झापा, दिपावली र छठपर्बलाई लक्षित गर्दै झापामा पटका जन्य सामग्री भित्रन थालेपछि प्रहरीले चेकजाँचलाई कडाई गरेको छ ।
जेनजी आन्दोलनपछि क्षतिग्रस्त बनेका भवन पुनः निर्माण र व्यवस्थापनमा जुटेको प्रहरीको आँखा छल्दै सीमावर्ती भारतीय बजारबाट पटकाजन्य सामग्री भित्रन थालेसंगै प्रहरीले निगरानी बढाएको हो । यसैक्रममा जिल्लाका विभिन्न स्थानबाट १० लाख बढीको पटकाजन्य सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रवहादुर खड्काले जानकारी दिए ।
डीएसपी खड्काका अनुसार गौरादह १ मा रहेको कृषि बजारबाट आज मात्रै ५० हजार मूल्य बरावरको पटका बरामद भएको छ ।
त्यस्तै भद्रपुर नगरपालिका ३ मेचीपारी सीमा इलाकामा ७ लाख ६६ हजार ८७६ रुपैयाँ बराबरको पटाका बरामद भएको हो ।
केही अपरिचित व्यक्तिहरुले टाउकोमा बोकेर पैदल ल्याउँदै गरेको बिभिन्न १९ किसिमका ७ बोरा आतिसबाजी (पटाका) सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाबाट खटिएको मोबाईल गस्ती टोलीले बरामद गरेको थियो । प्रहरीलाई देखेर पटाका ल्याउने व्यक्तिहरु सामान छाडेर भागेका थिए ।
आज दिउँसो स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र संचारकर्मीहरुको रोहवरमा गण परिसरभित्र ती पटाका नष्ट गरिएको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलले जानकारी दिएका छन् ।
त्यस्तै आज बिहान ७;३० बजे गौरीगञ्ज ४ हुक्कागाछीमा भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गरेको पटाका २० बन्डल (१००० प्याकेट) बरामद गरिएको छ ।
अन्दाजी ४० हजार बराबरको पटाका प्रहरी टोलीलाई देख्नासाथ सोही ठाउँमा छाडी मानिस फरार भएका थिए ।
बरामद पटाकाहरु इलाका प्रहरी कार्यालय गौरीगंजमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उता इलाका प्रहरी कार्यालय राजगढले समेत केही दिन अघि एक लाख मूल्य बरावरको पटका जन्य सामग्री पक्राउ गर्दै नष्ट गरेको छ भने इलाका प्रहरी कार्यालय कुमरखोदमा समेत एक लाख मूल्य बढीको पटका वरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।






























