व्यक्तिगत भावनाले अपराध बढाउँदै

0
17

कोशी प्रदेशमा आपराधिक घटनाहरु बढ्दै गएका छन् । कोशीका चौध वटै जिल्लामा गरी आठ हजारभन्दा बढी मुद्दा दर्ता हुने गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षमा डेढ सयभन्दा बढी मुद्दा कर्तव्य ज्यान सम्बन्धी हुन थालेको छ । कर्तव्य ज्यान सम्बन्धी अपराधका धेरै घटना अफन्तबाटै घटाइएका तथ्यहरु सार्वजनिक भएका छन् । यस्ता अपराधका घटना न्यूनीकरणका लागि प्रहरीले जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ, तर अपराध भने प्रत्येक वर्ष बढ्दै गएको छ । कतिपय घटना नजिकका नातेदार छिमेकी र साथीभाइहरुबाटै भएको तथ्य सार्वजनिक भइरहेको छ, दोषी पक्राउ पनि परेका छन्, तर घटनामा कमी आइरहेको छैन ।

यस्तै तर अनौठो घटना घट्यो गत साता झापामा । शिवसताक्षी–१०, माईधारका एक युवा हुलाकी राजमार्गको झापा गाउँपालिका–५ स्थित विरीङ खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परे । गत कात्तिक ९ गतेदेखि बेपत्ता भएका सरोज शर्माको कार मेचीनगर–१३ स्थित सामुदायिक वनभित्र जलेको अवस्थामा भेटिएको थियो । उक्त घटनापछि अनुसन्धानका क्रममा कार जलेको स्थानभन्दा करिब बीस किलोमिटर पश्चिम शर्माको शव गाडेको अवस्थामा फेला प¥यो । घटनामा संलग्न भएको आशंकामा दुई जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु लागूऔषधको कारोबारमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यदि प्रहरीको आशंका पुष्टि भएको खण्डमा लागूऔषधको कारोबार कति भयावह बन्दै गएको छ भन्ने देखाउँछ ।

हत्या आशंका र आरोपमा पक्राउ परेका सोही ठाउँमा सुनील साह र राहुल साह मृतकका छिमेकी रहेका खुलेको छ । यसले शत्रु खोज्न बाहिर जानु पर्दैन भन्ने भनाइलाई समेत पुष्टि गरेको छ । काठमाडौंमा बसेर सूचना प्रविधि (आइटी) क्षेत्रमा कार्यरत मृतक सरोज छठपछि काममा फिर्दै थिए तर छठ मनाउन नपाइ अपराधीहरुको शिकार भए । पछिल्लो समय मानिस व्यक्तिवादी हुँदै गएको छ । जसका कारण पारिवारिक कलह र अविश्वास बढ्दै गएको छ । यस बाहेक सामाजिक, आर्थिक कारण, प्रविधिको पहुँच र प्रयोग जस्ता कारण अपराधका जड हुने गरेका छन् । सामुहिकता, सामाजिक सद्भाव, हार्दिकता मर्दै गएको छ । धनका लागि जेसुकै गर्ने, मनोवृत्ति बलियो हुँदै संस्कार र अनुशासन मर्दै जान थालेको छ । यस्तोमा सामाजिक सचेतना, जागरुकता र संयम क्षमता बढाएर अपराध न्यूनीकरण गर्न समाज नै लाग्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here