सीमावर्ती मेचीसहित झापाका नदी तथा खोला किनार सिँगारिँयो, सुरक्षाका लागि सेना पनि खटाइने

0
27

पार्थ मण्डल, झापा ।

आज आस्था र श्रद्धाको छठ पर्वको मुख्य दिन । आज बेलुका अस्ताउँदो र भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने छठ पर्वको लागि नेपाल–भारत सीमावर्ती मेची नदीसहित झापा जिल्लाका विभिन्न नदी तथा खोला किनारहरू सिँगारिएको छ । जिल्लाका मेचीसहित बिरीङ, मावा, कमल, कनकाई, माई, निन्दा, हडिया, अदुवा, देउनियाँ लगायतका नदी नतथा खोला किनारहरू नयाँ बेहुलीझैँ सिँगारिएको छ ।

झापा जिल्लाकै सबैभन्दा फराकिलो र लामबद्ध छठ पर्व मनाइने मेची नदी किनारमा नेपाल र भारत दुवै देशका व्रतालु परिवार एउटै संगम स्थल बनाएर छठ मनाउँदै आइरहेको मैथिल समाज भद्रपुरका सचिव सुशील कर्णले बताए ।

पूजा स्थलमा पण्डाल, केराको बोट, विभिन्न प्रकार रङ्गीचङ्गी फुलसहित झिलिमिली बत्ती लगाएर सजावट गरिने काम आज दिउँसोसम्म सकिने उनको भनाई छ । भद्रपुर ५ स्थित मेची नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरसम्म अन्दाजी ५ हजार घाट निर्माण गरिएको छ । मसानघाट पूर्व नदी किनारमा भारतीय नागरिकले पूजा स्थल बनाएका छन् ।

उता देवीबस्ती क्षेत्रमा घाट व्यवस्थापन कार्यलाई तिहार अघि देखि नै तीव्रता दिएको युनिक समूहका अध्यक्ष प्रकाश राजवंशीले बताए । समूहले दुई हजार फुट भन्दा बढी घाट निर्माण गरेको छ ।
समूहले सो बापत व्रतालु परिवारसँग ५ फुट घाटको ५ सयदेखि ८ सय रुपैयाँसम्म लिने र गरिब तथा विपन्न परिवारका लागि आवश्यकता अनुसार घाट निःशुल्क उपलब्ध गराइने अध्यक्ष राजवंशीले बताए ।

बिजुली बत्तीका लागि १० वटा टावर, पण्डाल, प्रहरी बिट, चिया स्टल, सूर्य नारायण मन्दिर रंगरोगन, भजन सन्ध्याको आयोजना गरिएको उनको भनाई छ । उता बिरिङ खोलामा छठ पूजाको भव्य तयारी गरिएको छ । श्री छठ समाज सेवा समिति बिर्तामोडले बिरिङ खोलामा छठ पूजाको तयारी पुरा भइसकेको बताउँदै यस वर्ष १७५ वटा घाट रहने जनाएको छ । गत वर्ष १५४ वटा घाट रहेका थिए । व्रतालुहरूको सङ्ख्या थपिएपछि यस वर्ष २१ वटा घाट थप्नु परेको श्री छठ समाज सेवा समितिकी अध्यक्ष सङ्गीता रौनियारले जानकारी दिइन् ।

मेची नदीमा गंगा आरती हुने

छठ पर्वलाई मध्यनजर गरी भद्रपुर–५ देवीवस्तीस्थित मेची नदी किनारमा यस पटक पनि गंगा आरती गर्न लागेको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले जानकारी दिए ।

भद्रपुर नगरपालिका, ५ नम्बर वडा कार्यालय, युनिक समूह र मैथिल समाजको संयुक्त आयोजनामा बेलुका अस्ताउँदो सूर्यलाई अघ्र्य दिए पश्चात् भजन सन्ध्यासहित आरती गर्न लागेको वडाध्यक्ष बन्धु कार्कीले जानकारी दिए । अघिल्लो वर्षदेखि छठ पूजामा गंगा आरतीको सुरुवात गरिएको उनले बताए ।

छठमा सेनासहितको सुरक्षा फौज तैनाथ गरिने

विगत एक सातादेखि जिल्लाका मुख्य बजारहरूमा परिचालित संयुक्त सुरक्षा गस्तीलाई छठ पूजा स्थलहरूमा केन्द्रीकृत गरिने भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्तरुपमा गस्ती गर्ने जनाइएको छ । छठ पूजामा मानिसको अत्यधिक भीडभाड हुँदा विभिन्न आपराधिक क्रियाकलाप हुन सक्ने भएकाले सेनाको गस्ती टोलीलाई त्यसतर्फ परिचालन गरिने श्री अरिदमन गण चारआलीले जनाएको छ । गस्तीमा खटिएका सेनाका फौजले जुवातास खेल्ने, पटाका पड्काउने जस्ता गतिविधि नियन्त्रणमा सहयोग गर्दै आएका छन् ।

त्यस्तै छठ पूजाको दिन जिल्लाभरि ६ सयभन्दा बढी नेपाल प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बढी भीडभाड हुने भद्रपुरको मेची, कनकाईको बिरिङ, बिर्तामोडको अन्धुवा, दमकको रतुवालगायतका ठाउँमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिने प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । झापाको करिब दुई दर्जन स्थानमा छठ पूजा हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here