अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–२स्थित खुदुनाबारीमा जारी एसवाईएस प्रथम खुला नकआउट फुटबल प्रतियोगिता–२०८२को उपाधि ब्रदर्स युनाईटेड फुटबल क्लब(भद्रपुर नगरपालिका)ले जितेको छ ।
प्रतियोगिता अन्र्तगत स्थानीय २ नं. वडा खेलमैदानमा सोमबार सम्पन्न भएको फाइनलमा खुदुनाबारी फुटबल क्लब(अर्जुनधारा नगरपालिका)लाई २–१ गोल अन्तरले पराजित गर्दै ब्रदर युनाईटेडले उपाधि जितेको हो ।
ब्रदर्स युनाईटेडको जितको लागि खेलको २९औं र ५१औं मिनेटमा क्रमश शक्ति राई र रोमन भूजेलले गोल गरेका थिए । गोलकर्ता भूजेलले खेलमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । त्यसैगरी खुदुनाबारीको लागि खेलको २५औं मिनेटमा राजेश दाहालले गोल गरेका थिए ।

प्रतियोगिताको विजेता र उपविजेता हुने टिमले नगद पुरस्कार क्रमश ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । विजेताको नगद पुरस्कार अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन तामाङ र उपविजेताको नगद पुरस्कार स्थानीय शान्ति सामुदायिक वन उपभोक्ता समूहले सौजन्य गरेका थिए ।
त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी राजेश दाहाल(खुदुनाबारी एफसी), फाइनल खेलको उत्कृष्ट खेलाडी शक्ति राई(ब्रदर्स युनाईटेड एफसी), उत्कृष्ट गोलरक्षक अमस टुडु (ब्रदर्स युनाईटेड एफसी), उत्कृष्ट रक्षक अभिषेक गुरुङ(खुदुनाबारी एफसी), सर्वाधिक गोलकर्ता सरोज कार्की(ब्रदर्स युनाईटेड एफसी) र उदीयमान खेलाडी(सचेत युवा समूह) घोषित भएका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद पुरस्कार तीन हजार पाँच सय र अन्य विधाका उत्कृष्ट हुने खेलाडीहरुले जनही नगद पुरस्कार दुई हजार पाँच सयसहित ट्रफी प्राप्त गरेका थिए ।

आयोजक सचेत युवा समूहका अध्यक्ष राजेन्द्रकुमार साँवा “राजा”को अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा खेलमैदानको लागि जमिन प्रदान गर्ने जग्गादाताहरु जंगबहादुर राई, हरिबहादुर श्रेष्ठ(मरणोपरान्त) र हरिनारायण प्याकुरेल, खेलमैदान निर्माणमा विशेष योगदान पु¥याउने स्थानीय इन्द्रबहादुर रम्तेल “साँइला”, खेलमैदानमा निःशुल्क धारा निर्माण गरिदिने दाता टीकामाया राई, अर्जुनधारा नगरपालिका, नगरपालिकाका प्रमुख तामाङ, अर्जुनधारा–२ नं. वडा कार्यालय, शान्ति सामुदायिक वन उपभोक्ता समूहलगायतलाई सम्मानित गरिएको थियो ।
त्यसैगरी सोही दिन सम्पन्न ब्रदर्स युनाईटेड भेट्रान्स र खुदुनाबारी भेट्रान्सबीच भएको सो म्याचमा २–१ गोल अन्तरले खुदुनाबारी भेट्रान्स विजयी भएको छ । जितसँगै खुदुनाबारी भेट्रान्सले नगद पुरस्कार १० हजार एक सय प्राप्त गरेका थिए ।
प्रतियोगिता समापन कार्यक्रमको सञ्चालन समूहका सचिव शिव भट्टराई र सञ्चारकर्मी रञ्जिता खड्काले संयुक्तरुपमा गरेका थिए ।

























