खोटाङका युवाले गत वर्षदेखि सञ्चालन गरेको ‘दशैं–तिहार चेली उपहार’ अभियानको सर्वत्र प्रशंसा हुन थालेको छ । यातायातका साधन तथा आर्थिक कारणले नेपालीहरुको महत्वपूर्ण चाड दशैं–तिहारमा घर र माइत जान नसक्ने चेलीहरुलाई निःशुल्क सेवा दिने उद्देश्यले शुरु गरिएको अभियानबाट पहिलोपटक गत वर्ष चार सय जनाभन्दा बढीले सेवा लिएका थिए । अभियानका संयोजक सञ्जयकुमार राईले स्वार्थ बिना मानवीय सेवाभावले अभियान सञ्चालन गरेको भन्दै चेलीबेटीलाई कर्म घरदेखि माइतीघर तथा माइतीदेखि कर्मघर पु¥याउन मोटरसाइकलमार्फत निःशुल्क सेवा दिइने बताएका छन् ।

जिल्लामा रहेर विविध क्षेत्रमा क्रियाशील युवाहरुको समूह बनाएर सञ्चालन गरेको अभियान गएको दशैंमा चार दिन सञ्चालन गरिएको थियो । मध्यपहाडी लोकमार्ग सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडक खण्ड तथा खोटाङ जिल्लाका सबै ग्रामीण सडकको पैंतीस किलोमिटरसम्म उपलब्ध गराइने सेवा सरकारी सेवा प्राप्त गर्नेहरुले भने लिन पाउने छैनन् । खासगरी महिलालाई लक्षित यस्तो सेवा बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई पनि प्राथमिकता दिइने तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । जिल्लाका अधिकांश सडक कच्ची भएकोले दुर्घटनाको जोखिमलाई ध्यान दिएर स्वयम्सेवाका लागि जिल्लाका दश वटै स्थानीय तहका युवाहरुले सहयोग गरेका छन् ।
जिल्लाका छैसठ्ठी मोटरसाइकल र शुभम् फाउण्डेशनको एउटा जीपमार्फत गएको दशैंमा बिगे्रका, कच्ची र अवरुद्ध सडकबाट सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा अभियान झनै प्रभावकारी हुनु स्वभाविक हो । आउँदो तिहारमा तीन दिनसम्म अभियान मार्फत करिब एक हजार चेलीहरुलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । युवाहरु अभियानमा सामेल हुन उत्सुकतापूर्वक नाम दर्ता गराइरहेकाले आउने तिहारमा धेरै चेलीहरु लाभान्वित हुने देखिएको छ । युवाहरुको मानवीय सेवा अझ चेलीहरुलाई केन्द्रमा राखिएको उदाहरणीय अभियानलाई त्यहाँस्थित सर्भिस सेन्टर लगायतका प्रतिष्ठानहरुले मर्मत, चालकहरुलाई खाजा, खाना र इन्धन सौजन्य गरेका छन् । त्यस बाहेक पनि व्यवसायी, उद्यमी र व्यक्तिको आर्थिक तथा भौतिक सहयोगले अभियान प्रशंसनीय बन्दै गएको छ । हेर्दा सानो भइकन पनि मानवीय संवेदनासँग जोडिएको यो अभियान उदाहरणीय र अनुकरणीय हुन सके हाम्रा पर्वहरुको गरिमा अझै बढ्ने निश्चित छ ।



























