मैनाचरी विद्यालयमा हङकङवासी प्रकाश थापा मगरको सहयोग

0
11

शिवसताक्षी,
शिवसताक्षी नगरपालिका–११ मैनाचरीस्थित मैनाचरी आधारभूत विद्यालयमा हङकङमा बसोबास गर्दै आएका प्रकाश थापा मगरले खानेपानी ट्याङ्की निर्माणका लागि आर्थिक सहयोग गरेका छन्।
विद्यालयमा अपुरो रहेको खानेपानी ट्याङ्की निर्माण प्रयोजनार्थ उनले आफ्नी आमा कुलमाया थापा मगरको स्मृतिमा आइतबार रु। ५० हजार सहयोग गरेका हुन्।


स्थायी ठेगाना मोरङ उर्लाबारी भोटेपुल भएका प्रकाश थापा मगरका भतिज पवन मगरले विद्यालयको अवस्थाका बारेमा जानकारी गराएपछि काका प्रकाशले उक्त सहयोग गर्न निर्णय गरेका थिए। सहयोग रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज राईलाई नगद रूपमा हस्तान्तरण गरिएको हो।

भतिज पवन मगरका अनुसार प्रकाश थापा मगरले गाउँको शिक्षाको विकास र सरसफाइमा योगदान पुर्‍याउने उद्देश्यले यो सहयोग गरेका हुन्। विद्यालय व्यवस्थापन समितिले उक्त सहयोगले विद्यालयमा स्थायी खानेपानी सुविधा विस्तारमा ठूलो टेवा पुग्ने जनाएको छ।

सोही अवसरमा मैनाचरी नवयुवा युथ क्लबले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा अध्ययनरत एक दलित छात्रालाई एक वर्षका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ।

क्लबले २०८२ सालको तिहारको अवसरमा देउसीभैलो कार्यक्रमबाट सङ्कलित भेटी रकम सो विद्यालय को पूर्व–प्राथमिक तहकी छात्रा गङ्गा विश्वकर्मालाई विद्यालय पोशाक, ब्याग, शैक्षिक सामग्री, जुत्ता, मोजा तथा विद्यालय शुल्कसमेत उपलब्ध गराएको हो।

क्लबले छात्राको विद्यालयमा भुक्तान गर्नुपर्ने शुल्कसहित नगद १० हजार बराबरको सामग्री प्रदान गरेको विद्यालय प्रशासनले जनाएको छ।

यसै बीच कार्यक्रममा सहभागी मैनाचरी नवयुवा युथ क्लबका सदस्य बम हाङ लिम्बुले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीहरूलाई चकलेट वितरण गर्दै जन्मदिन मनाएका थिए। उनको यो कदमले विद्यार्थीहरूमा खुशी थपेको र सामुदायिक भावना बलियो बनाएको सहभागीहरूले बताएका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज राईको अध्यक्षतामा आयोजित कार्यक्रममा सदस्य अश्विन धितालले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका प्रधानाध्यापक रामप्रसाद मण्डलले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

मैनाचरी आधारभूत विद्यालयमा हाल पूर्व–प्राथमिकदेखि कक्षा पाँचसम्म पूर्ण अङ्ग्रेजी माध्यममा शिक्षा प्रदान गरिँदै आएको छ। विद्यालयमा नेपाल सरकारको दरबन्दीमा रहेका शिक्षकका साथै तालिम प्राप्त निजी शिक्षकहरू पनि कार्यरत छन्। हाल विद्यालयमा ९७ जना विद्यार्थी अध्ययनरत छन्।

स्थानीय सरोकारवालाहरूले प्रकाश थापा मगर, मैनाचरी नवयुवा युथ क्लब र बम हाङ लिम्बुजस्ता युवाले गरेको सहयोग र सामाजिक भावनालाई उदाहरणीय पहलका रूपमा लिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here