स्वदेशी उत्पादन, आत्मनिर्भर नीति र जेन–जी आन्दोलन, आर्थिक पुनर्जागरण सम्भावना

0
32

नेपाल अहिले आर्थिक संक्रमणको संवेदनशील मोडमा उभिएको देश हो । दशकौंदेखि चल्दै आएको राजनीतिक अस्थिरता, रोजगारको सीमित अवसर, उत्पादनको कमजोर आधार र बढ्दो आयात–निर्भर उपभोग प्रवृत्तिले हाम्रो अर्थतन्त्रलाई गम्भीर चुनौती दिएको छ । महामारीपछि केही सुधारका संकेत देखिए पनि आर्थिक आधार बलियो बन्न सकेको छैन । रेमिट्यान्सले देशलाई तैराइरहेको छ, तर त्यो स्थायी समाधान होइन । वैदेशिक रोजगारीमा निर्भरता बढ्दै जाँदा देशभित्र उत्पादनशील क्षेत्रहरू मरिन थालेका छन्, युवा जनशक्ति विदेशिने क्रम रोकिएको छैन र स्वदेशमा लगानीको वातावरण पनि कमजोर बनेको छ ।

यस्तो अवस्थामा देशभर देखिएको चेतनाको एउटा नयाँ रूप–भर्खरको आन्दोलन–आर्थिक पुनर्जागरणको बाटोको रूपमा अगाडि आएको छ । भर्खरको आन्दोलन कुनै एक व्यक्ति वा समूहको राजनीतिक आन्दोलन होइन, यो स्वावलम्बन, आत्मनिर्भरता र स्थानीय उत्पादनप्रतिको चेतनाको अभिव्यक्ति हो । यस आन्दोलनले नेपाली समाजमा एउटा महŒवपूर्ण प्रश्न उठाएको छ– के हामी आफ्नो श्रम, स्रोत र सीपको सदुपयोग गरेर स्वदेशमै समृद्धि निर्माण गर्न सक्दैनौं ?

नेपालको वर्तमान आर्थिक ढाँचामा सेवा क्षेत्रको योगदान ६० प्रतिशतभन्दा बढी छ, तर उद्योग र कृषि दुबै घट्दो अवस्थामा छन् । कृषिमा आश्रित दुईतिहाइ जनसंख्या अझै पनि परम्परागत पद्धतिमा निर्भर छ । बजार अभाव, सिँचाइको कमी, प्रविधिको अभाव र सरकारी समर्थनको कमीका कारण किसान निरुत्साहित छन् । उद्योगहरू त झन् झर्ने क्रममा छन्, कर नीतिको अनिश्चितता, विद्युत् समस्या र प्रशोधन उद्योगको कमीले उत्पादनको श्रृंखला कमजोर बनाएको छ । यसैबीच, आयातले बजार भरिएको छ र घरेलु वस्तु प्रतिस्पर्धा गर्न असमर्थ छन् । भर्खरको आन्दोलनले यिनै समस्याहरूको विरोध गर्दै स्वदेशी उत्पादन र रोजगारीलाई आर्थिक मुक्ति र राष्ट्रिय गौरवसँग जोड्ने प्रयास गरेको छ । यस आन्दोलनको मूल सन्देश हो– स्थानीय उत्पादनलाई सम्मान देऊ, स्वदेशमै सीप र श्रम प्रयोग गर र विदेशी निर्भरता घटाऊ । यसले युवालाई देशमै केही गर्ने आत्मविश्वास जगाउने प्रयास गरेको छ ।

नेपालले दीर्घकालीन पुनर्निर्माणका लागि पहिलो काम उत्पादनमुखी अर्थतन्त्रतर्फ फर्किनु पर्छ । कृषि क्षेत्रमा प्रविधि, सिँचाइ र बजार पहुँचका साथ मूल्य श्रृंखला विकास गर्नु अत्यावश्यक छ । किसानलाई सहुलियत ऋण, बीमा र बजार मूल्यको ग्यारेन्टी दिन सकिएमा कृषिले फेरि अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ । कृषिमा युवालाई आकर्षित गर्न आधुनिक उपकरण, प्रविधि र व्यावसायिक तालिमको संयोजन गर्नुपर्छ ।

त्यस्तै, उद्योग क्षेत्रलाई पुनर्जीवित गर्नु अर्को अनिवार्य काम हो । साना उद्योगहरूलाई कर छुट, लगानी प्रोत्साहन र निर्यात सहुलियत दिन सके उद्योग पुनः चलायमान हुन सक्छन् । ग्रामीण क्षेत्रका घरेलु उद्योग र हस्तकलालाई प्रविधिसँग जोडेर ब्रान्डिङ गर्न सकिन्छ । अहिलेको पुस्ता डिजिटल बजारसँग जोडिएको छ, त्यसैले उत्पादनलाई अनलाइन प्लेटफर्म मार्फत विश्व बजारमा पु¥याउने नीति आवश्यक छ । पर्यटन पनि नेपाली अर्थतन्त्रको ठूलो सम्भावना हो । प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले नेपाललाई अनौठो गन्तव्य बनाएको छ । तर, पर्यटन अझै व्यवस्थित छैन । समुदाय–आधारित पर्यटन, ग्रामीण पर्यटन, स्वास्थ्य र साहसिक पर्यटनको विस्तारले गाउँ–शहरमा आर्थिक गतिविधि बढाउन सक्छ । यसका लागि पूर्वाधार, सुरक्षा र अन्तर्राष्ट्रिय प्रवद्र्धनमा लगानी गर्नुपर्छ ।

ऊर्जा र पूर्वाधारमा लगानी अर्को निर्णायक क्षेत्र हो । नेपाल जलविद्युत् सम्भावनामा धनी देश हो, तर यसले आफ्नो ऊर्जा क्षमता पूर्णरूपमा उपयोग गर्न सकेको छैन । यदि सस्तो र स्वच्छ ऊर्जा उत्पादन र निर्यातमा ध्यान दिइयो भने देशको विदेशी मुद्रा आम्दानीमा गुणात्मक सुधार आउन सक्छ । ऊर्जा आत्मनिर्भरता न केबल औद्योगिक विकासका लागि तर राष्ट्रिय स्वाधीनताको आधारका रूपमा पनि महत्वपूर्ण छ । तर, यी सबै प्रयास सुशासन बिना सम्भव छैन । राज्य संयन्त्रमा पारदर्शिता र जवाफदेहिताको संस्कृति विकास गर्नुपर्छ । भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक स्वार्थले विकासका स्रोतहरू नष्ट गरेका छन् । जनताको कर विकासमा प्रयोग नहुँदा असन्तोष बढेको छ । त्यसैले ई–शासन, डिजिटल लेखा प्रणाली र स्वचालित अनुगमन प्रणाली लागू गर्न आवश्यक छ । जसले सरकारी कामकाज पारदर्शी र विश्वासिलो बनाउनेछ ।

भर्खरको आन्दोलनले जनस्तरबाट उठाएको अर्को सन्देश हो– जनताको अर्थनीति चाहिन्छ । यो अर्थनीति नाफाभन्दा बढी सामाजिक मूल्यमा केन्द्रित हुन्छ । उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई समानरूपमा प्राथमिकता दिने नीति नै दीर्घकालीन समाधान हो । सहकारी प्रणालीलाई पुनर्संरचना गरेर किसान, महिला र युवालाई आर्थिक गतिविधिमा जोड्न सकिन्छ । शिक्षा प्रणाली पनि रोजगारीमूलक र सीप–केन्द्रित हुनुपर्छ । विद्यालय र विश्वविद्यालयले केबल प्रमाणपत्र होइन, व्यवहारिक सीप उत्पादन गर्ने प्रणालीमा रूपान्तरण हुनुपर्ने बेला आएको छ । राजश्व नीतिमा पनि मौलिक सुधार आवश्यक छ । उत्पादन र निर्यातमुखी क्षेत्रमा कर छुट र विलासितामुखी उपभोगमा उच्च कर लगाउन सकिए अर्थतन्त्र सन्तुलित बन्न सक्छ । सरकारको प्राथमिकता उत्पादन, अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्छ । यसले आन्तरिक उत्पादन बढाउँछ, आयात घटाउँछ र रोजगारी सिर्जना गर्छ ।

नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग पनि महत्वपूर्ण छ । तर, सहयोग आत्मनिर्भरताको बाटो रोक्ने होइन, सशक्त पार्ने हुनुपर्छ । भारत, चीन, दक्षिण एसियाली देश र विश्व समुदायसँग आर्थिक साझेदारीको नयाँ ढाँचा तयार गर्नुपर्छ । ज्ञान, प्रविधि र लगानीको आदानप्रदानबाट नेपालले आफ्नो उत्पादन क्षमतामा गुणात्मक सुधार ल्याउन सक्छ । जलवायु परिवर्तनसँग सम्बन्धित हरित लगानी र कार्बन व्यापारमा पनि नेपालको भूमिका विस्तार हुन सक्छ ।

अन्ततः नेपाली अर्थतन्त्र पुनर्निर्माण केबल आर्थिक नीति होइन– यो सोच र संस्कृतिको पुनर्जागरण हो । हामीले परनिर्भर सोच छोडी ‘स्वदेशमै सम्भावना छ’ भन्ने विश्वास जगाउनुपर्छ । भर्खरको आन्दोलनले दिएको यही सन्देश आजको आवश्यकता हो । आत्मनिर्भरता, पारदर्शिता र उत्पादनमुखी विकासमा आधारित अर्थनीति अपनाइएमा नेपालले आफ्नो आर्थिक स्वतन्त्रता पुनःस्थापित गर्न सक्छ । आजका युवा, प्रवासी नेपाली, किसान, उद्यमी र नीति–निर्माताले एउटै दिशामा सोच्न जरुरी छ– देशको श्रम र स्रोत विदेशमा होइन, स्वदेशमै लगाउनुपर्छ । जब उत्पादन, सीप र श्रमको सम्मान हुन्छ, तब मात्र राष्ट्र समृद्धि तर्फ बढ्छ । नेपालको भविष्यको बाटो यही हो– स्वावलम्बन, आत्मविश्वास र समतामूलक विकासको बाटो । भर्खरको आन्दोलन केवल विरोध होइन, चेतना हो– जुन भोलिको समृद्ध, स्वतन्त्र र आत्मनिर्भर नेपालको सपना बोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here