झापा, हालैको अविरल वर्षा र बाढीबाट प्रभावित झापा गाउँपालिकाका बासिन्दाहरूलाई रोटरी क्लव अफ मेचीनगरको नेतृत्वमा विभिन्न रोटरी क्लवहरूले राहत सामग्री वितरण गरेका छन्।
एक सयभन्दा बढी बाढीपीडित परिवारलाई खानेपानी फिल्टर, विद्यार्थीका लागि झोला र स्टेशनरी सामग्री, सेनिटरी प्याड, हर्लिक्सलगायतका खाद्य वस्तुहरू वितरण गरिएको हो।
रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकका अनुसार राहत सामग्री वितरण कार्यक्रममा रोट्रयाक्ट क्लव अफ मेचीनगर, रोटरी क्लव अफ बिर्तामोड र रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको पनि सक्रिय सहभागिता रहेको थियो।
राहत वितरण कार्यक्रम झापा बजारमा आयोजना गरिएको थियो । सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, झापाका अध्यक्ष लोकराज ढकालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको र राहत वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि र विभिन्न रोटरी क्लबका पदाधिकारीहरूको उपस्थिति थियो ।

कार्यक्रममा झापा गाउँपालिका–२ का वडा अध्यक्ष हिमाल चौलागाई, रोटरी क्लवका रिजनल सर्भिस प्रोजेक्ट चेयर शुभ कुमाई पाठक, एसिस्टेन्ट गर्भनर विनोद चापागाई, रोटरी क्लव अफ मेचीनगरका संस्थापक अध्यक्ष कपिल क्षेत्री, रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटी, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष पुष्पाञ्जली सिंह ठकुरी, मिडटाउनका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल लगायत सहभागी थिए। कार्यक्रममा बोल्दै रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले विपद्का बेला रोटरी सधैं समुदायको साथमा रहने प्रतिबद्धता जनाइन्।
‘हरेक वर्ष बाढीले गाउँमा पसेर समस्या बनाइरहेको छ। विपद्का बेला रोटरी सधैं साथमा हुन्छौं, तर बाढीको दीगो समाधानका लागि स्थानीय र राज्यका निकायहरूले पनि पहल गर्न आवश्यक छ’ उनले भनिन् ।
राहत सामग्री वितरणका लागि रोटरी क्लव अफ काठमाडौं, काठमाडौं सर्कल, पशुपति काठमाडौं, हिमालयन पाटन, भक्तपुर, विराटनगर डाउनटाउन र भोलेन्टियर क्रप नेपालको सहयोग प्राप्त भएको थियो।
रोट्रयाक्ट क्लव अफ मेचीनगरका कोषाध्यक्ष शिशिर भट्टराईका अनुसार राहत सामग्रीको व्यवस्थापन झापा गाउँपालिका र रेडक्रस सोसाइटी, झापासँग समन्वयमा गरिएको हो।
कार्यक्रममा रोटरीका विभिन्न शाखाका पदाधिकारी र सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति थियो।
गत असोज १७ गतेदेखि परेको अविरल वर्षाका कारण कनकाई र बिरीङ खोलामा आएको बाढीले झापा गाउँपालिकाका वडा नं. १, २ र ७ का बस्तीहरू डुबानमा परेका थिए।
घर, बारी र स्थानीय पूर्वाधार डुबानमा पर्दा स्थानीय बासिन्दा विस्थापित भएका थिए। बाढीले क्षति पु¥याएका समुदायलाई सहयोगका रूपमा रोटरी क्लवले राहत वितरण गरेको हो ।



























