झापा । 
बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु. एक करोड पाँच लाख ९० हजार आठ सयको केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउछन् ।
दशैँ, तिहार र छठ पर्वको अवसरमा १९ हजार २ सय ५६ घरी केरा औसतमा प्रतिघरी रु. ५५० का दरले बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्याङ्क सहायक अधिकृत माया राजवंशीले जानकारी दिइन् । उनले गतअसोज १० गतेदेखि कात्तिक १२ गतेसम्ममा सो मात्रामा केरा बिक्री भएको बताइन् ।
उनका अनुसार यहाँबाट बिराटनगर, जनकपुर, काठमाडौँलगायत स्थानमा न्यूनतम् रु. ३०० देखि अधिकतम् रु. ८ सय सम्ममा मालभोक, भण्डारी, जाहजी र चिनीचम्पा केरा जाने गरेको छ । उनले दशैँ र तिहारमा भन्दा बढी छठपर्वमा केरा बिक्री भएको बताइन् ।
यहाँ ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको उक्त थोक बजारमा ताप्लेजुङ, पाँचथर, इलामलगायत पहाडी जिल्लामा उत्पादित कृषिवस्तु विक्रीका लागि ल्याइन्छ । यहाँ कृषिजन्य वस्तुको विषादि मापन गर्ने प्रयोगशाला पनि छ । तथ्याङ्क सहायक राजवंशीले यहाँ आएका फलफूल, तरकारीलगायत कृषिजन्य वस्तुको विषादि चेकजाँचपछि मात्र खानयोग्यलाई बजार पठाउने गरिएको जानकारी दिइन् ।






























