नेल्टा झापाद्वारा नयाँ सदस्यालाई स्वागत

0
81

बिर्तामोड ।

नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) झापाले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा नयाँ सदस्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सामूहिक देउसी–भौलो समेत खेलिएको थियो । जिल्लाभरका अङ्ग्रेजी शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा अध्यक्ष पराजुलीले नेपालीहरुको हरेक चाडपर्वले भाइचरा र एकतालाई अझ प्रगाढ बनाउने गरेको उल्लेख गरे ।

कार्यक्रममा नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई, बुद्धशान्ति गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमल निरौला, बिर्तामोड नगर शिक्षा अधिकृत जानुका काफ्ले, इस्ट होराइजन बोर्डिङ स्कुल धुलाबारीका प्रिन्सिपल सञ्जीव राई, इडेन गार्डन फाउन्डेसनका प्रिन्सिपल मोहन आचार्य र इक्यान झापाका अध्यक्ष रोशन सुवेदी लगायतका शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

नेल्टाले झापामा अङ्ग्रेजी शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै, आगामी दिनमा शिक्षकहरूको पेशागत विकास र सहकार्यका कार्यक्रमलाई अझ सशक्त रूपमा अघि बढाउन कार्यक्रममा सहभागीहरुले सुझाव दिएका थिए।

यसै अवसरमा यो वर्ष नेल्टा झापामा १५ जना अङ्ग्रेजी शिक्षकहरूले आजीवन सदस्यता प्राप्त गरेका छन्। उनीहरूलाई खादा र अविर लगाई सम्मानपूर्वक स्वागत गरिएको थियो। कार्यक्रमका नेल्टा झापाका निर्वतमान अध्यक्ष धर्मेन्द्र भट्टराईले नयाँ सदस्यहरूलाई स्वागत गर्दै, नेल्टाको उद्देश्य, दायित्व र सदस्यहरूको भूमिकाबारे विस्तृत जानकारी दिएका थिए ।

कार्यक्रमका क्रममा नेल्टा झापाका सचिव केशव उप्रेतीले मलेसियामा सम्पन्न भएको ३३औँ मेल्टा अन्तर्राष्ट्रिय सम्मेलनका विषयमा जानकारी दिएका थिए । नेल्टा झापा विगत लामो समयदेखि अङ्ग्रेजी शिक्षकहरूको पेशागत सशक्तीकरण, तालिम, सेमिनार र शैक्षिक सामग्री विकासजस्ता गतिविधि सञ्चालन गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here