अर्जुनधारा ।

पूर्वाञ्चलकर्मी एवम् नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य अमित खम्बू सम्मानित भएका छन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्तीको अवसरमा झापाको अर्जुनधारा नगरपालिका–८ स्थित ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजको आयोजनामा शनिश्चरे बजारस्थित देवकोटा पार्कको प्राङ्गणमा मंगलबार आयोजित कार्यक्रममा पूर्वाञ्चलकर्मी खम्बू सम्मानित भएका हुन् ।
समाजका अध्यक्ष शेखरनाथ अधिकारीको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पत्रकारिता क्षेत्रको माध्यमबाट समाजमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान पत्र, नगद पुरस्कार पाँच हजार, दोसल्ला र ढाकाको टोपी ओढाई उनलाई सम्मानित गरिएको हो । यस अघि सोही सम्मानबाट अग्रज पत्रकार दिपीन राई, इन्द्रकुमार राई र कमल पाण्डे “बिनोद” सम्मानित भएका छन् ।

त्यसैगरी साहित्यतर्फ कुमार भट्टराई र अभिनय एवम् कलातर्फ कलाकार एलिना थपलियालाई सम्मान पत्र, नगद पुरस्कार जनही पाँच हजार, दोसल्ला र ढाकाको टोपी ओढाई सम्मानित गरिएको थियो । कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिचर्चा लक्ष्मीप्रसाद रिजालले, सम्मानित व्यक्तित्वहरु पत्रकार खम्बूको व्यक्ति परिचय हरि काफ्ले, साहित्यकार भट्टराईको व्यक्ति परिचय हस्त परियार र कलाकार थपलियाको व्यक्ति परिचय गोविन्द तिम्सिनाले प्रस्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रममा साहित्यकारहरु दीपक ढुंगाना, पदमबहादुर निरौला, विद्या रिजाल, लोकनाथ पौडेल, सिन्धु निरौला, हेमराज सापकोटालगायतले कविता एवम् गजल प्रस्तुत गरेका थिए । त्यसैगरी कलाकारहरु आलिया अधिकारी, आलोक तिम्सिना, अंकित विष्ट, गुञ्जन दाहाल, दिया अधिकारी, यमुना तिवारी, रिग्नेस सापकोट, हरि काफ्ले, हस्त परियारलगायतले गीत प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा देउसीभैलो कार्यक्रम पनि सञ्चालन गरिएको आयोजक समाजका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समाजका उपाध्यक्ष नरेन्द्र तिम्सिनाले स्वागत मन्तव्य र कलाकार प्रसून गुरागाईंले स्वागत गीत प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव पौडेलले गरेका थिए ।





























