विनोद सापकोटा
शिवसताक्षी ।

शिवशताक्षी नगरपालिका–८, झिलझिलेस्थित झिलझिले माध्यमिक विद्यालयले “गुणस्तर र पूर्वाधार — समृद्ध शिक्षाको पहिचान” भन्ने मूल नाराका साथ शैक्षिक गुणस्तर सुधार अभियान सुरु गरेको छ। विद्यालय व्यवस्थापन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा शिक्षक, अभिभावक र समुदायका प्रतिनिधिहरूले विद्यालय सुधारका लागि हातेमालो गर्ने प्रतिवद्धता जनाएका छन्।
विद्यालयका अभिभावकहरूले कार्यक्रममा विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि सहयोग गर्ने मात्र होइन, शिक्षण–सिकाइको वातावरण सुदृढ गर्न पनि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए। उनीहरूको भनाइ थियो — ‘पूर्वाधार निर्माणले मात्र शैक्षिक गुणस्तर सुधार हुँदैन, विद्यार्थी सिक्ने र शिक्षक सिकाउने वातावरण बनाउनुपर्छ।’
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम ढुङ्गानाले शैक्षिक गुणस्तर सुधारका लागि १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे। उनले भने, ‘हामीले दिएको सहयोगले विद्यार्थीको भविष्य उज्यालो बनोस्, गुणस्तर सुधार होस्, हाम्रो चाहना यति हो।’
त्यसैगरी स्थानीय व्यवसायी मोहन प्रसाद मैनालीले पनि १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे। उनका अनुसार यो सहयोग आफ्ना दिवंगत पितृहरूको सम्झनामा स्थापना गर्न लागेको अक्षय कोषमा प्रयोग गरिनेछ। अक्षय कोषमा जम्मा भएको रकमबाट प्राप्त ब्याजले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी विद्यालय आउन प्रोत्साहन गरिनेछ।
समितिका सदस्य दीपक कुमार न्यौपानेले पनि १ लाख १ हजार रुपैयाँ विद्यालयलाई दिने घोषणा गरे। उनले यसअघि पनि आफ्ना दिवंगत बाबुआमाको स्मृतिमा विद्यालयमा अक्षय कोष स्थापना गरिसकेका छन्।
छिमेकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उदय प्रकाश राई र उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले पनि समान १ लाख १ हजार रकम सहयोग गर्ने प्रतिबद्धता जनाए। सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालयका पूर्व प्रिन्सिपल सानबहादुर राईले पनि विद्यालयको शैक्षिक सुधार अभियानमा १ लाख १ हजार सहयोग गर्ने घोषणा गरे।
कार्यक्रममा सहभागी भएका स्थानीय मोहन कडरियाले भने, ‘हामी विद्यालय सुधारका लागि अक्षय कोष स्थापना गर्न तयार छौं। रकम १ लाखभन्दा बढी हुनेछ, सम्भवत यस विद्यालयकै इतिहासमा सबैभन्दा ठूलो कोष स्थापना हुनेछ।’
सोही विद्यालयका अभिभावक गणेश श्रेष्ठले तत्काल २५ हजार रुपैयाँ सहयोग गर्ने र पछि थप रकम सहयोग गर्ने प्रतिबद्धता जनाए। यसैगरी, विद्यालयका भूतपूर्व विद्यार्थीहरूले विद्याकी देवी सरस्वतीको मन्दिर निर्माण गर्ने घोषणा गरे। तदर्थ समितिका संयोजक मोहन राई र सदस्य झमकबहादुर गौतमले चाडपर्व सकिएलगत्तै मन्दिर निर्माण सुरु हुने जानकारी दिए।
प्रधानाध्यापक खेम निरौलाका अनुसार विद्यालयले पछिल्ला वर्षहरूमा उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गरेको छ। २०८१ सालको एसईई र माध्यमिक तहको परीक्षामा विद्यालयले उत्कृष्ट नतिजा ल्याएको उनको भनाइ छ। उनले भने, ‘अबको लक्ष्य गुणस्तरमा सुधार ल्याउने हो। शिक्षकले जिम्मेवारीपूर्वक सिकाउने, विद्यार्थीले लगनशीलतापूर्वक पढ्ने र अभिभावकले निरन्तर सहयोग गर्ने वातावरण बने विद्यालय अझै उत्कृष्ट बन्न सक्छ।’
प्रधानाध्यापक निरौलाले शिक्षकहरूलाई कक्षाकोठामा सिकाइ सहजीकरणमा सक्रिय हुन, विद्यार्थीहरूलाई अनुशासन, लगनशीलता र सकारात्मक सोचसहित अध्ययनमा ध्यान दिन, र अभिभावकहरूलाई विद्यालयका गतिविधिमा निरन्तर सहभागिता जनाउन आग्रह गरे। उनले भने, ‘विद्यालयको सफलताका तीन आधार हुन् – ‘जिम्मेवार शिक्षक, लगनशील विद्यार्थी र सहकार्यशील अभिभावक।’
यसअघि विद्यालय व्यवस्थापन समितिको प्रयासमा तीन वर्षभित्र विद्यालयको भौतिक संरचना उल्लेखनीय रूपमा सुधारिएको अभिभावकहरूको भनाइ छ। विद्यालयमा कक्षाकोठा, प्रयोगशाला, मैदान र शैक्षिक उपकरणहरूको व्यवस्था गरिएको छ। अभिभावकहरूका अनुसार अबको प्राथमिकता गुणस्तरीय सिकाइ सुनिश्चित गर्ने हो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो। समितिका सदस्य दीपक कुमार न्यौपानेले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण प्रधानाध्यापक खेम निरौलाले गरेका थिए।
कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष, स्थानीय समाजसेवी, शिक्षक अभिभावक सङ्घका प्रतिनिधि र विद्यालय सहयोग समिति सदस्यहरूको उल्लेखनीय सहभागिता थियो।
कार्यक्रममा सहभागी दाताहरूले कुल ६ लाख २६ हजार रुपैयाँ बराबरको सहयोग रकम विद्यालय सुधार अभियानका लागि कबोल गरेका थिए।
विद्यालयले अघि सारेको ‘गुणस्तर र पूर्वाधार – समृद्ध शिक्षाको पहिचान’ अभियान अब सामुदायिक शिक्षा सुधारको साझा आन्दोलनको रूपमा अघि बढ्ने संकेत अभिभावकहरूले देखेका छन्।































