अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–९स्थित खरबन्दीमा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरिय भेट्रान नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा अर्जुनधारा नगरपालिका–२ नं. वडा र अर्जुनधारा नगरपालिका–८ नं. वडा पुग्न सफल भएको छ ।
स्थानीय नमूना खेलमैदानमा शनिबार सम्पन्न भएको पहिलो खेलमा अर्जुनधारा नगरपालिका–१० नं. वडालाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–२ नं. वडा सेमीफाइनलमा पुग्न सफल भएको हो ।
अर्जुनधारा–२ को जीतको लागि खेलको १६औं र ५०औं मिनेटमा क्रमश कुमार सापकोटा र सुवास समाल मगरले गोल गरेका थिए । यता अर्जुनधारा–१०को लागि खेलको १५औं मिनेटमा सन्तोष बस्नेतले गोल गरेका थिए ।

खेलमा विजेता टिमका कुमार सापकोटा उत्कृष्ट खेलाडी भएका थिए । उनलाई झापा जिल्ला फुटबल संघका सदस्य टेकराज तिलिङलगायतले नगद पुरस्कार १५ सयबाट पुरस्कृत गरेका थिए । उक्त नगद पुरस्कार अर्जुनधारा नगरपालिका–१० निवासी टेन्ट व्यवसायी रुद्र खतिवडाले सौजन्य गरेका थिए ।
त्यसैगरी सोही दिन सम्पन्न दोस्रो खेलमा अर्जुनधारा नगरपालिका–६ नं. वडालाई टाइब्रेकरमा २–० गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–८ सेमीफाइनल पुग्न सफल भएको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछी खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलमा विजेता टिमका दिनेश हेमरम उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

उनलाई अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”लगायतले नगद पुरस्कार १५ सयबाट पुरस्कृत गरेका थिए । उक्त नगद पुरस्कार अर्जुनधारा–१० निवासी मनोज गोम्देनले सौजन्य गरेका थिए ।
प्रतियोगिता अन्र्तगत शुक्रबारको खेल वर्षाको कारण स्थगित भएपछि शनिबार दुई खेल सञ्चालन गर्ने निर्णय गरिएको आयोजक गोलधाप युवा क्लबका सचिव भरतजंग कार्कीले बताए ।
भोलि(आइतबार)को खेल दिँउसो ३ बजे अर्जुनधारा नगरपालिका वडा नं. १ र अर्जुनधारा नगरपालिका वडा नं. ३बीच हुने आयोजक क्लबका उपाध्यक्ष पूर्ण राजवंशीले जानकारी दिए ।

























