मानवीय सेवाको खाँचो

0
28

नयाँ पुस्ताको आन्दोलनका कारण उत्पन्न पीडा कम हुन नपाउँदै जलवायु परिवर्तनको कहरले थप पीडा दिएको छ । यस वर्षको पछिल्लो मनसुनजन्य विपद्का कारण सबैभन्दा धेरै मानवीय क्षति हुन पुग्यो भने दशौं हजार मानिस विस्थापित बनेका छन् । बाढीका कारण भएको अन्नबालीको क्षतिको विवरण अझै संकलन भइसकेको छैन । त्यसबाहेक भौतिक संरचनाहरुको क्षतिको अवस्था पनि उत्तिकै छ । कोशी प्रदेशको इलाम जिल्लामा मात्रै पछिल्लो घटनामा उनन्चालीस जनाको ज्यान गएको छ भने त्यसपछि दोस्रो बढी क्षति हुने झापा रहेको छ । इलामका सातवटा पालिकालाई संकटग्रस्त पालिका घोषणा गर्न प्रदेश सरकारले संघीय सरकारसँग अनुरोध गरेको छ ।

झापामा भएको क्षति तथा विस्थापनमा परेकाहरुलाई तत्काल राहत जुटाउन सरोकारवालाहरुको विशेष बैठकले झपाका छ सय अति प्रभावित परिवारलाई राहत वितरण गर्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय झापाको आयोजना तथा एकका लागि एक अभियानको संयोजनमा भएको बैठकमै क्षति प्रभावित छ सय परिवारका लागि राहत प्याकेट जुटेको थियो । त्यसकै आधारमा अति प्रभावित झापा गाउँपालिकाका छ सय छत्तीस परिवारलाई बुधबार राहत सामग्री वितरण गरिएको छ । प्रजिअ गोपालकुमार अधिकारीको उपस्थितिमा उक्त पालिकाका १ र २ नम्बर वडाका पीडित परिवारलाई राहत वितरण गरिएको हो ।

विपद्का समयमा आवश्यक सहयोग जुटाउन संगठीन अभियानको अगुवाईमा यसअघि कोभिड–१९ मा पनि विशेष अभियान सम्पन्न भएको थियो । अहिले मनसुनजन्य विपद्को घटनामा पनि झापामा मानवीय सहयोग गर्न सबै सहयोगी संघ–संस्था तथा व्यक्तिलाई आग्रह गरिएको छ । यस्तो मानवीय सेवाको कार्यमा नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना तथा सशस्त्र प्रहरी र संघीय सरकारको पूर्व तयारी र उद्धार कार्य उदाहरणीय रह्यो । विपद्को केन्द्रबिन्दु बनेको इलाममा मात्रै एक सयभन्दा बढी परिवार विस्थापित भएका छन् भने झापामा डुबानका कारण पाँच हजार परिवार विस्थापित बनेका छन् भने पन्ध्र सय परिवारलाई पुनस्र्थापना गर्नुपर्ने अवस्था छ । यस्तोमा मानवीय एवम् सामाजिक सेवाका लागि प्रेरीत गर्न स्वयम्सेवी तथा सामाजिक संघ–संस्था बढी जिम्मेवार बन्नुपर्छ । यसो भए पीडामा परेकाहरुको पीडामा मल्हम लगाउन सकिन्छ । यो नै मानव जीवनको सर्वोत्तम कार्य हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here