अर्जुनधारा, झापाको अर्जुनधारा नगरपालिका–१ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको २६औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
समहूको प्राङ्गणमा समूहका अध्यक्ष देउनारायण राईका अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिका १नं. वडाका वडाध्यक्ष उपेन्द्र बस्नेतले उद्घाटन गरेका थिए ।

कार्यक्रममा समूहका अध्यक्ष राईले संस्थाको गत आर्थिक वर्ष २०८१/२०८२को वार्षिक प्रगति प्रतिवेदन, सचिव ओम तोलाङ्गीले म.ले.प. प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा समूहअन्र्तगत रहेको कनकाई सब डिभिजन वन कार्यालयको सहयोगमा दुई हजार वटा बिरुवा वृक्षारोपण, कालिखोला पर्यापर्यटन क्षेत्रमा मौलिक घर र टिकटक घर निर्माण, वनभोजस्थलमा शौचालय निर्माण, कोसेली घर निर्माण, परम्परागत तरिकाले खेतीपाती गर्ने कृषकहरुलाई कृषि औजार वितरण, समूहअन्र्तगतको ब्लक नं. ५मा अर्जुनधारा नगरपालिकाको सहयोगमा १५ सय मिटर फायरलाइन बाटो निर्माणलगायत उल्लेख गरिएको छ ।
त्यसैगरी कार्यक्रममा संस्थाले चालु आर्थिक वर्ष २०८२/०८३को लागि अनुमानित दुई करोड ८१ लाख ६९ हजार चार सय ३९ रुपैयाँ ४९ पैसा बराबरको वार्षिक कार्यक्रम प्रस्तुत गरिएको थियो । जसअनुसार गरिबी न्यूनिकरण, महिला सशक्तिकरण, उद्यम विकास र पर्यटन विकासतर्फ एक करोड पाँच लाख ६३ हजार पाँच सय ३९ रुपैयाँ ८१ पैसा, वन विकासतर्फ ७० लाख ४२ हजार तीन सय ५९ रुपैयाँ ८७ पैसा, प्रशासनिक खर्चतर्फ ५२ लाख ८१ हजार सात सय ६९ रुपैयाँ ९० पैसा, सामाजिक विकास र भौतिक विकासतर्फ ३१ लाख ६९ हजार ६१ रुपैयाँ ९४ पैसा र स्थानीय कर २१ लाख १२ हजार सात सय सात रुपैयाँ ९६ पैसा विनियोजन गरिएको छ ।

कार्यक्रममा कनकाई सब डिभिजन वन कार्यालयका प्रमुख महेन्द्र पौडेल, नेपाली काँग्रेस वडाका सभापति मदन ढकाल, नेकपा एमाले वडाका अध्यक्ष माधव आचार्य, नेकपा (माओवादी केन्द्र) वडका अध्यक्ष वीजेन्द्रकुमार एक्तेन, राष्ट्रिय प्रजातन्त्र पार्टी वडाका अध्यक्ष गोविन्द त्रिखत्री, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अम्बरबहादुर राई, सर्वेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चक्रप्रसाद तामाङ, भीमले आधारभूत विद्यालयका प्रधानाध्यापक डम्बर प्याकुरेललगायतले मन्तव्य राखेका थिए । समूहका उपाध्यक्ष बुद्धकला ढकाल फूँयेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव तोलाङ्गीले गरेका थिए ।






























