विनोद सापकोटा
झापा, झापाको शिवसताक्षी नगरपालिका–१० माइधारका ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण झन् गम्भीर र रहस्यमय बन्दै गएको छ।
प्रहरीले घटनाका मुख्य योजनाकारका रूपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरे पनि मृतकका परिवार प्रहरीको अनुसन्धानप्रति असन्तुष्ट छन्। उनीहरूले प्रहरीको प्रेस नोटलाई प्रश्नवाचक ठहर गर्दै दर्जनौँ शंका उठाएका छन्।
घटनाको क्रम
घरमा छठ पूजाको तयारी चलिरहेको थियो। परिवारका सदस्यहरू व्रत बसेर खरनाको तयारीमा थिए।
सोही दिन, कार्तिक ९ गते दिउँसो करिब ४ बजे, सरोज आफ्नो बा १–०३०–च ७१९४ नम्बरको सेन्लटस कार धुने भन्दै घरबाट निस्किए।
तर उनी फर्किएनन्। साँझ ६ बजेसम्म मोबाइल अन रहे पनि त्यसपछि सम्पर्क टुट्यो।
आमा गीता शर्मा ले सामाजिक सञ्जालमार्फत छोराको खोजीका लागि भावुक अपिल गरेकी थिइन्। तर त्यो अपिल एक हप्ता नपुग्दै ‘हत्या भएको खबर’मा परिणत भयो।
अपहरणदेखि हत्या र प्रमाण लुकाउने प्रयास
प्रहरीका अनुसार, सरोजको अपहरण गरी हत्या गर्ने योजनामा माइधारकै सुनिल साह र राहुल साहसहित ३–४ जनाको समूह संलग्न थियो।
प्रारम्भिक बयानअनुसार, सरोजलाई अपहरणपछि चेप्टी फनपार्क जाने बाटोमा लगिएको र त्यहाँ बेहोस बनाइदिएको थियो।
पछाडि टाउकोमा हतौडाले पटक–पटक प्रहार गरी हत्या गरिएको अनुसन्धानमा उल्लेख छ।
शवलाई त्यसै रात बिरिङ खोलाको पुलमुनि खाल्डो खनेर गाडिएको थियो।
पछि हत्याराहरूले प्रमाण मेटाउने उद्देश्यले कार्तिक १३ गते बिहान हातेमालो सामुदायिक वनभित्र सरोजको कार जलाएका थिए।
तर परिवारको बुझाइमा प्रहरीको यो निष्कर्ष अधुरो र अस्पष्ट छ।
परिवारका प्रश्नहरू
मृतकका बुवा सकलदेव शर्मा, आमा गीता शर्मा र श्रीमती श्वेता ढुङ्गाना शर्मा ले जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको प्रेस नोटप्रति असहमति जनाएका छन्। उनीहरूले राखेका प्रमुख प्रश्नहरू यस्ता छन्–
-
हतौडा कहाँबाट ल्याइयो ? प्रहरीले स्रोत किन खुलाएन ?
-
शव गाड्न प्रयोग भएका औजार कहाँबाट ल्याइएका थिए ?
-
यदि सरोजको हत्या कार्तिक ९ कै साँझ भएको हो भने, भोलिपल्ट सुनिल र राहुल ‘सहयोग गर्ने नाटक’ किन गर्न आए ?
-
शव गाडिएको स्थानसम्म कसरी पुर्याइयो ? कुन गाडी प्रयोग भयो ?
-
सरोजलाई बेहोस पार्न कुन औषधि प्रयोग गरियो र त्यो कहाँबाट ल्याइयो ?
यी प्रश्नहरूको जवाफ नआउँदा परिवारले प्रहरी अनुसन्धानको निष्पक्षतामाथि गम्भीर शंका व्यक्त गरेका छन्।
‘प्रहरीले बेवास्ता गर्यो’
परिवारका अनुसार सरोज हराएको भोलिपल्टै उनीहरूले सुनिल र राहुलको नाम प्रहरीलाई दिएका थिए।
प्रहरीले सोधपुछका लागि बोलाए पनि पुनः छोडिदिएको उनीहरूको आरोप छ। “यदि त्यतिबेलै प्रहरीले कडाइका साथ अनुसन्धान गरेको भए, मेरा छोरा सडिन पाउँदैन थिए,” बुबा सकलदेवले भने।
परिवारले प्रहरीमाथि गम्भीर लापरबाही र पूर्वाग्रही अनुसन्धान गरेको आरोप लगाएका छन्।
प्रहरीले अब आएर हत्याराकै बयानलाई आधार मानेर मृतकलाई ‘सुन कारोबारमा संलग्न’ भनी सार्वजनिक गरेको उनीहरूको आपत्ति छ।
‘सुन कारोबार’को विवाद
प्रहरीले प्रारम्भिक अनुसन्धानमा सरोजको हत्या सुन कारोबारको विवादसँग जोडिएको हुनसक्ने बताएका थिए।
तर परिवारले यो दाबीलाई ‘पूर्णतः मनगढन्ते’ भनेका छन्।
“सरोजले कहिल्यै सुनको व्यापार गरेका थिएनन्,” श्रीमती श्वेता भन्छिन्,
“उनी काठमाडौंको एक आईटी अफिसमा काम गर्थे। तिहार र छठ मनाउन घर आएका थिए, सुन किनबेचसँग उनको कुनै सम्बन्ध थिएन।”
परिवारले थप प्रश्न गरेका छन्–
-
सरोज सुन व्यापारी थियो भन्ने प्रमाण कहाँ छ ?
-
यदि सुन किन्थ्यो भने, बेच्ने व्यापारी को हो ?
-
बैंक वा नगद कारोबारको कुनै प्रमाण किन देखाइएन ?
-
सामान्य तलब खाने व्यक्तिसँग सुन किन्ने क्षमता कसरी बन्यो ?
यी प्रश्नको उत्तर नदिई प्रहरीको निष्कर्ष निकाल्नु, परिवारका अनुसार, हत्यारा बचाउने प्रयास हो।
परिवारसँग पनि छन् प्रमाण
परिवारका अनुसार, मुख्य अभियुक्त सुनिल साह पहिले नै लागूऔषध कारोबारमा संलग्न थिए।
“प्रहरीले त्यो पृष्ठभूमि किन हेरेन ?” उनीहरूको प्रश्न छ।
श्रीमती श्वेताले भनिन्, “सुनिलले सरोजलाई सस्तोमा सुन किन्ने र व्यापारीहरूसँग भेट गराइदिएबापत कमिसन दिने प्रलोभनमा पारेका थिए। हाम्रो हातमा उनीहरूबीचको च्याट छ, जहाँ सुनिलले आफैं सुन किन्ने प्रस्ताव गरेका छन्।”
यस्तै, हत्या पछि सुनिल र राहुलले नयाँ मोबाइल नम्बरबाट परिवारका सदस्यलाई पटक–पटक सम्पर्क गरेको कुरा पनि बाहिरिएको छ।
तर प्रहरीको अनुसन्धानमा यो पक्ष समावेश नै नगरिएको परिवारको भनाइ छ।
प्रहरीको भनाइ
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्का का अनुसार, “शव फेला परेपछि पनि हत्या किन र कसरी भयो भन्नेबारे अनुसन्धान जारी छ। प्रारम्भिक चरणमा आरोपितहरूको बयानका आधारमा अघि बढिरहेका छौँ, तर हरेक कोणबाट छानबिन भइरहेको छ।”
उनका अनुसार, “यस्तो जघन्य अपराधमा प्रहरी कसैसँग पनि सम्झौता गर्दैन। प्रमाणका आधारमा सत्य सार्वजनिक गरिनेछ।”
परिवारको माग
पीडित परिवारले स्वच्छ, निष्पक्ष र वैज्ञानिक अनुसन्धान को माग गरेका छन्।
“प्रहरीले केवल बयान होइन, सबै प्रमाणका आधारमा सत्य सार्वजनिक गरोस्,” परिवारको सामूहिक भनाइ छ।
निष्कर्ष
सरोज शर्मा काठमाडौंमा सूचना प्रविधि क्षेत्रमा काम गर्थे।
तिहार र छठ मनाउन घर आएका उनको हत्याभएपछि अनुसन्धान प्रहरीका लागि पेचिलो भएको छ ।
प्रहरीले प्रारम्भिक निष्कर्ष सार्वजनिक गरिसकेको छ, तर परिवारका तीव्र प्रश्नहरूले घटनालाई अझ रहस्यमय बनाइदिएका छन्।
अब सबैको नजर एकै प्रश्नमा टिकेको छ — यी प्रश्नका जवाफहरू सार्वजनिक हुनेछन् कि पर्दा अझ बाक्लिँदै जानेछ ?


































