भालुखोलामा भेटिएको शंकास्पद पदार्थबारे प्रहरी किन मौन रह्यो ?

0
255

विनोद सापकोटा
झापा , झापाको भालुखोलामा भेटिएको शंकास्पद पदार्थबारे प्रहरीले अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। सामान्य अवस्थामा सानो परिमाणको लागू औषधसम्बन्धी घटनाबारे व्हाट्सएपमा तुरुन्तै सञ्चार माध्यमलाई सूचना पठाउने प्रहरी यसपटक भने असामान्य रूपमा मौन देखिएको छ।

घटना गत आइतबार बिहान शिवसताक्षी नगरपालिका–९ र १० को सिमानामा पर्ने भालुखोलाको तल्लो पुलदेखि करिब २०० मिटर उत्तरतर्फ घटेको हो। स्थानीयले बाँसझ्याङभित्र सेतो प्लास्टिकमा बेरिएका पाँचवटा पोका र सँगै रातो प्लास्टिकभित्र करिब ५०० ग्राम सेतो धुलो फेला पारेका थिए। ती सबै पोका कालो टेपले मजबुत रूपमा बाँधिएका थिए र प्रत्येकको तौल करिब एक किलोग्राम रहेको अनुमान गरिएको छ।

खेतमा काम गरिरहेका एक किसानले पिसाब फेर्न जाँदा उक्त वस्तु देखेपछि गाउँलेलाई खबर गरेका थिए। गाउँलेले स्थानीय प्रहरीलाई जानकारी दिएपछि इलाका प्रहरी कार्यालय झिलझिलेको टोली घटनास्थल पुगेको थियो। प्रहरी निरीक्षक मनोज केसीका अनुसार बरामद वस्तु जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको र त्यसपछि नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको हो।

तर, तीन दिन बितिसक्दा पनि परीक्षणको रिपोर्ट सार्वजनिक गरिएको छैन। सामान्यतया यतिको परिमाणमा भेटिएका शंकास्पद वस्तुको प्रारम्भिक परीक्षण तुरुन्तै हुने प्रचलन भए पनि यसपटक प्रहरी मौन रहँदा प्रश्नहरू उठेका छन्। स्थानीयवासीहरूका अनुसार बरामद पदार्थ ‘ब्राउन सुगर’ हुन सक्ने सम्भावना उच्च छ।

  •  झापामा पछिल्ला दिनमा लागू औषध कारोबार र प्रयोगकर्ताको संख्यामा तीव्र वृद्धि देखिएको छ। स्थानीय स्रोतका अनुसार भदौ २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’पछि प्रहरीको निगरानी सुस्त हुँदा खुला सीमाबाट ठूलो परिमाणमा लागू औषध भित्रिएको हुन सक्छ।

यस्तै समयमा जिल्लामा अपराधका अन्य घटनाहरू पनि बढेका छन्। हालै माइधारका ३३ वर्षीय सरोज शर्माको विभत्स हत्या भएको थियो। कार्तिक ९ गते घरबाट गाडी धुन निस्किएका सरोज कार्तिक १५ गते झापा गाउँपालिका–५ स्थित पिरिङ खोलाको बगरमा मृत अवस्थामा फेला परेका थिए। उनको गाडी भने कार्तिक १३ गते चारालीस्थित जंगलमा जलेको अवस्थामा भेटिएको थियो। घटनामा संलग्न आरोपमा राहुल शर्मा र सुनिल नामका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

  • भालुखोलामा भेटिएको शंकास्पद पदार्थ र सरोज शर्माको हत्या बीच कुनै सम्बन्ध हुन सक्ने स्थानीयवासीले आशंका व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा पनि यसबारे विभिन्न टिप्पणीहरू देखिएका छन्। कतिपयको भनाइमा प्रमाण लुकाउन वा घटनालाई तोडमोड गर्न उक्त वस्तु सोही क्षेत्रमा पुर्याइएको हुन सक्छ।

स्थानीयवासीहरूले प्रशासनलाई पारदर्शी अनुसन्धान र सत्य तथ्य सार्वजनिक गर्न आग्रह गरेका छन्। उनीहरूको भनाइमा, यस्ता घटनाको सूक्ष्म अध्ययन र खुला अनुसन्धानले मात्रै झापामा बढ्दो अपराध र लागू औषध कारोबारको वास्तविक कारण पत्ता लाग्न सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here