मोन्थाले उत्पन्न गरेको त्रास

0
16

नेपालीका चाडपर्वहरु समापन भएसँगै उत्पन्न मौसमी परिस्थितिले यतिबेला सिंगो देश पीडामा छ । अरब सागर र बंगालको खाडीमा विकसित मौसम प्रणालीका कारण देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा र कतिपय ठाउँमा हिमपात समेत भएर जनजीवन प्रभावित भएको छ । अरब सागरको महाराष्ट्रको तटीय क्षेत्रमा उत्पन्न भएको न्यून चापीय प्रणालीको प्रभावले देशका कोशी, मधेश, बाग्मती, गण्डकी लगायतका प्रदेशमा भारी बर्षा र हिमपातको अनुमान गरिएको थियो । मौसम विभागको अनुमान अनुसार बेमौसमी वर्षा र हिमपातका कारण हिमाल आरोही, यात्रुदेखि किसान समेत प्रभावित हुन पुगेका छन् ।

यसअघि पहिरोका कारण ठूलो मानवीय क्षति समेत भोग्नु परेको कोशी प्रदेशको इलाम मोन्था चक्रवतका कारण पनि प्रभावित बन्न पुग्यो । देशका विभिन्न भागमा भएको अविरल बर्षाले पाक्न लागेको धानबालीमा ठूलो क्षति भएको छ । नेपालको प्रमुख अन्नबाली धानको अगुवा धान र पाक्न लागेको धानबालीमा असर परेपछि किसान चिन्तित छन् । काटेर सुकाएको धान पानीले डुबाएको छ भने पाक्नै लागेको धानको बाला निरन्तरको बर्षाले खेतमै झरेको छ । अचानकको यस्तो बेमौसमी बर्षाले किसानको बर्षभरिको मेहनत खेर जाने चिन्ता एकातिर छ भने अर्कातिर उत्पादन घट्ने र परनिर्भरता बढ्ने डर पनि छ ।

उत्पादन र उत्पादकत्व बढाउनु अहिलेको चुनौती हो । किनकि देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनु पर्नेछ । त्यसो भएमात्र खाद्य सुरक्षाको अनुभूति गर्न सकिन्छ । त्यहीकारण सरकारले प्रत्येक वार्षिक बजेट मार्फत खाद्यान्नमा आत्मनिर्भर बनाउने आश्वासन बाँड्ने गरेको छ । तर, देशको उत्पादनशील भूमि क्रमशः बाँझिने क्रम बढ्दै गएको छ । युवा जनशक्तिलाई देशमै टिकाउने वातावरण नबनाएसम्म खाद्यान्नमा आत्मनिर्भरताको नारा नारामै सीमित हुनेछ । त्यसमा पनि विश्वमा उत्पन्न जलवायु परिवर्तनको असरले बेमौसमी बर्षा जस्तो विपद्हरुले आत्मनिर्भरताको यात्रा सहज हुन दिँदैन, यस्तोमा प्रकृति र वातावरणको रक्षा गर्दै वातावरण अनुकूलको विकास निर्माणमा राज्यले ध्यान दिनुपर्छ । अनि मात्र प्राकृतिक विपद्को न्यूनीकरण सम्भव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here