अर्जुनधारा–१ फाइनलमा, अर्जुनधारा–२ लाई ७–१ ले पराजित

0
12

अमित खम्बू,

अर्जुनधारा (झापा)
झापाको अर्जुनधारा नगरपालिका–९ स्थित खरबन्दीमा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरिय भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा अर्जुनधारा नगरपालिका–१ नम्बर वडा प्रवेश गर्न सफल भएको छ।

मंगलबार स्थानीय नमूना खेलमैदानमा सम्पन्न सेमीफाइनल खेलमा अर्जुनधारा–१ ले अर्जुनधारा–२ लाई ७–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

अर्जुनधारा–१ का लागि खेलको ३०औं मिनेटमा विक्रम गोले, ४४औं मिनेटमा रञ्जित राई, ५२औं मिनेटमा मदन लिम्बू मगर, ५६औं मिनेटमा समिर सुब्बा, ५७औं मिनेटमा विजय सेन्दाङ र ५९औं मिनेटमा सुवास राईले गोल गरे। थप एक गोल आत्मघातीमार्फत प्राप्त भएको थियो।

यता, अर्जुनधारा–२ का लागि खेलको ३५औं मिनेटमा सुवास समाल मगरले एक मात्र सान्त्वना गोल गरे।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अर्जुनधारा–१ का सुवास राई उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनलाई कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाल, नगरसभा सदस्य एवं दाता बुद्धिमान लिम्बू लगायतले रु. १५०० नगद पुरस्कार प्रदान गरे। उक्त पुरस्कार युवा व्यवसायी किरण श्रेष्ठको सौजन्यमा प्रदान गरिएको हो।

प्रतियोगिताअन्तर्गत भोलि (बुधबार) दिउँसो ३ बजे हुने अन्तिम सेमीफाइनल खेलमा अर्जुनधारा नगरपालिका–८ र अर्जुनधारा नगरपालिका–११ बीच प्रतिस्पर्धा हुने आयोजक गोलधाप युवा क्लबका सचिव भूपालराज कार्कीले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here