अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–२स्थित खुदुनाबारीमा जारी एसवाईएस प्रथम खुला नकआउट फुटबल प्रतियोगिता–२०८२को क्वाटरफाइनलमा खुदुनाबारी फुटबल क्लब(अर्जुनधारा नगरपालिका) र सातकटेरी फुटबल क्लब(अर्जुनधारा नगरपालिका) पुग्न सफल भएको छ ।
प्रतियोगिता अन्र्तगत स्थानीय २ नं. वडा खेलमैदानमा बिहीबार सम्पन्न भएको पहिलो खेलमा सालबारी फुटबल क्बल(अर्जुनधारा नगरपालिका)लाई ३–० गोल अन्तरले पराजित गर्दै खुदुनाबारी क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।
खुदुनाबारीको जीतका लागि खेलको १८औं र ४०औं मिनेटमा रमेश क्षेत्रीले गोल गरेका थिए । त्यसैगरी खेलको ३७औं मिनेटमा चेतन घतानीले थप एक गोल गरेका थिए । खेलका उत्कृष्ट खेलाडी घोषित विजेता टिमका रमेश क्षेत्रीलाई आयोजक सचेत युवा समूहका अध्यक्ष राजेन्द्रकुमार साँवा, दाता बिनीता थापालगायतले नगद पुरस्कार एक हजारसहित ट्रफी प्रदान गरेका थिए । उक्त नगद पुरस्कार जीवन लिङदेनले सौजन्य गरेका थिए ।

त्यसैगरी सोही दिन सम्पन्न दोस्रो खेलमा थोप्ले बिरान फुटबल क्लब (मेचीनगर नगरपालिका)लाई २–० गोल अन्तरले पराजित गर्दै सातकटेरी फुटबल क्लब क्वाटरफाइनल पुग्न सफल भएको हो ।
सातकटेरीको जीतका लागि खेलको २८औं र २९औं मिनेटमा क्रमश विजय राई र मनोज राईले गोल गरेका थिए । खेलका उत्कृष्ट खेलाडी घोषित विजय राईलाई दाता बिनीता थापालगायतले नगद पुरस्कार एक हजारसहित ट्रफी प्रदान गरेका थिए । उक्त नगद पुरस्कार स्थानीय भेषराज राईले सौजन्य गरेका थिए ।
प्रतियोगिता अन्र्तगत भोली(शुक्रबार)को पहिलो खेल विहान १२ बजे नमूना युवा क्लब(माई नगरपालिका) र होक्से युवा फुटबल क्लब(बुद्धशान्ति गाँउपालिका) तथा दोस्रो खेल दिँउसो २ बजे सीएम क्लब सेतीपानी(अर्जुनधारा नगरपालिका) र ब्रदर्स युनाइटेड फुटबल क्लब(भद्रपुर नगरपालिका)बीच हुने आयोजक सचेत युवा समूहका सल्लाहकार मुकुन्द भण्डारीले जानकारी दिए ।
यता इलामको माई नगरपालिका–५स्थित वसन्त सामुदायिक वन उपभोक्ता समूहले स्थानीय २ नं. वडा खेलमैदानमा गोलपोष्ट निर्माणका लागि आवश्यक जीआई पाइप उपलब्ध गराउने भएको छ । समूहका अध्यक्ष दीपेन्द्र राईलाई उद्धरित गर्दै आयोजक समूहका सल्लाहकार भण्डारीले सो जानकारी दिएका हुन् ।


























