आकस्मिक रुपमा हुने प्राकृतिक घटनाबाट हुने क्षति विपद् हो । यस्ता घटना भूकम्प, ज्वालामुखी, पहिरो, चक्रबात, बाढी, हिमपहिरो, डुबान र जलवायु वा मौसमजन्य हुन्छन् । त्यसबाहेक जीवजन्य सङ्क्रामक रोगले उत्पन्न गर्ने परिस्थिति वा क्षतिको अवस्था पनि मानव समाजले भोग्दै आएको छ । यस बाहेक आगलागी, चट्याङ र हुरीबतास पनि मानव जातिको विनाशको कारण बनिने गरेका छन् ।

नेपाल यस्ता विपद्जन्य घटनाबाट मुक्त छैन । प्रत्येक दिनजसो कुनै न कुनै आकस्मिक घटना भइरहेको छ जसका कारण नेपालीले मानसिक, आर्थिक, शारीरिक तथा भौतिक क्षतिको सामना गर्नु परिरहेको छ । यस वर्षको बैशाखदेखि कात्तिकको मध्यसम्ममा पाँच सय सन्तानब्बे वटा घटना भए, जसमा परेर तीन सय पैंतीस जनाको मृत्यु भयो । जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा काम गर्ने प्राधिकरणले उक्त अवधिमा एकचालीस जना बेपत्ता भएका र एक हजार दुई सय चौंसठ्ठी जना घाइते भएको जनाएको छ ।
साढे छ महिनाको अवधिलाई आधार मानेर प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बाढीजन्य घटनामा सैंतीस जनाले ज्यान गुमाएका छन् भने पहिरोमा परी सड्सठ्ठी जनाको मृत्यु र चार जना बेपत्ता छन् । त्यस्तै सर्प दंशबाट बयानब्बे जनाको मृत्यु भएको छ । त्यसैगरी जनावरको आक्रमण, लेक लागेर, आगलागी, हुरीबतास, हिउँ पहिरो लगायतका घटनामा परी पन्चानब्बे जनाको मृत्यु भएको छ ।
विपद् बाजा बजाएर वा सूचना दिएर आउँदैन । आइसकेपछि त्यसले कुनै न कुनै रुपले क्षति गराएर छाड्छ । यस्तोमा चेतनशील प्राणी भएका मानिसले स्वयम् त्यसको व्यवस्थापन र न्यूनीकरणमा अग्रसर हुनुपर्छ । अझ कतिपय विपद्जन्य घटनाका कारक मानिस नै हुने भएकाले घर बनाउँदा, वनजंगलको उपयोग गर्दा, आगोको प्रयोग गर्दा र भौतिक विकासका संरचना निर्माण गर्दा सावधानी अपनाउनुपर्छ । यो सँगै जनजंगलको सुरक्षाले वातावरणको संरक्षण हुने हुँदा प्राकृतिक स्रोतको अतिक्रमण हुन नदिन स्थानीयबासी, समाज, स्थानीय तह, प्रदेश र संघीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ । अनि मात्र विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरण गर्दै पृथ्वीसँगै मानव सभ्यताको रक्षा गर्न सकिन्छ ।





























