व्यवस्थित आवास, सहज यातायात, सञ्चार जस्ता मानिसका दैनिकीलाई सहज बनाउने र आधुनिकताले प्रदान गरेको सेवासुविधा भएको क्षेत्रलाई शहर भनिन्छ । त्यही सेवा, सुविधाको सहज पहुँचका साथै मानवीय आवश्यकताका शिक्षा, स्वास्थ्य, पानी, बिजुली लगायतका पूर्वाधारहरुको उपलब्धताका कारण पछिल्लो समय मानिस शहरी क्षेत्रमा आकर्षित भइरहेका छन् । शहरमा प्राप्त हुने रोजगारको अवसरले पनि आममानिस ग्रामीण क्षेत्रबाट शहरतर्फ बसाइँ सर्न थालेका छन् । त्यहीकारण शहरी क्षेत्रमा जनघनत्व बढ्ने र ग्रामीण क्षेत्र रित्तिने क्रम बढेको छ ।

शहरको विकास गर्ने होडमा स्थानीय प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई मासेर स्मार्ट शहरका रुपमा स्वरुप परिवर्तन गरिँदैछ । यसले एकातिर ती क्षेत्रको स्वतन्त्र पहिचान गुम्ने मात्र होइन अव्यवस्थित बसोबासले शहरलाई कुरुप बनाउने खतरा छ । यस्तो अवस्थाले स्थानीय सांस्कृतिक, सामाजिक र परम्परागत कलाकृतिहरु समेत लोप हुने भएकाले तिनको संरक्षण अहिलेको प्रमुख आवश्यकता हो । शहरीकरणका नाममा निर्माण हुन्े अव्यवस्थित भवन, सडक जस्ता भौतिक संरचनाले प्रकृति र मौलिकता नष्ट हुनुहुँदैन । किनकि मौलिकता नै हाम्रो विशिष्ट पहिचान हो ।
शहरीकरणको नाममा अव्यवस्थित रुपले निर्माण हुने भवन लगायतका भौतिक संरचनाले प्रकृति, वातावरणको विनाश गर्छ नै सँगै स्थानीयबासीको पहिचान पनि नामेट गर्दछ । त्यही कारण शहरीकरण गर्ने होडमा र स्मार्ट सिटीको नाममा कसैका मौलिक पहिचान र ठाउँका विशिष्टता नष्ट नहोस् विश्व शहरीकरण दिवसले दिनुपर्ने सन्देश त्यही हो । ‘उत्कृष्ट शहर, उत्कृष्ट जीवन’ भन्ने मूल नाराका साथ हरेक वर्ष आजका दिन अर्थात् अक्टोबर ३१ मा यो दिवस मनाउने गरिएको छ । अक्टोबर महिनालाई अर्बन अक्टोबर भनिने सन्दर्भलाई मध्यनजर गर्दै अन्तिम दिन शहरीकरण दिवस घोषणा गरिए अनुरुप एक दशकअघि चीनबाट यो दिवस विभिन्न कार्यक्रमका साथ मनाउन थालिएको हो ।
संयुक्त राष्ट्रसंघको निर्णय अनुसार मनाउन थालिएको विश्व शहरीकरण दिवसले शहरीकरणका कारण उत्पन्न हुनसक्ने वातावरणीय असर र त्यसबाट जलवायु परिवर्तनले जीवनचक्रमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्न ढिला गर्नुहुँदैन । त्यसका लागि व्यवस्थित शहरीकरणको प्रक्रिया अवलम्बन गर्नुपर्छ । यो दिवसले हाम्रा जस्तो विकासशील देशमा शहरीकरणका लागि पूर्वाधार विकास गर्दै त्यसपछि आउनसक्ने समस्याको समुचित व्यवस्थापन गर्ने नीति बनाउनुपर्छ । त्यसतर्फ खासगरी राज्यले ध्यान दिनुपर्छ ।




























