तिल्केनी–सिमलगोलाई सडक सञ्चालनमा

0
28

फिक्कल (इलाम),

मेची राजमार्गको विकल्पका रुपमा तिल्केनी–सिमलगोलाई सडकखण्ड सञ्चालनमा आएको छ ।

सो सडकखण्ड अन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरेसँगै यो सडक सञ्चालनमा आएको हो ।

उक्त सडकमार्फत साना सवारीसाधन सञ्चालन सुरु भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताउनुभयो । “ह्युमपाइप र हाइड्रो पावरको टेलरेस्ट विच्छ्याएर जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरिएको छ,” उहाँले भन्नुभयो, “आज साँझदेखि साना सवारीसाधन परीक्षणका रुपमा सञ्चालन गरिएको छ ।” उहाँका अनुसार जोगमाई खोलामा १० वटा ह्युमपाइप र हाइड्रो पावरको टेलरेस्ट तीन टुक्रा खोलामा विच्छ्याएर पानी कटाइएको छ ।

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी– सिमलगोलाई सडकखण्ड छनोट गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । त्यहाँको जोगमाई खोलाको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएपछि अस्थायी डाइभर्सन निर्माण गरिएको हो ।

१२औँ दिनमा वैकल्पिक सडक सञ्चालन गर्न गरिएपछि इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा झर्ने यात्रु र यातायात व्यवसायीलाई सहज भएको छ । इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने १२ किलोमिटरको यो वैकल्पिक सडक तत्कालका लागि प्रमुख विकल्प मानिएको हो । ठूला तथा मालबाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रजिअ नेपालले बताउनुभयो । तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उहाँको भनाइ छ ।

वर्षासँगै आएको पहिरो झरेपछि विगत १२ दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here