विपीनको नियति नदोहोरियोस्

0
21

कञ्चनपुरका विपीन जोशी जीवितै स्वदेश फर्किने आशा निराशामा परिणत भएको छ । टीकापुर कृषि क्याम्पसबाट कृषि संकायबाट स्नातक गरेका जोशी इजरायलमा सिक्दै कमाउँदै कार्यक्रम मार्फत दुई वर्षअघि त्यहाँ पुगेका थिए । गएको एक महिना नपुग्दै हमासको कब्जामा परेका उनी इजरायल र हमासबीच भएको युद्धबिरामपछि स्वदेश फर्किन्छन् भन्ने आशा पलाएको थियो । उनीसँगै इजरायल गएका अन्य दश जना नेपाली विद्यार्थीको त्यहीबेला मृत्यु भएको थियो, तर विपीन जीवित रहेको सूचना र भिडियो प्रशारण भइरहेको थियो । अमेरिकाको पहलमा भएको युद्धविरामपछि विपीन फर्किने नेपालीको अपेक्षा थियो । तर, हमासले मुक्त गराउने भनेको जीवितको सूचीमा उनको नाम समावेश नभएपछि अनेक आशंका उब्जिएको थियो ।

यद्यपि विपीन जीवित छन् भन्ने आशा मरेको छैन, किनकि उनको भनिएको शवको डीएनए परीक्षण हुन बाँकी छ । तर, इजरायल सैन्य स्रोत तथा त्यहाँस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन् । सोमबार बिहान हमासले सबै जीवित युद्धबन्दी फिर्ता गरिसकेको छ र उसको कब्जामा जीवित युद्धबन्दी रहेको हमासलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । नेपाल सरकारले विपीनको रिहाइका लागि यथासम्भव प्रयास गरेको दाबी गरेको छ, तर नेपाली जनताले भने सरकारको कुटनीतिक क्षमता नै नभएको प्रतिक्रिया जनाउने गरेका थिए । यस्तोमा विपीनको शव भनेर फिर्ता गरिनु र पटक–पटक भ्रमपूर्ण सूचनाहरु सार्वजनिक हुनुले सरकारको कुटनीतिक क्षमता माथिको आशंका गर्ने ठाउँ बनेको छ ।

सरकारले विपीनको रिहाईको पहल गरिरहेको भनेको बेला पीडितकै आमा र बहिनीले नेपाल सरकार हुँदै इजरायल सरकारलाई समेत प्रत्यक्ष भेटघाट गरी उनको रिहाईको माग गरेका थिए । अहिले नै पनि उनकी आमा र बहिनी त्यही पहलका लागि अमेरिका छन् । कुटनीतिक दवाबका लागि अमेरिका पुगेका उनीहरु डीएनएको प्रतिवेदन पछि मात्रै घर फिर्ता हुनेछन् । यस्तोमा सम्पूर्ण नेपालीलाई आफ्ना सन्तान विदेशमा कसरी सुरक्षित होलान् चिन्ता लाग्नु स्वभाविक हो । जबसम्म आफ्नै देशमा सिक्दै गर्दै गर्ने शिक्षा प्रणालीको निर्माण हुँदैन, जबसम्म सिप र दक्षता प्राप्त गर्दै रोजगार हुने वातावरण तयार हुँदैन तबसम्म नेपालको यो नियतिको अन्त्य हुँदैन । तसर्थ, विपीन जोशी प्रकरणबाट नेपालका दल र खासगरी सरकारमा रहनेले युवा पलायनको बाध्यताको अन्त्य गर्ने तर्फ गम्भीर हुनुपर्छ ताकि फेरि अरु नेपालीको यस्तो अन्त्य नहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here