झापा ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार झापामा लागूऔषध प्रयोगकर्ता र कारोबारीको संख्या निरन्तर बढ्दैछ ।
भारतसँग १४४ किलोमिटर खुला सीमा भएको झापामा दैनिकजसो लागूऔषध कारोबारी पक्राउ परिरहेका छन् । लागूऔषध प्रयोगकर्ता पक्राउ परेपनि लागूऔषध कारोवार भने रोकिएको छैन ।
झापाको काँकरभिट्टा, चन्द्रगढी, बिर्तामोड, दमकजस्ता ठूला शहरमा लागूऔषध प्रयोगकर्ता र कारोबारीको संख्या धेरै छ । यसअघि प्रहरीले लागूऔषध कारोबारीले डिलर नै सञ्चालन गरेकालाई पनि पक्राउ ग¥यो । ठूला शहरमा लागूऔषध प्रयोगकर्ता र कारोबारीको संख्या धेरै हुँदा पनि स्थानीय सरकारसँग लागूऔषध नियन्त्रणका कुनै योजना छैन । जिल्लाका स्थानीय तहहरू पनि प्रहरीकै भरमा छन् ।
पछिल्लो समयमात्रै झापाको कमल गाउँपालिका–५ मंगलबारेस्थित एक घरमा लागूऔषध बिक्री वितरण हुँदै गरेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा पाँच जनालाई ठूलो परिमाणको प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी हवल्दार राजकुमारको नेतृत्वमा खटिएको टोलीले बिष्णु राजवंशीको घरमा खोजतलासी गर्दा ट्रामाडोल हाइड्रोक्लोराइडस क्याप्सुल एल.पी. लेखिएको ८० पत्ता (८०० क्याप्सुल), स्पास्पेन लेखिएको ३० पत्ता (३०० ट्याबलेट) र डाइसीक्लोमाइन ट्याब्लेट २० एमजीलेखिएको ५० पत्ता (५०० ट्याबलेट) गरी ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा कमल गाउँपालिका–५का २७ वर्षीय बिष्णु राजबंशी, सोही गाउँपालिका–३का २२ वर्षीय मौसम तामाङ, वडा नं. १का १८ वर्षीय सावन जगेबू, शिवसताक्षी नगरपालिका–११का २१ वर्षीय रुस्तम बर्देवा र १९ वर्षीय रुचल मगर रहेका छन् ।
उनीहरूलाई औषधि बिक्री वितरणमा संलग्न रहेको अभियोगमा नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरिएको औषधि र पक्राउ परेकामाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक कारबाही अघि बढाइएको छ ।































