चिया क्षेत्रका समस्याबारे मन्त्री कुलमानको ध्यानाकर्षण

0
28

भद्रपुर।

झापाका चिया उद्योगीले मन्त्री कुलमान घिसिङसंग भेटघाट गरी चिया क्षेत्रका समस्या बारे ध्यानाकर्षण गराएको छ ।

नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात , सहरी विकास मन्त्री रहेका घिसिङसंग भद्रपुरस्थित एयरपोर्ट होटलमा भेटघाट भेटघाट गरी उद्योगीले समस्याहरुबारे अवगत गराएका हुन् ।

सरकारले दिने निर्यात प्रोत्साहन (इन्सेन्टिभ) रकमको निरन्तरता, चियामा मलखाद्को समयमै व्यवस्थापन, विद्युत महसुलमा अनुदान, चिया खेती भएका जग्गाको मालपोत छुट, चिया खेतीका जग्गा अन्य प्रयोजनमा पनि उपयोग गर्न पाउनुपर्ने लगायतका विषयमा मन्त्री घिसिङको ध्यानाकर्षण गराइएको थियो । चिया उद्योगमा प्रयोग हुने कोइलाको विकल्प लगायतका विषयमा समेत छलफल भएको थियो ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले चिया क्षेत्रका समस्या बारे अवगत गराएका थिए । त्यस क्रममा उद्योगी टीकाराज ढकाल र दीपेश ढकालले समेत उद्योगका समस्या बारे जानकारी गराउदै रुग्ण बनेको मोमेन्टो उद्योगका बारेमा पनि ध्यानाकर्षण गराएका थिए । मन्त्री घिसिङले यस्ता समस्याहरु बारे आफूले अध्ययन गरिरहेको र समाधानको पहल गर्ने बताए ।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाँईंले नेपाल सरकारले कानूनी झन्झट हटाइ आवश्यक पहल गर्ने हो भने कतार बाट पर्याप्त मल ल्याउन सकिने बताए । मन्त्री घिसिङले त्यसबारे पनि चासो राखे ।

चम्लागाँईं नेपाली व्यवसायी संघ कतारका समेत अध्यक्ष हुन् । त्यसक्रममा समाजका महासचिव चिरन खवास र सहकोषाध्यक्ष रबिन गिरी, झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, व्यवसायी प्रेम चम्लागाईं लगायतको सहभागिता थियो ।

चिया क्षेत्रका समस्या समाधानमा लामो समयदेखि संवाद समूहले सहजीकरणको काम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here