जेन–जी विद्रोहः आगजनीमा ‘एउटै समूह’ झापामा २१० संरचनामा आगजनी

0
173
  • अधिकांश घटना एकै प्रकृतिका

  • घरमा पहिला पानी ट्याङ्की फुटाएर आगजनी

झापा ।

तस्वीर–इन्टरनेट

गतभदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा झापामा जनप्रतिनिधि, प्रदेश सांसद, पूर्व सांसद तथा जनप्रतिनिधि मात्र नभई राजनीतिक दलका नेताको समेत घर जलेका छन् । आन्दोलनका क्रममा झापामा दुई सय १० वटा भौतिक संरचनामा क्षति पुगेको छ । आन्दोलनका क्रममा अराजक समूहले सरकारी संरचना तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गरेका थिए ।

आन्दोलनका क्रममा झापाका स्थानीय तहका कार्यपालिका भवन १२ वटामा आगजनी गरिएको थियो । त्यस्तै झापाका ९० वटा वडा कार्यालय भवनमा आगजनी र तोडफोड भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

भदौ २३ गते भएको जेन–जी आन्दोलनका क्रममा झापाको दमक र बिर्तामोड बाहेक अन्य क्षेत्र शान्त नै रहेको थियो । दमकमा आन्दोलनकारीहरुसँग २३ गते नै प्रहरीको दोहोरो झडप भएको थियो । त्यस क्रममा प्रहरीले गोली समेत चलाएको थियो । सोही दिन दिनभर शान्त रहेको बिर्तामोड साँझपख अशान्त बन्न पुग्यो । त्यस दिन झापामा कुनै मानवीय क्षति नभए पनि राजधानीमा २२ जना युवाको प्रहरीको गोली लागेर मृत्यु भएसँगै देशभर आक्रोश पैदा भई भदौ २४ गते बिहानबाटै आन्दोलन हिंसात्मक बन्न पुग्यो । उक्त समयमा प्रहरी आन्दोलनकारीको पहिलो निशानामा प¥यो भने स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा सरकारी संरचना आन्दोलनकारीको दोस्रो निशानामा परेका थिए ।

काठमाडौंमा तत्कालीन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा आगजनी भएको घटना बाहिरिए लगत्तै देशभर नेता तथा जनप्रतिनिधिको घरमा आगजनी र तोडफोडका घटना भएका हुन् । यसैक्रममा झापाका ५२ वटा निजी भवनमा आगजनी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आन्दोलनका क्रममा १० वटा संघीय कार्यालय भवनमा क्षति पुगेको जानकारी दिए । त्यस्तै प्रादेशिक कार्यालय भवन चारवटा, सार्वजनिक संस्थानका भवन एउटा र निजी आवास ५२ वटामा आगजनी र तोडफोड भएको थियो ।

आन्दोलनकारीले तीनवटा व्यवसायिक भवनमा तोडफोड र आगजनी गर्नुका साथै प्रहरीको तीनवटा अस्थायी पोष्ट र ट्राफिक प्रहरीको एउटा अस्थायी ट्राफिक कार्यालयमा आगजनी गरेको जनाइएको छ । त्यस्तै सात वटा प्रहरी चौकी, आठ वटा इलाका प्रहरी कार्यालय, चार वटा ट्राफिक कार्यालय, एउटा जिल्ला ट्राफिक प्रहरी कार्यालय, एउटा वडा प्रहरी कार्यालयमा आगजनी भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

आन्दोलनकारीले दमकमा रहेको दमक भ्यूटावरमा समेत आगजनी गरेका थिए भने बिर्तामोड नगरपालिकास्थित गरामनीमा रहेको दुर्गा माविमा आगजनी र तोडफोड गरेका थिए । आन्दोलनमा संलग्नहरुले ११ वटा राजनीतिक दल तथा दल सम्बद्ध अन्य संस्थाका कार्यालयमा तोडफोड र आगजनी गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

अहिले पनि तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण सूक्ष्म तरिकाले संकलन गरिने काम भइरहेको बताइएको छ । आन्दोलनका क्रममा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ । विशेषगरी कनकाई, दमक, गौरादह, मेचीनगर, बिर्तामोड, अर्जुनधारा र भद्रपुर नगरपालिकाका प्रशासनिक भवन जलेर नष्ट भएका थिए । त्यस्तै, गौरीगञ्ज, बुद्धशान्ति, बाह्रदशी, कचनकवल र झापा गाउँपालिकामा पनि आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेका थिए । जेन–जी आन्दोलनका क्रममा झापा जिल्लालाई मुलुककै संवेदनशील क्षेत्रमा गनिएको छ । यहाँका अधिकांश प्रशासनिक संरचना ध्वस्त भएपछि स्थानीयस्तरमा दैनिक प्रशासनिक काम कारवाही प्रभावित भएका छन् ।

झापामा आगजनी गर्नेहरुको एकै स्वरुप

झापामा जेन–जी आन्दोलनका क्रममा भएका आगजनीका घटनामा संलग्नहरुले एकै प्रकृतिका घटना घटाएका छन् । जनप्रतिनिधि, राजनीतिक दलका नेताका घर, सांसदका घरहरुमा आगजनी गर्ने समूहले एकै प्रकारले आक्रमण गरेको देखिएको हो ।

उनीहरुले आन्दोलनलाई उक्साएर घरसम्म पु¥याउने र अपरिचित समूहले घरको पानी ट्याङ्की फुटाएर आगजनी गर्ने गरेको पाइएको छ । झापाको काँकरभिट्टादेखि दमकसम्म सबै घरहरुमा आगजनी गर्ने समूहले सबैभन्दा पहिला घरको पानी ट्याङ्की फुटाएर अन्य सामग्री भेला पारेर आगजनी गरेको जनाइएको छ । प्रहरीले यस्ता विषयमा सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

आगजनीमा अपरिचित समूह सक्रिय

जेन–जी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीमा अपरिचित समूह बढी सक्रिय रहेको थियो । झापामा तोडफोड र आगजानी गर्ने समूहलाई स्थानीयले कतै नदेखेको बताउने गरेका छन् । केहीले मोटरसाइकल प्रयोग गरेर पुग्ने र आन्दोलनमा घुसपैठ गरेर आगजनी गर्न उक्साएर आगो लगाएपछि उक्त समूह अर्को स्थानमा पुगेको बताइएको छ ।

कानूनी कारबाहीमा पर्ने डरले उनीहरुले सीसी क्यामेरा तथा मोबाइलबाट फोटो भिडियो खिच्न सकेसम्म रोक लगाएका थिए । उक्त समयमा समाचार संकलनका लागि पुगेका केही पत्रकारहरुलाई समेत फोटो भिडियो खिच्न रोक लगाइएको थियो । आन्दोलन अपरान्हपछि उग्र बनेको थियो । देशैभर आगजनीका घटना अपरान्हपछि धेरै भएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

आगजनीमा पूर्व तयारी

सामान्यतया आन्दोलन अराजक र उच्छृङ्खल हुन्छ । तर, भदौ २४ गतेको आन्दोलन विध्वंशमा परिणत भयो । अहिलेसम्म भएका अधिकांश आन्दोलनहरुमा एकैपटक एकै प्रकृतिमा भौतिक संरचनामाथि आगजनीका घटना भएका थिएनन् । जेन–जी आन्दोलनका क्रममा आन्दोलन शान्तिपूर्ण हुने बताइएको थियो ।

तर, राज्यको दमनका कारण आन्दोलन हिंसात्मक हुँदा विध्वंश मच्चिएको विश्लेषण गरिएको छ । तर, झापामा भएका आगजनीका घटनामा भने कतै पूर्व तयारी या योजनाबद्ध रुपमा गराइएका घटना होइनन् भन्ने प्रश्न बलियो बन्दै गएको छ । सुरक्षा निकायले यस्ता घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धान गर्न जरुरी रहेको स्थानीयको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here