प्रादेशिक अस्पताल भद्रपुरमा सञ्चालित ओसीएमसीको प्रगति सार्वजनिक

0
28

झापा,विभिन्न प्रकारका हिंसाबाट पीडित महिला तथा बालबालिकाका लागि निःशुल्क सेवा उपलब्ध गराउँदै आएको प्रादेशिक अस्पताल भद्रपुरमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) ले आर्थिक वर्ष २०८१/०८२ को प्रगतिविवरण सार्वजनिक गरेको छ।

अस्पतालको सभाहलमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा आज सम्पन्न बैठकमा गत आर्थिक वर्षको प्रगतिविवरण सार्वजनिक गर्नुका साथै आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।

केन्द्रकी फोकल पर्सन निलु शाक्यका अनुसार आर्थिक वर्ष ०८१/०८२ मा केन्द्रले १४७ जना हिंसापीडितलाई विभिन्न सेवाहरू प्रदान गरेको थियो। तीमध्ये १०४ जना जबरजस्तीकरणीसम्बन्धी हिंसाका पीडित रहेका बताइयो। पीडकहरूको उमेर समूह १९ देखि ४९ वर्षसम्मको रहेको उनले जानकारी दिइन्।

केन्द्रले पीडितहरूलाई स्वास्थ्य तथा चिकित्सकीय सेवा, कानूनी सहयोग, मनोसामाजिक परामर्श र उपचार सेवा, सुरक्षित आवास गृह र पुनर्स्थापना कार्यक्रम मार्फत सहयोग पुर्‍याउँदै आएको केन्द्र प्रमुख डा. मनोजकुमार साहले जानकारी दिए।

शाक्यका अनुसार सो अवधिमा केन्द्रले विभिन्न शीर्षकमा ११ लाख ४४ हजार १४२ रुपैयाँ खर्च गरेको थियो। तीमध्ये सबैभन्दा बढी चार लाख ५१ हजार ४१० रुपैयाँ परामर्श सेवामा खर्च भएको प्रगतिविवरणमा उल्लेख छ।
आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि केन्द्रले १५ लाख ९५ हजार ३०० रुपैयाँको बजेट प्रस्ताव प्रस्तुत गरेको थियो।

डा. साहका अनुसार यो कार्यक्रम प्रादेशिक अस्पताल भद्रपुरमा गत सात वर्षदेखि निरन्तर सञ्चालनमा छ। केन्द्रको संरचना अनुसार प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने, सरोकारवाला सरकारी निकायका प्रतिनिधि र महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सामाजिक संस्थाका प्रतिनिधिहरू सदस्य रहने व्यवस्था छ। साथै, जिल्ला समन्वय समितिका प्रमुख सल्लाहकार समितिका अध्यक्ष र स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष सदस्य रहने व्यवस्था रहेको फोकल पर्सन शाक्यले जानकारी दिइन्।

बैठकमा प्रहरी उपरीक्षक राजन लिम्बू, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जयकुमार गुप्ता, अन्य सरोकारवालाहरूको उपस्थिति थियो। बैठक सञ्चालन अस्पताल प्रशासन प्रमुख कृष्णा श्रेष्ठले गरेकी थिइन् भने स्वागत केन्द्र प्रमुख डा. साहले गरेका थिए।

बैठकले आर्थिक वर्ष ०८१/०८२ को प्रगतिप्रतिवेदन र आगामी वर्षको प्रस्तावित बजेट सर्वसम्मतिले पारित गरेको छ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी गेलाले समाजमा अझै पनि हिंसा लुकाउने प्रवृत्ति कायम रहेको भन्दै वास्तविक पीडितहरूको संख्या अझ धेरै हुन सक्ने उल्लेख गरे। उनले यस्ता घटना उजागर गरी पीडितलाई न्याय दिलाउनेतर्फ सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here