अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–९स्थित खरबन्दीमा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरिय भेट्रान नकआउट फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिका–४ नं वडा विजयी भएको छ ।
स्थानीय नमूना खेलमैदानमा बुधबार सम्पन्न भएको खेलमा अर्जुनधारा नगरपालिका–७लाई ४–१ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–४ नं. वडा विजयी भएको हो ।अर्जुनधारा–४को जीतको लागि खेलको तेस्रो र २५ औं मिनेटमा सुरेन्द्र लिम्बूले तथा १० औं र १७ औं मिनेटमा इन्द्र कटुवालले गोल गरेका थिए । यता अर्जुनधारा–७ को लागि खेलको ३३औं मिनेटमा जीवलसेन थापाले सान्तवना गोल गरेका थिए ।

उक्त खेलमा विजेता टिमका इन्द्र कटुवाल उत्कृष्ट खेलाडी भएका थिए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, फिफा रेफ्री श्याम दनुवारलगायतले नगद पुरस्कार १५ सयबाट पुरस्कृत गरेका थिए । उक्त नगद पुरस्कार स्थानीय सूर्य सुवेदी “ठूलदाई”ले सौजन्य गरेका थिए ।
भोलि(बिहीबार)को खेल दिँउसो ३ बजे अर्जुनधारा नगरपालिका वडा नं. १ र अर्जुनधारा नगरपालिका वडा नं. ९बीच हुने आयोजक गोलधाप युवा क्लबका सदस्य मौसम मगर “आईडु”ले जानकारी दिए ।

























