिम्मेवारीमा असफल भएको स्वीकार्नै पर्छ । उमेर र योगदानको हिसाबले उनीहरू अनुभवी देखिए पनि विवेक र दृष्टिकोणमा परिपक्व देखिएनन् । दम्भी, पदलोभी, गुटबाज, अवसरवादी र भ्रष्ट मानसिकता बोकेको नेतृत्वले लोकतन्त्रलाई बारम्बार अपमानित गरेकै हो ।

अब देशले यो असफल नेतृत्वको बोझ धान्न सक्दैन । असक्षम र थकित नेतृत्वलाई ससम्मान बिदा गरेर उचित ठाउँमा राख्नु समयको माग हो । नयाँ नेतृत्वले मात्र मुलुकलाई नयाँ दिशामा लैजान सक्छ भन्ने जनविश्वासलाई फेरी पनि लोकतन्त्रकै आड र नाममा घात नगरियोस् ! यो लोकतन्त्र नेताहरूले मात्र ल्याएको होइन, जनताको संघर्ष, शहीदको रगत र बलिदानको नासो हो, हेक्का रहोस् !
नेतृत्व हस्तान्तरण भनेको केवल व्यक्तिमा पदको सरुवा हुनु मात्र होइन, यो नयाँ सोचप्रतिको विश्वास हो । पुरानो पुस्ताको त्याग र कमजोरीबाट पाठ सिक्दै नयाँ पुस्ताले नवीन विचार, निष्ठा र ऊर्जा लिएर अगाडि बढ्ने चुनौतिको स्वीकारोक्ति पनि हो । यो शून्यताको अवस्था होइन, पुनर्निर्माणको अवसर हो ।

अब देशमा सबै खाले नेतृत्व सक्षम युवाहरूमा हस्तान्तरण गर्नुको विकल्प छैन । जनरेशन–जी र मिलेनियल पुस्ता अर्थात् ३०–४५ उमेर समूहको जेन–वाइ अहिले विश्वभर परिवर्तनको अग्रपंक्तिमा छ । उनीहरूले प्रविधि, नवीनता र पारदर्शितालाई प्राथमिकता दिन्छन् । उनीहरू ग्लोबल भिजनसँग जोडिएका छन् । यिनले स्थानीय मूल्य र पहिचानलाई पनि महत्व दिन्छन् । नेपाली युवाहरूले पनि यही सम्भावना बोकेका छन् । शान्ति, सृजना र दृढ अठोटले परिवर्तन सम्भव हुनेमा विश्वस्त देखिन्छ यो पुस्ता, जसलाई बेवास्ता गर्नु भूल हो ।

युवालाई विश्वास गरेर नेतृत्व गर्ने अवसर र जिम्मेवारी हस्तान्तरण गर्नु आजको आवश्यकता हो । यदि हामीले अझै पुरानो बोझ बोकेर बस्ने हो भने देश अझै अन्धकारमा डुब्नेछ । लोकतन्त्रलाई जोगाउने स्पष्ट बाटो भनेको सच्चिने साहस, नेतृत्वको हस्तान्तरण र संस्थागत उत्तरदायित्व नै हो । नेतृत्वले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । भ्रष्टाचारलाई अन्त्य गर्ने, दण्डहीनता रोक्ने, पारदर्शिता कायम गर्ने र नागरिकलाई विश्वास दिलाउने काम अब गर्नैपर्छ । असक्षम पुरानो नेतृत्वलाई सम्मानका साथ विश्राम दिनुपर्छ । नयाँ पुस्तालाई अवसर दिनु, उनीहरूको विचारलाई सम्बोधन गर्नु अनि उनीहरूलाई राष्ट्रनिर्माणमा सहभागी गराउनु अति आवश्यक छ । लोकतन्त्र केवल नेताहरूमा मात्र निर्भर हुनुहुँदैन । स्वतन्त्र न्यायपालिका, निष्पक्ष सञ्चार र पारदर्शी प्रशासन लोकतन्त्रका आधार स्तम्भ हुन् । यी बलियो नभएसम्म लोकतन्त्रको आधार कमजोर रहन्छ ।

नेपालको वर्तमान संकटको निकास भनेको लोकतन्त्रलाई आत्मसात गर्ने संस्कारको विकास गर्नु, भ्रष्ट नेतृत्वलाई बदल्ने निर्णय गर्नु र सक्षम युवालाई जिम्मेवारी दिनु प्रमुख हुन् । नागरिकले पनि निरन्तर प्रश्न गर्ने र दबाब सिर्जना गर्ने भूमिका निभाउनुपर्छ । लोकतन्त्र केबल अधिकार होइन, जिम्मेवारी पनि हो । हामीले बुझ्नैपर्छ– सक्किनुको विकल्प सच्चिनु मात्र हो । पुरानो, थकित र असक्षम नेतृत्वलाई बोकेर हामी अघि बढ्न सक्दैनौं । सच्चिने मार्ग भनेको युवा पुस्ताको ऊर्जा र निष्ठामा भरोसा गर्नु हो । लोकतन्त्रलाई जोगाउने सही मार्ग भनेको नागरिकलाई निर्णय प्रक्रियाको केन्द्रमा राख्नु नै हो ।
नेपाल अझै पनि सम्भावनाले भरिएको देश हो । प्राकृतिक स्रोत, सुन्दर भौगोलिकता, सांस्कृतिक विविधता सबै हाम्रा सम्भावना हुन् । तर, यी सम्भावनालाई वास्तविकतामा बदल्ने भनेको नेतृत्वको गुणस्तर हो । यदि नेतृत्वमा युवा जोश र सोच, सक्षमता अनि दूरदृष्टि भयो भने हाम्रो नेपाल समृद्ध राष्ट्र बन्न सक्छ ।

अन्ततः लोकतन्त्रलाई जोगाउने र मुलुकलाई निकास दिने बाटो भन्नु सच्चिने साहस, पुरानो र असफल नेतृत्वलाई ससम्मान बिदाई र नयाँ पुस्ता प्रतिको विश्वास नै हुन् । यही बाटोमा अघि बढे मात्र हामी गन्तव्यमा पुग्न सक्छौं । लोकतन्त्र केवल प्रणाली होइन, जीवनशैली हो भनेर पुष्टि गर्न र यसलाई बलियो बनाउन हाम्रा पुरातन सोच–विचार, चिन्तन र व्यवहारमा आमूल परिवर्तन ल्याउनैपर्छ । राजनीतिमा युवा हुन उमेर मात्र होइन, अटल निष्ठा, अदम्य साहस र अविचल विचारको पनि प्रबल खाँचो हुन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here