पथरी शनिश्चरे गोल्डकपको उद्घाटन खेलमा सलहेस फुटबल क्लब सिराहाको शानदार जित

0
26

छविराज ढकाल
पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरेमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उद्घाटन खेलमा सिराहाको सलहेस फुटबल क्लब विजयी भएको छ।

शनिबार पथरी शनिश्चरे–१ स्थित जाँते रोडको प्रस्तावित खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा सलहेस फुटबल क्लबले भारतको कञ्चनजङ्घा फुटबल क्लब, सिलिगुढीलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलको पहिलो हाफमै सलहेसले आक्रामक प्रदर्शन गर्दै अग्रता लिएको थियो। खेल सुरु भएको ६ मिनेटमै आदित्य शाक्यले पहिलो गोल गर्दै टिमको खाता खोले। त्यसपछि २४ औँ मिनेटमा रिचार्ड विल्सनले दोस्रो गोल गर्दै २–० को अग्रता दिलाए। खेलको २८ औँ मिनेटमा सुजल डग्गोलले थप गोल गर्दै टिमलाई ३–० को सहज स्थिति बनाइदिए।

दोस्रो हाफमा पनि सलहेसको खेलकुद शैली झनै प्रभावशाली रह्यो। रिचार्ड विल्सनले पुनः एक गोल थप्दै स्कोर ४–० पुर्‍याए। उता, भारतको कञ्चनजङ्घा क्लबका प्रनिशा प्रधानले एक गोल फर्काउँदै टिमको मान बचाएका थिए। तर निर्धारित समयको अन्त्यतिर विल्सनले ह्याट्रिक गर्दै अन्ततः सलहेस फुटबल क्लबलाई ५–१ को फराकिलो जित दिलाए।

उत्कृष्ट प्रदर्शनका आधारमा सलहेस फुटबल क्लबका रिचार्ड विल्सनलाई ‘म्यान अफ दि म्याच’ घोषित भए। उनलाई आयोजक पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन बिकले नगद ५ हजार रूपैयाँसहित ट्रफी प्रदान गरे।

प्रतियोगिताको औपचारिक उद्घाटन समारोह पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले गर्नुभएको थियो। उद्घाटन समारोहमा पाथिभरा महिला नौमती बाजा समूहले पञ्चेबाजाको साथमा मनमोहक प्रस्तुति दिँदै कार्यक्रमको आकर्षण बढाएको थियो। कार्यक्रममा इन्ट्रा फाउण्डेशन अफ अमेरिकाका प्रतिनिधि डि.बी. राई लगायतले शुभकामना मन्तव्य दिएका थिए। समारोहको अध्यक्षता आयोजक क्लबका अध्यक्ष सुमन बिकले गर्नुभएको थियो।

प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित टिमहरूको सहभागिता रहेको छ। भोलि आइतबार हुने दोस्रो खेलमा आयोजक पथरी ११ फुटबल क्लब र डिफेन्डिङ च्याम्पियन ललितपुरको ब्रिगेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

स्थानीय युवाको सहभागिता, खेलप्रेमीहरूको उत्साह र दर्शकको घुँइचोबीच सुरु भएको यो गोल्डकप प्रतियोगिताले खेलकुदमार्फत मैत्री सम्बन्ध र स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here