झापा । 
झापा, मोरङसहित देशका अधिकांश ठाउँमा मानिसलाई विभिन्न प्रलोभनमा पार्दै ठगीमा सक्रिय देवेन्द्र बस्नेतले झापा र मोरङका अलग–अलग दुई व्यक्तिलाई एउटै टिपर देखाएर ठगी गरेको खुलेको छ ।
नातामा आफ्नै मामाससुरा पार्ने बस्नेतले मोरङको पथरीशनिश्चरे–२ निवासी अनिता खतिवडा र झापाको चन्द्रगढी निवासी हिमाल ओलीलाई एउटै टिपर देखाएर ठगी गरेको पीडितको भनाइ छ । बस्नेतले आयसर ब्राण्डका टिपर आफूहरुलाई बिक्री गर्दै ठगी गरेको उनीहरुको दावी छ ।
वतास इन्भेष्टमेन्ट कम्पनी प्रालि काठमाडौबाट फाइनान्स गरी लिएको आयसर टेरा १६ कोे१ख ६३४३ र को १ ख ६३४६ नम्वरको टिपर आफूहरुले शुरुमा मासिक एक लाख २५ हजार रुपैयाँ बुझाउने शर्तमा लिएको र पछि उक्त टिपर आफूहरुले खरिद गरेको खतिवडाको भनाइ छ ।
शुरुमा हामीले नातामा आफ्नै मामाससुरा पर्ने बस्नेतबाट दुई वटै टिपर २०७७ सला असोज १ गते लिएका थियौं– अनिताले भनिन्– पछि उहाँले ती दुई वटै टिपर झापा चन्द्रगढीका हिमाल ओलीलाई ३५ लाख रुपैयाँमा बिक्री गर्नु भएछ । आफूहरुबाट समेत ५७ लाख रुपैयाँ लिएका बस्नेतले आफ्ना नाममा टिपर पास गर्नुको सट्टा सो टिपर लगियो ।
एनआईसीएशिया वैंकले मेरो घर पनि लिलाम ग¥यो , गाडी पनि तानेको छ, मलाई बचाई दिनु प¥यो भन्दै उहाँ रुदै कराउँदै आएपछि आफ्ना श्रीमान् पनि विदेशबाट भर्खर आएकाले उहाँसंगको सल्लाहमा शुरुमा ११ लाख रुपैयाँ कम्पनीलाई बुझाएर दुई लाख गाडी मर्मत गर्न खर्च गरेर टिपर लगेका थियौं– अनिताले भनिन्– एक लाख २५ हजार रुपैयाँ किस्तामा तिर्ने शर्तमा हामीले मामाससुराको टिपर खरिद गरेका थियौं ।
आठ महिनासम्म राम्ररी हामीले गाडी चलायौं । आठ महिनापछि बतास कम्पनीले कुदिरहेको गाडी बाटोमा रोक्यो– उनले भनिन्– कारण बुझ्दा देवेन्द्र वस्नेतले बतास कम्पनीलाई १८ लाख रुपैयाँ तिर्न बाँकी रहेछ । त्यो तिर्नुभन्दा हामीले अर्काे गाडी निकालेर चलायौं ।
शुरुमा हामीले १३ लाख रुपैयाँ तिरिसकेका थियौं । पछि आठ किस्ता नियमित हाल्यौं । त्यसपछि पुनः एकै पटक १८ लाख रुपैयाँ दिनु भन्दा हामीले अर्काे गाडी निकाल्यौं, अनिताले भनिन्– मामाससुराको भर पर्दा पैसा त गुम्यो नै गाडी पनि हामीले गुमायौं ।
मामाको पुरानो किस्ताका कारण दुई वटै टिपर कम्पनीले लग्यो– उनले भनिन्– गाडी कम्पनीले लगेपनि मामा हाम्रोमा आउने–जाने क्रम चलिरहेको थियो, सो क्रममा मेरा श्रीमान् नवराज खतिवडालाई ५७ लाखमा गाडी बेचेको भन्दै मेरो चेक चोरेर लानुभयो ।
चेकमा त्यत्रो धेरै पैसा नभएपछि तीन पटक बाउन्स गर्दै मामाले मलाई जिल्ला अदालत मोरङमा मुद्दा हाल्नुभयो– अनिताले भनिन्– यदि ५७ लाख रुपैयाँको चेक काटिएको छ र पटक–पटक बैंक जाँदा पनि चेक साटिएन भने एकपटक त मलाई बैंकले खबर गर्नुप¥यो नि ? बैंकले पनि मलाई जानकारी गराएन र एकैपटक अदालतबाट तामेल आउँदा मात्रै मलाई थाहा भयो कि मबिरुद्ध मामा ससुराले कत्रो खेल खेल्नुभएछ ।
गाडी अहिले कम्पनीमा छ, मुद्दा मैले खेपिरहेकी छु, देवेन्द्र बस्नेत फरार छन् म अन्यायमा परेकाले मलाई न्याय दिलाई दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु– अनिताले भनिन्– यो देवेन्द्र बस्नेतले मलाई मात्र होइन धेरैलाई यसैगरी प्रलोभनमा पारेर लाखौं रुपैयाँ ठगी गर्दै आइरहेकाले सचेत रहन म आम नगरिकलाई समेत आग्रह गर्दछु । आफूले खरिद गरेका दुई वटा गाडी आफूलाई पास गरिदिए आफू ५७ लाख रुपैयाँ दिन तयार भएको अनिताले बताएकी छिन् । देवेन्द्र बस्नेत फरार रहेकाले अहिले आफू घरको न घाटको भएको उनको भनाइ छ ।
बस्नेतले आफूलाई पटक–पटक केस मिलाई दिने आश्वासन दिँदै २०८० साल भदौसम्म झुक्याएको उनको भनाइ छ । आफूलाई पटक–पटक व्ल्याकमेल गर्दै बस्नेतले बीचमा थप डेढ दुई लाख रुपैयाँसमेत लगेको उनको भनाइ छ ।
२०८० साल भदौमा उनलाई मैले अन्तिमपटक थप ३० हजार रुपैयाँ पैसा दिएकी थिएँ– अनिताले भनिन्– सहज रुपमा केस मिल्छ भने ३० हजारको मुख हेर्दिनँ, नातामा आफ्नै मामाससुरा हुन् भन्दै आएकी थिएँ । तर, उनी नम्वरी ठग रहेछन् । अहिले यही मलाइ समस्यामाथि समस्या थपिएको छ ।
बस्नेतले सोही नम्वर (कोे१ख ६३४३ र को१ख ६३४६)का गाडी झापा चन्द्रगढीका हिमाल ओलीलाई ३५ लाखमा बिक्री गरेको पाइएको छ । हिमाल ओलीले फइनान्सको किस्ता तिर्ने गरी टिपर लगेको बताइएको छ । बतास इन्भेष्टमेन्ट फाइनान्स कम्पनीबाट आंशिक रुपमा ऋण तिरेर टिपर लिएको हुँ– ओलीले भने ।
यता यस विषयमा वस्नेतसंग जानकारी लिन खोज्दा उनी सम्पर्क बाहिर रहेकाले उनीसँग सम्पर्क हुन सकेन । बस्नेतबाट पीडित भएकाहरुले संर्घष समिति नै गठन गरे पनि उनको ठगी धन्दा रोकिएको छैन । पछिल्लो समय मोरङको बूढीगंगाका योगेन्द्र बस्नेतलाई समेत उनले ठगी गरेको बताइन्छ ।
नातामा काका पर्नुहुन्छ– योगेन्द्रले भने– झापामा आफ्नो फर्निचर व्इवसाय रहेको र त्यो फर्निचरको सामग्री मोरङमा ल्याएर बेच्नुपर्छ भन्दै शुरुमा सामान ल्याएको र आफैं बिक्री गर्दै लगेको र केही रकम दिने गरेका थिए । पछि सर्लाहीमा होटल खोल्छु भन्दै आफ्नो कम्पनीबाट देवेन्द्र आफैंले भ्याट बिल काटेर सामान लगेको उनको भनाइ छ । शुरुमा बस्नेतले मेरो कम्पनीमा जति लगानी गरेका छन् त्योभन्दा धेरै सामान लगे– उनले भने– हुँदाहुँदा मेरो चेक लगेर मलाई उल्टै मुद्दा हालेका छन् ।
शुरुमा उनले प्राइम बैंकको चेक चोरेर २२ लाख रुपैयाँ र पछि एनआईसीएशिया बैंकको चेक चोरेर ५५ लाख रुपैयाँको माग दावी गर्दै आएका छन् । एउटै फर्ममा काम गर्ने भएपछि सबै विवरण उसलाई थाहा थियो– उनले भने– शुरुमा मेरो खातामा पैसा डिपोजिट गर्ने र निकाल्ने कामसमेत गरेकाले मेरो चेकको हस्ताक्षर समेत गर्न सक्ने भएका रहेछन् । पछि दुईवटा चेक लगेर मलाई नै उल्टै मुद्दा हालेर उनी फरार छन् । जसका कारण म अहिले समस्यामा परेको छु– योगेन्द्रले पूर्वाञ्चल दैनिकको कार्यालयमा आएर आफ्नो दुःखेसो पोख्दै भने– अहिले बुझ्दै जाँदा मलाई मात्र होइन उनले धेरैलाई यसैगरी ठगी गरेका रहेछन् ।
त्यसो त बस्नेतले झापाको बाह्रदशीका झण्डै धेरै स्थानीयलाई सहकारीमार्फत ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेका छन् । बाह्रदशी गाउँपालिकामा रहेको लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थाको ५० लाख रुपैयाँ हिनामिना गर्दै उनी फरार भएका छन् । जसका कारण नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम दुरुपयोग गर्दै उनी फरार भएपछि २२ जना स्थानीयको जमिन रोक्का भएको छ ।
त्यस्तै झापा चन्द्रगढीका अन्य स्थानीयलाई समेत ठगी गरेपछि उनीबिरुद्ध प्रहरीमा उजुरीको चाङ छ । उनीबिरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । स्रोतका अनुसार ठगी प्रकरणमा सम्लग्न बस्नेत बिरुद्ध ५३ वटा मुद्दा छन् । उनले अधिकांश सर्वसाधारणका चेक चोरी गरेको र घर जग्गा जालसाजी गर्दै करोडौं रुपैयाँ ठगी गरेको बताइएको छ ।





























